कांग्रेसभित्र विद्रोह : ठमेलमा भेला

- September 26, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका विद्रोही नेताहरुको भेला ठमेलस्थित एक होटलमा चलिरहेको छ । आगामी निर्वाचनका लागि टिकट वितरणमा सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाउँदै कोइराला समूहका दोस्रो तहका नेताहरु निरन्तर विद्रोही भेला र कार्यक्रम गरिरहेका छन् ।

पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरुले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् । समानुपातिक सूचीमा रहेका नाम सच्याउनुपर्ने उनीहरुको माग छ । कोइराला समूहका नेताहरुले विद्रोही गतिविधि गरे पनि नेता कोइरालासहित पदाधिकारीहरु भने सहभागी भएका छैनन् ।

ठमेलमा जारी भेलालाई बागमती प्रदेश सभापतिका प्रत्याशी जगदीश्वरनरसिंह केसीले संयोजन गरेका छन् भने भेलामा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ लगायत नेताहरु सहभागी छन्

। विद्रोही गतिविधि गर्दै आएका नेताहरुले सभापति देउवाले बेलैमा पार्टीभित्रको शक्ति समीकरणलाई ध्यान नदिए चुनावमै विद्रोह गर्ने सम्मको चेतावनी दिँदै आएका छन् । उनीहरुले सभापति देउवाले पार्टीभित्रको प्रतिस्पर्धी समूहलाई भन्दा गठबन्धनका अन्य दलहरुलाई महत्व दिएको आरोप लगाउँदै आएका छन् । (साभार : कान्तिपुर दैनिकबाट)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!