चौधरी ग्रुपलाई अख्तियारले सक्ला त कारबाही गर्न ?

- November 11, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । शक्ति र पैसाकै आँडमा सर्वाजनिक जग्गा हड्प्दै व्यक्तीगत काममा लगाउलै आएका चौधरी ग्रुपमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको बताएपनि सो कम्पनीमाथी कारबाही गर्नबाट पछि हट्ने हो की भन्ने शंका अहिले चौतर्फी रुपमा उठेको छ ।

डलर अर्बपतिका रुपमा प्रचार गर्दै आएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका विनोद चौधरीको अर्को शंकास्पद कारोबार र व्यावसायिक गतिविधिमाथि अख्तियारले छानबिन थालेपछि अन्त्यमा कारबाही चाही गर्नबाट पछि हट्ने अड्कलबाजी गरिएको छ । नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उठेका उनको झण्डै चार दशकअघिको शंकास्पद कारोबार बाहिरिएपछि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना (हाल गंगालाल मुटुरोग हस्पिटल) को १० रोपनी सरकारी जग्गा हडपेको विषयमा आयोगले अनुसन्धान थालेको स्रोतको दाबी छ । २०४३ सालमा उक्त कारखानाले चर्चेको ८३ रोपनी जग्गामध्ये दक्षिणपूर्वतर्फको १० रोपनी जग्गा २ लाख ५० हजार प्रतिरोपनीका दरले खरिद गरेको भनिएको विषय अहिले छताछुल्ल भएपछि आयोगले अनुसन्धानमा चासो देखाएको हो ।

चौधरीले त्यतिबेला किनेको भनिएको उक्त जग्गाको सरकारी प्रक्रिया नपुगेको बुझिएको छ । चौधरीले दर्ता गरेको तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडको १५ सय कित्ता सेयर सरकारी छालाजुत्ता कारखानालाई दिएर कौडी खर्च नगरी १० रोपनी जग्गा हात पारिएको यथार्थ बल्ल बाहिरिएको छ ।

लगत्तै बाँसबारी छालाजुत्ता कारखानाको थप ४ रोपनी जग्गा पनि त्यसैगरी हात पारेको बताइन्छ । जम्मा सेयर २५ सय कित्ता र प्रति सेयर एक हजार रुपैयाँको कागजी हिसाब देखाएर चौधरीले १४ रोपनी सरकारी जग्गा आफ्नो कम्पनीको नाममा ल्याएका थिए । पहिले लिमिटेड कम्पनी रहेको भनिएको चौधरीको च्याम्पियन फुटवेयर अहिले पनि लिक्विडेसनमा गएको छैन ।

तर लिमिटेडबाट उक्त कम्पनीलाई प्राइभेट लिमिटेड बनाइएको छ । कागजमा मात्रै अस्तित्व रहेको उक्त कम्पनीको नाममा रहेको जग्गामा पछिल्लो समय सीजी ग्रुपको एउटा स्कुल र आवासीय क्षेत्र सञ्चालित छ । चाँदबाग स्कुल र सिजी रेसिडेन्सी रहेको १४ रोपनी सरकारी जग्गाको अस्तित्व कागजमा मात्र सीमित छ ।

पहिले देखिएको च्याम्पियन फुटवेयर लिमिटेड कम्पनीको स्थायी लेखा नम्बर र अहिलेको प्राइभेट लिमिटेड तथा उक्त स्कुलको प्यान नम्बर एउटै भेटिएको अख्तियार स्रोतले बतायो । सरकारी निकायमा चौधरीको जुत्ता कम्पनीले बाँसबारीलाई दिएको भनिएको २५ सय कित्ता सेयरको कागजपत्रसमेत यसबीच बेपत्ता बनाइएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कौडीको भाउमा, त्यो पनि कागजमा लेखेर कब्जा गर्दा विनोद चौधरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष थिए । पछि लिमिटेड कम्पनीलाई प्राइभेट कम्पनी बनाएर २५ सय कित्ता सेयरको हिसाब किताबसमेत बेपत्ता बनाउनेमा विभिन्न समयका मन्त्री, अर्थ राज्यमन्त्री महेश आचार्य, अर्थ सचिव, उद्योग सचिवलगायत सरकारी अधिकारीहरूको संलग्नता देखिएको छ ।

त्यसअघि उक्त जग्गा हडप्ने योजनामा तत्कालीन अर्थ राज्यमन्त्री भरतबहादुर प्रधान र अर्थ सचिव लोकबहादुर श्रेष्ठसमेत मतियार बनेका थिए । श्रेष्ठ उनै हुन् जो बंगलादेशमा नेपाली राजदूत भएर बस्दा नबिल बैंकको एक तिहाई बढी सेयर खरिद गर्न चौधरीको ग्राण्ड डिजाइनको सहयोगी बनेका थिए ।

आयरल्याण्डमा एक डलरमा खोलिएको एनबी इन्टरनेशनल बंगलादेशमा दर्ता भएपछि उक्त बैंकको सेयर सोही कम्पनीले खरिद गरेको हो भन्दै जनआस्थाले समाचार प्रकाशन गरेको छ । बैंकको नाफालाई विदेशी मुद्रा बनाएर डिभिडेण्टको रुपमा बंगलादेश हुँदै संसारभर लैजान विनोदले त्यही कम्पनीलाई प्रयोग गर्दै आएका छन् ।

२५ वर्षअघि गभर्नर थिए सत्येन्द्रप्यारा श्रेष्ठ । राष्ट्र बैंकले एनबी इन्टरनेशनलको वित्तीय अवस्थाको बारेमा ढाकास्थित उनै राजदूतलाई सोधनी गरेको थियो । लोकबहादुरले राजदूतावासको लेटर प्याडमा एनबी इन्टरनेशनल ‘निकै विश्वसनीय वित्तीय संस्था’ भनेर लेखी पठाएको पत्रको आधारमा नबिल बैंकको सेयर गलत बाटोबाट चौधरी समूहले हत्याउँदै डिभिडेण्टको नाममा लाखौं डलर बर्सेनि विदेश लगिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

 

 

 

तीव्र अपडेट