चिनीको कालाबजारी रोक्न मञ्चद्वारा सरकार समक्ष उजुरी

- September 18, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चाडपर्वको समयमा व्यवसायी तथा व्यापारीले आफुखुशी मुल्य बढाएर मंहगोमा चिनीलगायत अन्य खाद्य बस्तुको बिक्री गर्दै उपभोक्तामाथी ठगी गरेको भन्दै उपभोक्ताबादी संघसस्थाले सरकारसमक्ष उजुरी गरेको छ । व्यवसायी तथा व्यापारीले बडा दशैं, तिहार तथा छठ पर्वहरुमा चीनि लगायत खाद्यबस्तुको अत्याधिक माग हुने र सोही मागको फाईदा उठाउदै कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्दै आएको र सो अबैधधन्दा तत्काल अनुगमन गरि दोषीमाथी कारबाही गरेर उपभोक्ताले सहुलियत दरमा सामान खरिद गर्न पाउने व्यवस्था गर्न राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालयमा उजुरी दर्ता गरेको छ ।

सो मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनका अनुसार चाडपर्वमा खास गरी दैनिक उपभोग्य वस्तुका सामाग्रीहरुको बढी उपभोग हुने गरेको र सोही मौका छोप्दै व्यापारी तथा उद्योगीले मंहगोमा बेच्दै आएकाले सो अबैध कार्यको छानविन गरि कारबाहीको माग राख्दै उजुरी दर्ता गरेको बताए ।

अध्यक्ष महर्जनका अनुसार सरकारले दशैं, तिहार तथा छठ लक्षित सुपथमूल्यका पसलहरु संचालन गरी बजार मूल्य हस्तक्षेप गरी आम उपभोक्तालाई राहत प्रदान गर्ने प्रयास गरेको भएपनि सो कार्य अझै कम भएको समेत बताए । सरकारले प्रयास गरेको भएपनि सरकारको मन्त्रालयहरु बिचमा समन्वय नहुंदा आम नेपाली उपभोक्ताले उपभोग गर्ने चिनीलगायत खाद्य बस्तुमा ठगीदै आएको समेत उजुरीमा उल्लेख गरेका छन् ।

आपूर्ति मन्त्रालयले चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चिनी उपलव्ध गराउनको लागी साल्ट ट्रेडिंङ कर्पोरेशन लिमिटेट र नेपाल खाद्य व्यापार कम्पनीलाई क्रमस ३० र १० हजार मेट्रिक टन चिनी आपूर्ति गर्नको लागी छूट मूल्यमा आयात गर्न सिफारिश गरेकोमा अर्थ मन्त्रालयले वेवास्ता गर्दा अहिले बजारमा प्रति किलो १ सय १० रुपैयाँभन्दा बढी मुल्यमा किन्न उपभोक्ता बाध्य भएको भन्दै सो कार्यमाथी तत्काल अनुसन्धान गरेर कारबाही गर्न समेत माग गरिएको छ ।

स्वदेशी उद्योगसंग मौज्दातमा ११ हजार मेट्रिक टन मात्र चिनी रहेको भनि रहदा एकोहोरो रुपमा बजारमा चिनी पर्याप्त छ र भाउ बढनु पर्ने कुनै कारण छैन भनि अडान लिएर बजार भाउ बढाउने खेल अर्थ मन्त्रालयबाट भई रहेको समेत बताइएको छ । मञ्चका अध्यक्ष मर्हजनले भने,‘मञ्चले गरेको अध्ययनको क्रममा भारतले निर्यातमा प्रतिबन्ध लगाई सकेको चिनी आपूर्ति नेपालमा पर्याप्त आपूर्ति भई रहनुको कारण नेपालको दक्षिणी सिमावर्ती क्षेत्रबाट तस्कर भई आउने चिनीको परिमाण दैनिक ३ सय मेट्रिक टनको हाराहारीमा रहेको छ, र त्यही चिनी नै अहिले बजारमा प्रर्याप्त मात्रामा उपलव्ध भई रहेको छ ।’

वैंद्यरुपमा चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्दै आएकोमा यसरी अबैध बाटोबाट आयात गर्दा सरकारलाई ठूलो परिमाणमा राजस्व गुमि रहेको समेत उनले बताए । अर्कोतिर पहाड तथा शहरी क्षेत्रका नेपाली जनताले महंगो मूल्यमा चिनी उपभोग गर्न बाध्य भर्ई रहेकोमा यस बिषयमा तत्काल नेपाल सरकारको ध्यानाकर्षण गर्दै आम नेपाली जनतालाई सहुलियत दरमा चिनी उपलव्ध गराउने वातावरण बनाई दिन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आग्रह समेत गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!