सुरज वैद्यलाई दिएको रिसोर्टको अनुमति खारेज

- August 3, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठले सुरज बैंद्यले पाएको रिसोर्टको स्वीकृत खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो ।

गुरूयोजनाविपरीत ‘क्याम्पेन ग्राउन्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । तत्कालिन संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेमकुमार आलेको दबाबमा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरेका थिए ।

संसारा वेलनेस कम्पनी उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो । वैद्य आफूले लुम्बिनी विकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटेल बनाउने योजना तयार गरे पनि त्यो टुंगो लागेको थिएन । संसारा वेलनेसले पेस गरेको प्रस्तावमा भने ध्यान गर्न आउने पाहुनाका लागि रिसोर्ट सञ्चालन गर्ने भनिएको थियो ।

लुम्बिनी विकास गुरुयोजनामा लुम्बिनी ग्राममा स्वदेशी तथा विदेशी पाहुनाको उच्चस्तरीय आवासका लागि तीन वटा मात्रै होटेल सञ्चालन गर्ने उल्लेख छ । मंगलबारको बैठकले सदस्यसचिव सानुराजा शाक्यले पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रम र कोषाध्यक्ष ढुण्डिराज भट्टराईले पेश गरेको बजेट पास गरेको छ ।

त्यसैगरी प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा मनोनयनका लागि रणनीतिक मनोनयन दस्ताबेज तयार गर्नका लागि अन्तर्राष्ट्रिय विज्ञ डङ्कन मार्शल अस्ट्रेलियालाई छनौट गर्ने र लुम्बिनी विकास कोषको आयोजनामा नोभेम्बर २०२२ मा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय भएको सदस्यसचिव शाक्यले जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!