जेठो र ठूलो संस्थाको कन्तविजोग : ढिलासुस्तीले पराकाष्ठा नाघेपछि चौतर्फी आलोचना

- November 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देशकै पुरानो त्रिभुवन विश्वविद्यालयलाई एउटा नतिजा प्रकाशन गर्नै डेढ वर्ष लागेको पाइएको छ । यो पनि ‘लामो समयसम्म नजिता प्रकाशन नभएको’ भन्दै चौतर्फी आलोचना भएपछि त्रिविले १५ महिना लगाएर बीए प्रथम वर्षको नतिजा प्रकाशन गरेको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले १५ महिना अगाडि लिएको बीए प्रथम वर्ष २०७७ सालको नतिजा सार्वजनिक गरेको छ । पनिकाले २०७८ साउनमा सञ्चालन गरेको परीक्षा नतिजा मंगलबार सार्वजनिक गरेको छ ।

लामो समयसम्म नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीले ‘त्रिविले आफ्नो भविष्य अन्योल बनाएको’ भन्दै ‘चाँडो नतिजा सार्वजनिक गर्न’ पटकपटक माग गर्दै आएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीले हालै त्रिविलाई समयमै नतिजा प्रकाशन गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको थियो । नत्र, ‘आन्दोलनमा उत्रने’ चेतावनी क्रान्तिकारीले दिएको थियो ।

नेविसंघलगायत विद्यार्थी संगठनले पनि त्रिविको ढिलासुस्ती तथा बेथिति सुधार माग राखेर संघर्ष गर्दै आएका छन् ।

पनिकाले भने कोभिड, जनशक्ति अभावजस्ता बहाना बनाएर नतिजा प्रकाशनमा ढिलाइ गर्ने गरेको देखिएको छ । समयमै नतिजा प्रकाशन नगर्दा विद्यार्थी समस्यामा पर्ने गरेका छन् । अर्कातर्फ मुलुककै जेठो र ठूलो विश्वविद्यालय त्रिविले प्रतिष्ठा गुमाउँदै छ ।

नेतृत्वदायी भूमिकामा रहेका पदाधिकारी, कर्मचारीको ढिलासुस्ती तथा विभिन्न बेथितिका कारण त्रिविमा महिनौं दिनसम्म तालाबन्दी हुने गरेको छ ।

त्रिविले बीए प्रथम वर्षका नतिजा प्रकाशन गरे पनि लामो समयदेखि स्नातक तेस्रो वर्ष र स्नातकोत्तर प्रथम सेमेस्टारको नतिजा प्रकाशन गर्न सकेको छैन ।

त्यस्तै, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसक्दासमेत ट्रान्सक्रिप्ट उपलब्ध नभएको विद्यार्थीको गुनासो छ । -राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!