नेपालमा चीनको प्रत्यक्ष चासो !!!

- July 3, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालमा ‘एमसीसी’ पास भएसंगै ‘एसपीपी’ सम्झौताको विषयसमेत उठेपछि चीन सशंकित भएको छ । अमेरिकासंग आफनो सम्बन्ध चिसिएकाबेला नेपालमा अमेरिकी चलखेल बढाएपछि चीन आफनो सुरक्षाको विषयलाई लिएर सशंकित भएको हो ।

हालै जर्मनीमा सम्पन्न जी ७ बैठक र नाटो सम्मेलनले चीनको ‘बीआरआई’ परियोजना असफल पार्ने र यसको प्रभाव कम गराउन सक्दो भूमिका खेल्ने निर्णय गरेपछि चीनपनि आक्रामकरुपमा अघि बढ्न थालेको हो । अमेरिकाले नेपालसहित दक्षिण एशियाली देशलाई प्राथमिकता दिएर आफूलाई निशाना बनाएको चीनको बुझाइ छ ।

यसका लागि चीनले आत्मरक्षाका लागि रणनीतिक पहल थालिसकेको छ । यो रणनीतिमा नेपाल नीतिलाई चीनले उच्च स्थान दिएको छ । यसका लागि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालका राजनीतिक दलका शीर्ष नेता र विदेशमन्त्रीसंग भर्चुअल संवाद गरिसकेका छन ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग पहिलो चरणमा वार्ता गरेका हुन । यस्तै, परराष्ट्रमन्त्री डा। नारायण खड्कासंग पनि उनले छलफल गरिसकेका छन । कुराकानीमा नेपालका नेताहरुले सीपीसीलाई १०१ औँ स्थापना दिवसको शुभकामना दिनुका साथै नेपाललाई चीनले गरेको सहयोग प्रति धन्यवाद दिएका थिए ।

उनीहरुले नेपाल र नेपालका राजनीतिक दलहरु असंलग्न परराष्ट्र नीतिमा अडिग रहने र कुनै पनि शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

उता लिउले नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धको चर्चा गरेका थिए । केही समयअघि मात्र सोङ ताओको स्थानमा विभागको नेतृत्व सम्हालेका लिउले नेपालका नेताहरूसँगको छलफल तीव्र बनाएका छन् । लिउको भूमिकालाई कतिपयले नेपालमा सकभर बाम एकता नभए बाम गठवन्धन बनाउन खोजेको रुपमा व्याख्या गरेका छन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!