प्रतिनिधि सभा सदस्यमा यस्ता उम्मेदबारहरुको जित

- November 24, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । तनहुँ १ बाट नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन । पौडेल २५ हजार ३१८ मत ल्‍याएर तनहुँ(१ बाट निर्वाचित भएका हुन् ।

नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् । राठौर विजयसँगै लुम्बिनीमा कांग्रेसले जितको खाता खोलेको छ । उनी प्रदेश सभापतिसमेत हुन् ।

राठौर ४७९३ मतान्तरले निर्वाचित भएका हुन् । उनले २९०४० मत ल्याउँदा प्रतिद्वन्दी नेकपा एमाले बाँकेका अध्यक्ष किष्मतकुमार कक्षपति २४२४७ मा रोकिए । भोजपुरमा नेपाली कांग्रेसले ६४ वर्षपछि जित हात पारेको छ । यहाँ २०१५ सालमा कांग्रेसले जितेयता सबै चुनावमा वामपन्थीको वर्चस्व रहँदै आएको थियो ।

भोजपुर प्रदेशसभा २ बाट नेपाली कांग्रेसका विनोद बान्तवा ७५१ मतान्तरका साथ विजयी भएका छन् । बान्तवा कांग्रेसका जिल्ला सभापतिसमेत हुन् । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी विजयी भएका छन् । गिरीले २९८७३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका अर्जुन जोशी २७६०९ मा रोकिए ।

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल विजय भएका छन् । सुवालले ४२ हजार ७६१ मत पाएर विजयी हासिल गर्दा सबै १३ उम्मेदवारले जम्मा २८ हजार ९४७ मत मात्रै पाए । १३ दल तथा स्वतन्त्र उम्मेदवारले भन्दा पनि सुवालले १३ हजार ८१४ मत बढी पाएको निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बने ।

नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी छिन् । उनले निकटतम् प्रतिस्पर्धीलाई १८ हजारभन्दा बढी मतले हराएकी हुन् । कार्की ३१ हजार १ सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अमृत खड्काले १२ हजार ९ सय ६३ मत ल्याए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

 

 

 

तीव्र अपडेट