एसईईको नतिजा आज ३ बजे सार्वजनिक गरिँदै : यसरी हेर्न सकिन्छ

- July 27, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौंं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (बुधबार) दिउँसो ३ बजे सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भईसकेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार विगतका वर्ष नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरुले जन्म मिति, अंंकलगायतमा गल्ती भएको भन्दै सच्याउन आउने गरेको हुदाँ यस पटक त्यस्तो समस्या नआओस् भनेर कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा ढिला हुन गएको जनाएको छ ।

शिक्षाका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शिक्षिका स्थानीय निर्वाचनमा खटिएकाले परीक्षणमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न समय लागेको बोर्डको भनाई रहेको छ । यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए ।

यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो । नतिजा ग्रेड अनुसार नै सार्वजनिक गरिने छ ।

९० र सोभन्दा माथि अंक ल्याउनेलाई ए प्लस, ८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउनेलाई ए, ७० र सोभन्दा माथि तर ८० भन्दा कम अंक ल्याउनेलाई बी प्लस तथा ६० र सोभन्दा माथि तर ७० भन्दा कम अंक ल्याउनेलाई बी ग्रेड दिइने छ । यसैगरी ५० र सोभन्दा माथि ६० भन्दा कम अंक ल्याउनेलाई सी प्लस र ४० र सोभन्दा माथि तर ५० भन्दा कम अंक ल्याउनेलाई सी ग्रेड दिइने बोर्डले जनाएको छ ।

एसईईमा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ । निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ ।

विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन् । निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यो पटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक रुपमा गरिएको छ ।

ग्रेडका आधारमा प्रयोगतात्मकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड ल्याउन नसक्ने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । मूल प्रमाणपत्र पाउन नसक्ने विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा तोकिएको ग्रेड पाउन नसकेका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि तोकिएको ग्रेड पाउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ । निर्देशिका अनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र संपरीक्षण अङ्कमा गरिनेछ । परीक्षण र संपरीक्षणबाट प्राप्त अङ्क (ग्रेड सिटमा सैद्धान्तिक र आन्तरिकको छुट्टाछुट्टै अङ्क) ग्रेडमा रुपान्तरण हुनेछ ।

नतिजा यसरी हेर्न सकिन्छ

नतिजा हेर्न यि वेवसाईट प्रयोग गर्न सकिन्छ ।

नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने छ । यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ । जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले नतिजा सार्वजनिक गर्ने बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!