निर्वाचनको दौरानमा यस्तो रह्यो बैंकिङ प्रणली निक्षेप अवस्था

- November 23, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कात्तिक महिनामा बैंकमा निक्षेप १६ अर्बले बढेको छ । आमनिर्वाचन हुनुभन्दा अगाडिको महिना भएकाले यो महिनामा बैंकमा निक्षेप बढ्ने अपेक्षा गरिएकोमा खासै निक्षेप बढ्न नसकेको देखिएको छ ।

बैंकमा गत असोज मसान्तमा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा कात्तिक मसान्तमा आइपुग्दा बैंकमा निक्षेप ४५ खर्ब ६३ अर्ब पुगेको छ ।

गत असोजको चौैंथो सातामा ४५ खर्ब १९ अर्ब रहेकोमा अन्तिम साताको २ दिनमा अप्रत्याशित रूपमा २८ अर्ब निक्षेप संकलन हुँदा बैंकको निक्षेप असोजमा ४५ खर्ब ४७ अर्ब पुगेको थियो ।

तत्पश्चात् घट्न थालेको निक्षेप कात्तिक तेस्रो साताबाट निरन्तर बढ्दै अहिले ४५ खर्ब ६३ अर्बमा आइपुगेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार कात्तिक पहिलो सातामा १७ अर्ब निक्षेप निकालिएको थियो । त्यसपछिको साता अर्थात् कात्तिकको तेस्रो सातासम्ममा आइपुग्दा २१ अर्ब निक्षेप थपिएको थियो । चौंथो सातामा भने १ अर्ब मात्र निक्षेप बढेको थियो ।

आमनिर्वाचनको एक साता अगाडि भने ह्वात्तै १७ अर्ब निक्षेप बैंकमा जम्मा भएको थियो । चौंथो सातामा ४५ खर्ब ४६ अर्ब रहेकोमा चुनावको अघिल्लो साता अर्थात् कात्तिकको अन्तिम साताको ४ दिनमा १७ अर्ब निक्षेप बैंकमा जम्मा भएको हो ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोजको अन्तिम साताको तुलनामा कात्तिक महिनाको अन्तिम सातामा विदेशी मुद्रा २ अर्ब घटेको छ । यसर्थ कात्तिकमा बढेको १७ अर्ब रुपैयाँ नेपाली मुद्रामा भएको निक्षेप हो । असोजको अन्तिम साता बैंकमा ४४ खर्ब ३१ अर्ब नेपाली मुद्रामा निक्षेप रहेकोमा कात्तिकको अन्तिम सातामा आइपुग्दा ४४ खर्ब ४८ अर्ब पुगेको छ ।

असोजको अन्तिम सातामा रहेको ४४ खर्ब ३१ अर्बमध्ये कात्तिकको पहिलो सातामा ८ अर्ब निकालिएको देखिएको छ । निर्वाचनको १ महिना अगाडिको असोजको दोस्रो सातामा पुनः १६ अर्ब निकालिएको तथ्यांक देखिएको छ । तेस्रो सातामा भने १५ अर्ब निक्षेप भित्रिएको देखिएको छ ।

तथ्यांकअनुसार निर्वाचनका लागि पहिलो साताबाट बैंकबाट निकालिएको निक्षेप तेस्रो साताबाट जम्मा हुन थालिएको देखिएको छ । कात्तिकको अन्तिम सातामा आउँदा चौथोको तुलनामा १८ अर्ब भित्रिएको देखिएको छ । यो हिसाबले आमनिर्वाचनका दौरान बैंकिङ च्यानलबाट १७–१८ अर्ब मात्र कारोबार भएको देखिएको छ ।

निक्षेपमा १७–१८ अर्ब तलमाथि हुँदा कर्जामा भने ठूलो अन्तर नदेखिएको तथ्यांक रहेको छ । असोजको अन्तिम सातासम्ममा ४२ खर्ब २० अर्ब कर्जा लगानी भएकोमा कात्तिकको अन्तिमसम्म आइपुग्दा २ अर्ब मात्र कर्जा बढेर बैंकको कुल कर्जा ४२ खर्ब २२ अर्ब पुगेको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिकको पहिलो सातामा बैंकले ५ अर्ब कर्जा लगानी गरेका थिए । दोस्रो साता कर्जा नबढेकोमा तेस्रो साता १ अर्ब घटेको थियो । चौंथो सातामा २ अर्ब घटेको कर्जा लगानी अन्तिम सातामा पनि स्थिर रहँदै ४२ खर्ब २२ अर्बमा अडिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिक महिनामा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७ दशमलव १९ रहेको छ । राजधानीबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!