चालु खाता ३४ अर्बले अझै घाटामा : शोधनान्तरमा बचत

- November 16, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । १४ महिनासम्म घाटामा रहेको शोधनान्तर स्थिति पहिलो पटक बचतमा गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत असोज महिनामा शोधनान्तर स्थिति साढे १२ अर्ब रुपैयाँले बचतमा भएको बैंकद्वारा जारी प्रतिबेदनमा उल्लेख छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार असोज महिनामा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको असोजसम्ममा शोधनान्तर स्थिति ७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १ लाखले बचतमा रहेको जनाएको छ । चालु खाता भने निरन्तर घाटामा रहेको जनाएको छ ।

गत असोज मसान्तसम्ममा चालु खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४९ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २७ करोड रुपैयाँले घाटामा रहेको छ ।

पुँजीगत ट्रान्सफर ३४ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड रुपैयाँ प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९२ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज महिना) मा रेमिटान्स आय स्थीर रहेपनि आयातमा कमी भएको र नेपालले प्राप्त गर्ने वैदेशिक सहायता (ऋण र अनुदान) मा बृद्धि भएकाले शोधनान्तर स्थिति बचतमा गएको र्बैंकले जनाएको छ ।

पूर्ण विवरण हेर्न यहाँ क्लिक  आर्थिक तथा वित्तीय स्थिति गनुृहोस

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २।५ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०।६ प्रतिशतले कमी आई ९ अर्ब ४ करोड कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ असोज मसान्तमा ४।३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०७९ असोज मसान्तमा ९ दशमलव ३ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

२०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ८ प्रतिशत रहेको छ आर्थिक वर्ष २०७९/८० को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९।६ महिनाको वस्तु आयात र ।३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७९ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५ दशमलव ७ प्रतिशत, ६९ दशमलव ५ प्रतिशत र २२ दशमलव ५ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५ दशमलव १ प्रतिशत, ५७ प्रतिशत र २२ दशमलव १ प्रतिशत रहेको बैंकले जनाएको छ ।

चालु खाता ३४ अर्ब भन्दा बढीले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अन्तर्गतको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तथ्यांकमा यस्तो देखिएको हो । सो तथ्यांक अनुसार यस अवधिमा चालु खाता ३४ अर्ब २८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!