सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन : राजस्व सचिव

- November 23, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले लामो समयदेखि लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको राजश्व सचिब रामेश्वर दंगालले स्वीकारेका छन् । बुधबार आन्तरिक राजस्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवस २०७९ को समापन समारोहमा सो कुरा बताएका हुन । उनले भने, ‘सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन, सम्पूर्ण क्षेत्रका व्यक्तिगत र व्यवसायीहरुले सामूहिकरुपमा चिन्ता गर्नुपर्ने अवस्था देखिएको छ ।’

उनले राजस्व संकलनमा इतिहास कै कठिन घडीमा रहेको र राजस्व विभाग र करदाताबीचको सहयात्रीका रुपमा अगाडी बढ्न आवश्यक रहेको बताएका छन् । उनले राजस्व संकलनमा भएको संकुचनले समग्र वित्तीय क्षेत्रमा असर परेको बताए । उनले भने, ‘गत वर्षको तुलनामा राजस्व संकलनमा २० प्रतिशतले कमि आएको छ यसले देशको आर्थिक स्थितिलाई संकुचित गरेकेो छ ।’

अर्थमन्त्रालयका अर्थसचिव कृष्णहरि पुष्करले राजस्व संकलनमा आत्तिनुपर्ने अवस्था नरहेको दाबी गरे । उनले अर्थतन्त्रमा देखिएको समस्या नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि आर्थिक संकुचन रहेको बताए । अर्थसचिव पुस्करले करको दायरा र करको दरको सुधार गर्न अर्थमन्त्रालय तयार रहेको समेत बताए ।

उनले नीतिगत क्षेत्रको सुधार गर्न निजी क्षेत्रको सल्लाह र सुझावलाई सम्बोधन गरेर लैजाने बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले करदाताको संख्या दोब्बरले बढेपनि करको दायरा भने बढ्न नसकेको बताए । यसका साथै उनले ग्रे मार्केटको व्यवसायलाई पनि करको दायरामा ल्याउनुपर्ने उनले धारणा राखेका थिए ।

उनले राज्यको सञ्चालनको मुख्य स्रोत कर भएको बताउदै राजस्व संकलनमा सुधार गर्नका लागि ग्रे मार्केटको व्यवसयालाई पनि करको दायरामा ल्याउनु पर्नेमा जोड दिए । फुटपातमा व्यवसाय गर्नेलाई कारवाही गर्ने होइन । उनीहरुसँग बिल बिजक खोजी गर्नुपर्ने बताए । उनले करदातालई केन्द्रमा मात्र नभई स्थानीय तहमा पनि सम्मान गर्नुपर्ने बताए । बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलता अभाव र बढ्दो ब्याजदरले पनि आर्थिक सुचक कमजोर बन्दै अध्यक्ष मल्लको भनाई छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बढ्दो ब्याजदरका कारण राजस्व संकलनमा कमि आएको बताए । उनले गत वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा कमि आएको बताउदै नीजि क्षेत्रको अनुमनको कमिले ह्रास नआएको बताए । आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्यले आर्थिक क्षेत्रमा देखिएको संकुचनले भावी दिनमा अझै चुनौतीपूर्ण रहेको बताए ।

उनले राजस्व संकलनमा कमी आएको बताउदै यस्तै अवस्था रहे आगामी वर्षमा राजस्व संकलनमा चुनौती पूर्ण हुने बताए । राजस्व संकलनमा सुधान गर्नका लागि कर प्रशासन र निजी क्षेत्र सबैको सहकार्य आवश्यक रहेको उनले बताए ।

कर तिर्ने उत्कृष्ट १६ व्यवसायी सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०७९ मा १६ जना व्यवसायी सम्मानित गरिएको छन् । सम्मानित हुनेमा नेपाल दूरसञ्चार प्रालिका राजेन्द्र श्रेष्ठ, शिवशक्ति घ्यू प्रालिका सन्दिपकुमार अग्रवाल, राजेश मेटलका राजेश अगवाल, ओसीवी फुडका प्रदिप कुमार रूम्बा, छिमेक लघुवित्त का सिईओ चोलराज आचार्य, नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना, नेपाल पुनर्बीमाका सिईओ शंकर रायमाझी रहेको छ ।

नोबेल कलेजका सञ्चालक भोगेन्द्र, मनकामना दर्शन का राजेश बाबु श्रेष्ठ, शेखर गोल्छा, कुलमान घिसिङ, नेप्सेका सिईओ कृष्णबहादुर कार्की, विजय कुमार शाह, चन्द्र ढकाल, रवि केसी र सुरेन्द्र सिलवाल सम्मानित भएको आन्तरिक राजश्व विभागले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

 

 

 

तीव्र अपडेट