जहाजको पाङ्ग्रा नकिन्दा निगमको दिल्ली उडान रोकियो 

- September 14, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगम व्यवस्थापनले बेलैमा वाइडबडी जहाजका लागि एउटा पाङ्ग्रा जुटाउन नसक्दा दिल्लीका लागि बिहान १० बजेदेखि विमानस्थल पुगेका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् ।  निगमका एक इन्जिनियरका अनुसार पाङ्ग्रा सप्लायर कम्पनीलाई समयमै रकम भुक्तानी नगर्दा निगमको उडान प्रभावित भएको यो दोस्रो घटना हो ।

यसअघि साउन पहिलो साता पनि निगम व्यवस्थापनले बेलैमा पाङ्ग्रा खरिद नगर्दा दिल्लीकालागि बेलैमा जानुपर्ने २ सय ५० जना यात्रु काठमाडौंमा अलपत्र परेका थिए भने उताबाट फर्किने यात्रु पनि दिल्लीमा घन्टौं कुर्न बाध्य भएका थिए । वाइडबडीको पछाडिका ८ वटामध्ये फेर्नुपर्ने एउटा पाङ्ग्रा बेलैमा उपलब्ध नहुँदा दिल्लीका लागि साढे १ बजे उड्नुपर्ने निगमको वाइडबडी अहिलेसम्म मर्मत नहुँदा यात्रुहरू विमानस्थलमा अलपत्र परेका हुन् ।

निगमका एक निर्देशकले आरए २१७ उडान साँझ ५ बजेसम्म हुने र आजै साँझ दिल्लीबाट फर्किने बताए । निगमको तालिकाअनुसार आरए २१७ नम्बरको उडान हरेक दिन काठमाडौंबाट १:२५ मा दिल्ली जाने र उताबाट भारतीय समय अनुसार ४:२० मा काठमाडौं फर्किने तालिका छ ।

पाङग्रा नफेर्दा निगमको दिल्ली उडान अनिश्चित

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दिल्ली जाने निगमका सबै यात्रुलाई बोर्डिङ पास लिइसकेको र जहाजको पर्खाइमा रहेको बताए । ‘आठ घण्टाभन्दा बढी समय लाग्ने भए निगमले यात्रुलाई होटलमा पठाउनुपर्ने हुन्छ, हामीलाई ५ बजेतिर जहाज उडाउने जानकारी दिइएको छ । विमानस्थल कार्यालयले यसमा सहजीकरण गर्दै छ,’ प्रवक्ता सिटौलाले भने ।

‘काठमाडौंबाट २ सय १५ जना यात्रु दिल्ली जानुपर्ने, जहाजको पाङ्ग्रा फेर्नुपर्ने खबर आएकाले यात्रुहरुको सुरक्षा जाँच गरेर विमानस्थलमा रहेका सोल्टी र र्‍याडिसन होटलले सञ्चालन गरेका लाउन्जमा खाना–खाजाको व्यवस्था गरिएको छ, विमानस्थलस्थित निगमका एक कर्मचारीले भने,‘हामीलाई ५ देखि साढे ५ सम्म जहाज उडाउने खबर आएकाले यात्रुलाई त्यही भनिरहेका छौं । अर्जेन्ट भएका र अर्को जहाजबाट युरोप अमेरिका जानेलाई भारतीय एयरलायन्समा टिकट काटेर पठाइरहेका छौं ।

अझै दुई जनाको व्यवस्था गर्दै छौं ।’ ती कर्मचारीका अनुसार, दिल्ली स्टेसनले नै ३ घण्टाभन्दा कम समय अवधि बाँकी भएका ट्रान्जिट यात्रुलाई आज नपठाउन भनेका ले त्यस्ता यात्रुलाई मिले आजै नमिले भोलिको उडानमा पठाइने कर्मचारीले बताए । उता दिल्लीबाट फर्किने यात्रु २ सय ७४ जना रहेको निगमले जनाएको छ ।

दिल्ली विमानस्थलमा पुगिसकेका यात्रुलाई बुधबार साँझै उडाइने भनिएको छ । निगमसँग २ सय ७४ सिट क्षमताका दुइटा वाइडबडी र १ सय ५८ सिट क्षमताका दुइटा न्यारोबडी विमान छन् । यीमध्ये तीनवटा मात्रै हाल उडानमा छन् । (साभार : कान्तिपुर दैनिक)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!