महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिईने

- December 16, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्वन्धी तालिम दिन लागिएको हो । तालिम सम्वन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यवसायिक वृद्धिका लागि फलदायी हुने अपेक्षा गरेका छन् । उनले सूचना प्रविधिको विकास तीब्रगतिमा अघि बढिरहेको सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपुर्ण हुने दाबी गरेका छन् । विद्युतको उपलव्धतासंगै सूचना प्रविधिको विकास राज्यको पनि प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

सूचना प्रविधि तालिममा महिला चेम्बरको समन्वयमा स्थानीयतह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तालिममा सहभागि इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र किमिटि समेत गठन गरिने चेम्बरले जनाएको छ ।

उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रर्वद्धन, वेबसाईट डिजाईन लगायतका बिषयमा तालिम दिईने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिईन । लर्ड बुद्ध फाउण्डेसनका अध्यक्ष जलानले अनलाईन व्यवसायलाई प्रर्वद्धन गर्न उद्यमी महिलालाई तालिम दिन लागिएको बताए । अनलाईन एपको विकाससंगै लेखा सम्वन्धी तालिम समेत दिईने उनको भनाई छ । तालिम सम्वन्धी कार्यक्रम पुस १५ गतेदेखि १ बर्षसम्म सञ्चालन हुने जलानले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!