सञ्चारमन्त्री कार्की र राष्ट्रपति भण्डारीबीच भेटवार्ताः सत्ता समीकरणबारे छलफल

- December 6, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला देउवाको कोर टीमका उनले प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि राष्ट्रपति भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मंगलबार शीतलनिवासमा भएको भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । उनीहरूबीच ४५ मिनेट कुराकानी भएको थियो । भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे राष्ट्रपतिले चासो राखेको बताइएको छ ।

कार्कीले वर्तमान सत्ता गठबन्धनको सोमबारको बैठकमा यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बताएका थिए । साथै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका थिए । सरकारका प्रवक्तासमेत रहेका कार्की प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा राष्ट्रपतिलाई भेट्न पुगेको हुनसक्ने विश्लेषण गरिएको छ ।

कांग्रेसका एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवा धेरै निर्णय पार्टीको आफ्नो गुटभित्र ‘कोर टीम’ मा रहेका नेतासँग सल्लाह लिएर निर्णय गर्छन् । देउवाको ‘कोर टीम’ बाट तत्कालीन उपसभापति विमलेन्द्र निधि पार्टीको महाधिवेशनदेखि बाहिरिएका छन् । अहिले उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँण, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता प्रकाशशरण महत देउवाका मुख्य सारथि हुन् भन्दै नेपाल बहसले समाचार लेखेको छ ।

तर, देउवाका सबै निर्णयमा उनीहरूको मात्रै हात नरहेका निकटस्थ नेताहरू नै बताउँछन् । विदेश नीतिदेखि सरकारका महत्त्वपूर्ण नियुक्ति र बढुवामा प्रधानमन्त्री पत्नी आरजु राणाको बढ्ता प्रभाव रहँदै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!