विलासिता बस्तुमा लगाएको प्रतिबन्ध हट्यो : नाडाको आन्दोलन भने जारी

- December 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । व्यापार घाटा उच्च भएको र विदेशी मुद्राको संचितमा गिरावट आएपछि सरकारले लगाएको विलासीता बस्तुको आयातमा लगाएको रोक सरकारले हटाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले सो प्रतिबन्ध हटाउने निर्णय गरेको हो । सरकारको सो निर्णयसंगै गाडी, मोटरसाइकल, मोबाइल र मदिरामा लगाएको आयात प्रतिबन्ध हटेको छ ।

पुस महिनादेखि लागू हुने गरी प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । अब पहिले प्रतिबन्ध लगाइएका सबै सामान आयत गर्न खुला गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् । सरकारले सो प्रतिबन्ध हटाएपछि नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) अध्यक्ष ध्रुव थापाले भने,‘सरकारले विगत ८ महिनादेखि लगाएको आयात प्रतिवन्ध खुल्ला गर्ने निर्णय गर्नु समयको आवश्यकता थियो, हाम्रो आन्दोलन घोषणा भइसकेको अवस्थामा सरकारले आयात खुल्ला गरेर हाम्रो एउटा माग सम्बोधन गरेकोमा धन्यवाद दिन्छौ ।’

उनले आयात खुला भए पनि ब्यवसाय गर्न सक्ने वातावरण कतै पनि नभएको बताउदै सो वातावरण पनि तयार गर्नकालागि सरकारको ध्यानकर्षण गराएका छन् । उनले अटोकर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालुपुँजी कर्जा निर्देशन हाललाई स्थगन गर्नु पर्ने, अटो कर्जा सिमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नु पर्ने विषयमा पनि सरकारले विशेष ध्यान जाने विश्वास समेत गरेका छन् ।

अध्यक्ष थापाका अनुसार बजारमा तरलता वृद्धिको लागि आवश्यक मौद्रिक औजार प्रयोग गर्नुपर्ने र लामो समय देखि थला परेको अटोमोबाइल ब्यवसायको कर्जामा लाग्ने ब्याजमा सहुलियत प्रदान गर्नु पर्ने जस्ता हाम्रा मागहरुको अझै सम्बोधन नभएको भन्दै ती माग पनि सम्बोधन गर्न माग गरेका छन् ।

उनले यि मागहरु सबै ब्यवसायीहरुको साझा माग भएको भन्दै अत यस आन्दोलनमा सबै ब्यवसायिक संघ संगठनहरुको एक्यवद्धताका निमित्त समेत आग्रह गरेका छन् । उनले विहिबार २२ गते बिहान ११ बजे माइतीघर मन्डलामा हुन लागेको शान्तिपूर्ण धर्ना कार्यक्रममा सबै ब्यवसायीहरुको उपस्थितिको लागि समेत आग्रह गरेका छन् ।

विदेशी मुद्रा सञ्चिति जोगाउन भन्दै सरकारले विलासीका वस्तुहरूमा सूचीकृत गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात गर्न प्रतिबन्ध लगाइको थियो । गत वैसाखदेखि निजी चारपांग्रे सवारीसाधन १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल आयातमा रोक लगाइएको थियो ।

आयात प्रतिबन्धले मौद्रिक अवस्थालाई सुधारमा सहयोग पु¥याए पनि भन्सार राजस्वमा गम्भीर धक्का लागेकाले सरकार यो निर्णय गरेको थियो । राजस्व बाहेक गाडी र मोटरसाइकल छोडेर अन्य वस्तुको तस्करी मौलाउँदा प्रतिबन्धले सरकार अझै चुनौती थपिदै गएको थियो । उद्योगी/व्यवसायीले आयात प्रतिबन्धले अर्थतन्त्रमा असर गरेको जनाउँदै आएका थिए । सरकारले हचुवाका भरमा आयात रोकेको व्यवसायीले गुनासो गर्दै आएका थिए ।

नेपाल अटोमोबाइल्स एसोसिएसन(नाडा) ले आयात प्रतिबन्ध खुलाउन आन्दोलन गर्दै आएको छ । आयात प्रतिबन्ध लगाउँदा व्यवसाय चौपट भएको भन्दै फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा सधैंका लागि आयात नगरेको बताउँदै आएका थिए ।

निश्चित समयका लागि मात्र बन्देज गरिएको केही समयअघि सार्वजनिक कार्यक्रममा बताएका थिए । आयात प्रतिबन्ध फुकुवा गर्नका लागि विदेशी मुद्रा कोष(आईएनएफ) लगायतले सरकारलाई दबाब दिँदै आएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रंगीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासको आयातलाई प्रतिबन्ध लगाएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!