अमेरिकी राजदूतको अभिव्यक्तिप्रति चीनद्वारा आपत्ति

- July 16, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनको अभिव्यक्ति प्रति चीनद्वारा आपत्ति जनाएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग जोडेर चीनको भूमिकाप्रति थम्पसनले दिएको अभिव्यक्तिको आपत्ती जनाएको हो ।

थम्पसनले गत बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय समितिमा नेपालमा चीनको विरोधकै बीच एमसीसी परियोजना अनुमोदन भएको बताएका थिए । उनले चिनियाँ दुष्प्रचारका बीच नेपालको संसदले ५०० मिलियन डलरको एमसीसी परियोजना अनुमोदन गरेको बताएका थिए ।

चिनियाँ दूतावासका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा थम्पसनले चीनको निन्दा मात्र गरेको नभई नेपाल र नेपाली जनताको समेत अपमान गरेको बताइएको छ । विज्ञप्तिमा भनिएको छ( ‘उनले चीनको मात्र निन्दा गरेका छैनन्, नेपाल र त्यहाँका जनताको समेत अपमान गरेका छन् ।

चीनले यसलाई दृढतापूर्वक अस्वीकार गरेको छ ।’ दूतावासले एमसीसीबारे नेपालमा चर्को बहस भएको र त्यही बीचमा व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएको स्मरण गराएको छ ।

कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति चीनको नरहेको बताउँदै विज्ञप्तिमा भनिएको छ स्‘अन्तर्राष्ट्रिय विकास सहयोगलाई पछ्याउने क्रममा पारस्परिक सम्मान र समानताको सिद्धान्तलाई कायम राख्नुपर्छ, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ र कुनैपनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुनु हुँदैन भन्ने चीनको दृढ विश्वास छ।’

थम्पसनले सिनेटमा गरेको टिप्पणीलाई ध्यान दिइएको बताउँदै विज्ञप्तिमा उक्त टिप्पणी पूर्णतया आधारहीन भएको दाबी गरिएको छ । विज्ञप्तिमा नेपाल मित्रवत निकट छिमेकी र विकास साझेदार समेत रहेको बताउँदै चीनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न र नेपाली जनतालाई स्वतन्त्र रुपमा आफ्नै विकासको बाटो रोज्न सहयोग गर्ने बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!