नेपालमा ५५ देशबाट उद्योगमा सबैभन्दा लगानी : राष्ट्र बैंक

- September 13, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा ५५ देशले प्रत्यक्ष वैदेशिक लगानी भित्राएको विवरण सार्वजनिक गरेको छ । ती देशहरुले ६० प्रतिशतभन्दा बढी लगानी उद्योग क्षेत्रमा गरेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ । नेपालमा सबैभन्दा बढी लगानी गर्नेमा भारत अग्रस्थानमा रहेको समेत जनाएको छ । सो प्रतिबेदनका अनुसार भारतले ७५ अर्ब १ करोड रुपैयाँ नेपालका उद्योगहरुमा गरेको केन्द्रिय बैंकले जनाएको छ ।

चीनले ३३ अर्ब, आयरल्याण्डले १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड, सेन्ट किड्स् एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । यो २०७८ असार मसान्तसम्मको अवस्था हो । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सेवा क्षेत्रमा ३९ दशमलव ४ प्रतिशत, जलविद्युत क्षेत्रमा ३० दशमलव ८ प्रतिशत, उत्पादन क्षेत्रमा २९ दशमलव ५ प्रतिशत लगानी रहेको जनाएको छ ।

अध्ययन वर्षमा वैदेशिक लगानीको कुल मौज्दात १४ दशमलव ८ प्रतिशतले बृद्धि भएको उल्लेख गरेको छ । यो सँगै २ खर्ब २७ अर्ब ९५ करोड रुपैया वैदेशिक लगानी मौज्दात रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३ दशमलव ९ प्रतिशत, सञ्चितिको ३१ द्यशमलव ६ प्रतिशत र कर्जाको अंश १४ दशमलव ५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३ दशमलव ७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको केन्द्रिय बैंकले जनाएको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४ दशमलव ९ प्रतिशत रहेको जनाएको छ । नाफाको दर करिब १४ दशमलव ७ प्रतिशत रहेको पाइएको छ । आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारेको हो ।

प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४ दशमलव ८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!