मूल्यबृद्धि नियन्त्रण बाहिर : गत वर्षकोभन्दा दोब्बर (पुर्ण विवरण सहित)

- September 15, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारको ध्यान सत्ता बचाउनेमा बढी केन्द्रीत भएकै कारण देशमा मुल्यबृद्धि अहिले नियन्त्रण बाहिर गएको छ । जसका कारण सर्वसाधारण मर्कामा परेका छन् । सरकारले मुल्य नियन्त्रण गर्नेतर्फ खासै योजना नबनाउदाँ मूल्यबृद्धि दर ८ दशमलव २६ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकार र राष्ट्र बैंकले ७ प्रतिशत हुने लक्ष्य राखेको भएपनि सो लक्ष्यभन्दा माथि मूल्यबृद्धि पुगेको छ । चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउनको आर्थिक अवस्था सार्वजनिक गर्दै राष्ट्र बैंकले मूल्यबृद्धि उकालो लागेको जनाएको हो । गत वर्ष साउनमा मूल्यबृद्धि दर ४ दशमलव ३५ प्रतिशत रहेको थियो ।

मूल्यबृद्धि दर लगभग दोब्बरले बृद्धि भएको उल्लेख गरेको छ । बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार खाद्य तथा पेय पदार्थको ७ दशमलव ११ र गैरखाद्य तथा सेवातिरको ९ दशमलव १८ प्रतिशतले मूल्यबृद्धि भएको जनाएको छ । गत असारमा मूल्यबृद्धि ८ दशमलव ८ प्रतिशत थियो । साउनमा थप उक्लिएको हो ।

खाद्यभन्दा गैरखाद्यतिरको मूल्यबृद्धि अधिक भएको हो । यसैगरी असारको तुलनामा साउन महिनामा मासिक आयात घट्दा शोधनान्तर घाटामा भएपनि कम कायम भएको छ । गत वर्ष साउनमा ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा रहेको शोधनान्तर यसपटक २२ अर्ब ६३ करोड घाटामा खुम्चिएको गएको बैंकले जनाएको छ ।

असार मसान्तमा देखिएको सुधारले चालु आर्थिक बर्षको पहिलो महिनाबाटै राम्रो संकेत गर्छ भनेर विश्लेषणहरु आइरहेका बेला साउनले भने खासै सुखद संकेत भएन । आयात घटेपनि रेमिटेन्समा पनि सुधार भएन । रेमिटेन्स ९२ अर्ब २१ करोड रुपैयाँ मात्र भित्रिएको बैंकले जनाएको छ । असारमा १०३ अर्ब १३ करोड भित्रिएको थियो ।

आयात १५७ अर्ब २३ करोडबाट १३१ अर्ब २९ करोडमा खुम्चिएका कारण चालु खाता घाटा ४९ अर्ब ९० करोडबाट १६ अर्ब २६ करोडमा सीमित हुन पुगेको छ । विदेशी मुद्राको सञ्चितिमा क्षयीकरण जारी रहेको छ । असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको सञ्चिति साउनमा ११ खर्ब ९७ अर्ब ८५ करोडमा खुम्चिन पुगेको छ । यो भनेको १७ अर्ब ९५ करोड रुपैयाँले कम हो ।

राष्ट्र बैंकद्वारा सार्वजनिक गरेको आर्थिक प्रतिबेदन हेर्न यहाँ  Financial Situation -Nepali  2079.80) क्लिक गर्नुहोस् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!