अर्थतन्त्रको विकासकालागि निर्यात वृद्धि गर्नुको विकल्प छैन : कार्यवाहक राष्ट्रपति पुन

- November 10, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरणका साथै अर्थतन्त्रको विकासकालागि निर्यातमा बृद्धि गर्नुको विकल्प नभएको बताएका छन् । बिहीवार नेपाल–चीन उद्योग वाणिज्य संघको २३औं वार्षिक साधरण सभामा कार्यवाहक राष्ट्रपति पुनले सो कुरा बताएका हुन ।

उनले आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताए । उनले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भइ निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रुपमा समृद्धि हुन नसक्ने बताए । उनले नेपाली उत्पादित वस्तु चीनमा निर्यात बढाउनको लागि नेपाल(चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताए । कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाए पनि मुलुकको व्यापारको अवस्था भने सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्याङ्क हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो अवस्था रहेको भन्दै यस्तो हुनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको बताए ।

नेपाल–चीन उद्योग वाणिज्य संघको २३औं वार्षिक साधरण सभाdf कार्यवाहक राष्ट्रपति पुन

“जबसम्म हामी हरेक क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यातमा वृद्धि गर्न सक्दैनौँ, तबसम्म समृद्धि टाढै रहनेछ”, उनले भने, “गुणस्तरीय वस्तुको उत्पादन, उत्पादित वस्तुको प्रवद्र्धन, आर्थिक कूटनीतिमार्फत अन्तर्राष्ट्रिय बजारमा निर्यात जस्ता कार्यबाट हामीले हाम्रो निर्यात व्यापार वृद्धि गर्नसक्नु पर्दछ ।”

यसै महिनादेखि लागू हुने गरी नेपालसहित अतिकम विकसित मुलुकबाट निर्यात हुने ९० प्रतिशत वस्तुको भन्सार शुल्क शून्य बनाउने चीनको नीति हाम्रा लागि राम्रो अवसर रहेको जनाउँदै उनले चीनको यस नीतिको नेपालले सदुपयोग गर्नुपर्ने बताए । “नेपालको मुख्य व्यापार छिमेकी मुलुक चीन र भारतसँग छ, संसारमा निकट भविष्यमै विश्वको आर्थिक महाशक्तिको नेतृत्व गर्ने उदेश्य बोकेको चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु हाम्रा लागि ठूलो अवसर पनि हो”, उनले भने ।

नेपालले आफ्ना मौलिक उत्पादन चिनियाँ बजारमा निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने भन्दै उनले कृषिजन्य उत्पादन, जडिबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने बताए । “चिनियाँ बजारमा नेपाली बस्तु निकासीलाई प्राथमिकता दिइनुपर्दछ, यसका लागि नेपाल चीन उद्योग वाणिज्य सङ्घ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्नु आवश्यक देखिन्छ”, उनले भने ।

उनले भने, ‘भविष्यमा आर्थिक महाशक्तिको नेतृत्व गर्ने उद्देश्य बोकेको चीनसँग नेपालको व्यवसायिक सम्बन्ध विकास हुनु हाम्रो लागि ठूलो अवसर पनि हो । नेपालका मौलिक उत्पादनहरु चिनियाँ बजारमा निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्छ । नेपालको कृषिजन्य उत्पादन, जडिबुटी र खनिजन्य सामग्री चीन निर्यात गर्न सकिन्छ ।

नेपालीहरुको आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्धि राष्ट्र निर्माणका लागि नेपाल सरकारले मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ । जबसम्म हामीले सबै क्षेत्रमा आत्मनिर्भर हुँदै निर्यातमा वृद्धि गर्न सक्दैनौं । तबसम्म समृद्धि हासिल गर्न सक्दैनौं ।’ कार्यवाहक राष्ट्रपति पुनले नेपाल एक चीन नीति प्रति सधैं प्रतिवद्ध रहेको बताए ।

उनले नेपाल र चीनबीच पुरानो सम्बन्ध रहँदै आएको भन्दै दुई वर्षअघि चीनका राष्ट्रपतिको नेपाल भ्रमण पश्चात चीनसँगको सम्बन्ध थप नयाँ उचाइमा पुगेको बताए । उनले पञ्चशिलको सिद्धान्तमा आधारित दुई देशबीचको सम्बन्ध विविध क्षेत्रमा बिस्तार हुँदै आएको बताए । उनले भने, ‘नेपाल एक चीन नीति प्रति सधैँ प्रतिवद्ध पनि छ ।

पञ्चशिलको सिद्धान्तमा आधारित दुई देशबीचको सम्बन्ध विविध क्षेत्रमा बिस्तार हुँदै आएका छन् । नेपालले थप सम्बन्ध सुधारको लागि नयाँ सहयोगका क्षेत्रहरु पनि पहिचान गरेका छौं । आर्थिक कुटनीतिकका माध्यमबाट दुई देशको सम्बन्ध अझै बिस्तार हुने मैले विश्वास लिएको छु ।’ उनले नेपालले चीनसँग थप सम्बन्ध सुधारको लागि नयाँ सहयोगका क्षेत्रहरु पनि पहिचान गरेको बताए ।

उनले आर्थिक र कुटनीतिकका माध्यमबाट दुई देशको सम्बन्ध अझै बिस्तार हुने विश्वास व्यक्त गरे । नेपालका लागि चिनियाँ दूतावासका चार्ज डे अफेयर्स वाङ सिनले दुई मुलुकबीचको आर्थिक तथा व्यापारिक सम्बन्धमा नेपाल चीन उद्योग वाणिज्य संघले निर्वाह गरेको भूमिकाको प्रशंशा गरे ।

उनले दुवै मुलुकबीच रहेको पुरानो सम्बन्धलाई अब व्यापार व्यवसायका माध्यमले थप बलियो बनाउनुपर्ने धारणा राखे । चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) का अध्यक्ष रेन होङबिनले शुभकामना पठाउँदै कोभिड महामारीका कारण द्विपक्षीय व्यापारमा कमी आएको उल्लेख गर्दै आउँदा दिनमा पुरानै अवस्थामा फर्कने विश्वास व्यक्त गरे ।

अध्यक्ष होङबिनले पठाएको शुभकामनामा भनिएको छ, “हामी आशा गर्छौं कि महामारी पछि हामीसँग सहयोग जारी राख्न, दुबै देशका उद्यमहरूको लागि राम्रो प्लेटफर्महरू प्रदान गर्ने थप अवसरहरू हुनेछन् ।” वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनसँगको वार्षिक व्यापारघाटा २ खर्ब ६३ अर्ब रुपैयाँ पुग्नुमा कोभिड महामारी, उत्तरी नाकाको कमजोर पूर्वाधारसँगै विश्वव्यापी आर्थिक मन्दी लगायतका कारणहरु रहेको बताए ।

कोभिड महामारीपछि चीनमा ठूला व्यापारिक मेला हुन नसक्नु र नेपाली व्यवसायीले पहिलेजसरी खुला रुपमा भ्रमण गर्न नसक्नेजस्ता कारणले निकासी व्यापार प्रभावित भएको उनको भनाइ छ । नेपाल र चीनबीच रहेका मुख्य दुई नाका तातोपानी र केरुङमा लागू भएको कोटा प्रणाली अन्त्य भइ पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने तथा चीनका विभिन्न गन्तव्यमा सीधा उडान गर्दै एयर कनेक्टिभिटी बढाउनु पर्ने आफूहरुको माग रहेको अध्यक्ष तुलाधरले बताए ।

दिगो पर्यटकीय विकासका लागि स्थल नाकाबाट पनि पर्यटकलाई आवतजावत गर्न दिइनुपर्ने उनको भनाइ छ । संघले चीन र नेपालबीच रहेको भुक्तानीमा अवरोध हटाउन माग गरेको छ । चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्बन्धमा नेपालका प्रधानमन्त्रीको हरेक पटकको चीन भ्रमणमा द्विपक्षीय सहमति हुँदै आए पनि अहिलेसम्म यो कार्यान्वयन हुन नसकेको अध्यक्ष तुलाधर बताउँछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!