राष्ट्रपति भण्डारी प्रज्ञाभबन जाँदा टिचिङ अस्पतालको सवै सेवा बन्द 

- July 16, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अथिति बनाई कार्यक्रमको आयोजना गरेपछि आइतबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका उपचार सेवा बन्द गरेर कार्यक्रममा सहभागी हुन भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले उर्दी जारी गरेको छ ।

आईओएमकी डिन दिव्या सिंह शाहले शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलाई पत्र काट्दै सेवा बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएकी छिन् । आईओएमको ५० औं वार्षिकोत्सव समारोह आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा गरिदै छ ।

राष्ट्रपति आउने कार्यक्रमका कारण सेवा बन्द गर्ने निर्णयलाई लिएर अस्पतालकै चिकित्सकबाटै असन्तुष्टि जनाएका छन । दैनिक २ हजारभन्दा बढी बिरामीले सेवा लिने अस्पताल वार्षिकोत्सवको बहानामा बन्द गर्न नहुने उनीहरूको भनाइ छ । त्रिवि शिक्षण अस्पतालको ४० औं वार्षिकोत्सव शुक्रबार त्रिवि उपकुलपतिसहित पदाधिकारीको उपस्थितिमा मनाइएको थियो  ।

आईओएमको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतबार राष्ट्रपति भण्डारीको उपस्थितिमा कार्यक्रम गर्न लागेसंगै अस्पतालको सवै सेवा बन्द गर्न निर्देशन दिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । अस्पतालजस्तो संवेदनशील संस्था बन्द गर्न डिन शाहले आफूखुसी निर्णय लिएको प्राध्यापकहरू बताउँछन । अस्पतालमा सातामा ६ दिन ओपीडी सेवा सञ्चालन हुन्छ ।

सार्वजनिक बिदाको दिनमा समेत बिहान ओपीडी चल्दै आएको छ । बिहान र दिउँसो दुई सिफ्टमा सेवा दिने गरिएको छ । त्रिविका पूर्वउपकुपति केदारभक्त माथेमाले कुनै पनि बहानामा शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत संवेदनशील क्षेत्रका सेवा बन्द गर्न नहुने बताएका छन्  ।

‘बिरामी छाडेर डाक्टर औपचारिक कार्यक्रममा जानु हुँदैन,’ उनले भने, ‘प्रशासनिक पदका मान्छे गए हुन्छ, सेवा बन्द गर्ने कुरा ठीक होइन ।’ सेवा बन्द गर्ने आईओएमको निर्णय अनुचित भएको माथेमाले बताए । आईओएमको वार्षिकोत्सव मनाउने नाममा उपचार सेवा नै बन्द गर्नु गलत भएको डाक्टरहरुले समेत बताएका छन् । उनीहरुले भने, ‘यो त राष्ट्रपतिले पनि बुझ्नुपर्ने हो, अस्पताल बन्द भए बिरामीले दुःख पाउँछन्, निर्णय सच्याउन त्रिवि पदाधिकारीलाई आग्रह गर्दछौ ।’

डिन शाहले भने उक्त दिन बिहानको सिफ्टमा सेवा सञ्चालन गर्ने र दिउसोको सेवा भने बन्द गर्नेभन्दै अर्झै गैरकानुनी रुपमा प्रतिकृया दिएकी छिन् । उनले भनिन्, ‘पत्र तयार पार्दा राष्ट्रपतिको समय कुन बेला भन्ने मिलिसकेको थिएन, अब दिउँसोमा कार्यक्रम हुने भयो, बिहान ओपीडी चल्छ, दिउँसो मात्रै बन्द हुन्छ ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!