नैतिकवान, इमान्दारी, देश र जनताप्रति कटिबद्ध राजनीतिक दल वा नेतृत्वको खाँचो छ

- May 29, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । डि.के. सूर्यवंशी राष्ट्रिय जनमुक्ति पार्टीका नेता हुनुहुन्छ । संघीयता, समानुपातिक एवं समावेशी रुपमा राज्यको हेरक क्षेत्रमा शक्ति वाँडफाँड हुनुपर्छ भन्ने धारणा राख्नुहुन्छ । यहि सेरोफेरोमा रहेर सूर्यवंशीसंग गरिएको छोटो कुराकानीको सारांस :

बर्तमान राजनीतिक अवस्थालाई कसरी हेर्नु भएको छ ?
अहिलेको राजनीतिक अवस्थामा दल भन्दा स्वतन्त्र र विकास प्रेमी जनप्रतिनिधिलाई मान्ने जस्तो देखिएको छ । खासगरी स्थानिय चुनावले राजनीतिक दल भन्दा स्वतन्त्र व्यक्तित्वहरु नै जनताहरुले चाहन्छन् जस्तो लाग्छ । अझ स्थानिय चुनावले त घर परिवार समेत विभाजन भएको छ । यो राजनीतिक व्यापारिकरण भएकाले जनता वाक्क भैसकेका छन् ।

राजनीतिलाई व्यापारिकरणबाट मूक्त गर्न के गर्नु पर्ला ?
विकसित मूलुकमा निश्चित एजेण्डाहरु हुन्छन्, त्यहाँका जनता त्यो एजेण्डा वा घोषणापत्रकै आधारमा जनप्रतिनिधीहरु चुन्छन्, तर हाम्रो जस्तो गरिब देशमा आर्थिक प्रलोभनमा पार्ने, भोट खरिद विक्री गर्ने जस्ता विकृति र विसंगतीले गर्दा यसलाई मुक्त गर्न नैतिकतावान, इमान्दारी, देश र जनता प्रति कटिबद्ध राजनीतिक दल वा नेतृत्वको खाँचो छ । अहिलेसम्म त्यस्तो नेतृत्व नेपालमा भेटिएको छैन् । त्यसैले यसलाई मुक्त गर्न राजनीतिक रुपमा ठूलो आन्दोलन गर्न जरुरी छ ।

तपाईको पार्टीको धारणा के छ ?
हाम्रो पार्टीले नेपालमा संघीयताको वकालत गर्ने प्रथम नै हो । हामीले विभिन्न उत्पीडित जाती, क्षेत्र, वर्ग, लिंगहरुको बारे समावेशीको सिद्धान्तमा आधारित संघिय ढाँचाको यथार्थ धरातलिय र नेपालको भूगोल इतिहास र संस्कृतिसंग जोडिएको संघिय लोकतान्त्रिक मूलुक बनाउने हो । तर, हामीले भने जस्तै संघियता बनेको छैन् । यसलाई सुधार्दै लैजान पर्ने स्थिती छ यहानेर कुनैपनि राजनीतिक दलहरुले नेपाल र नेपाली जनताको भावना र मर्म बुझ्दैनन् । त्यो राजनीतिक दल हुँदैन । जवसम्म नेपालको जातिय विविधता, भौगोलिक विविधता, भाषिक विविधता, सांस्कृतिक विविधतालाई आत्मसाथ गर्दैनन् । तवसम्म देश अगाडि बढ्न सक्दैन भन्ने हाम्रो धारणा हो ।

देशलाई आत्मनिर्भर बनाउन के गर्नु पर्ला ?
अहिले हामीले सबै अरुकै प्रयोग गरिरहेका छौं । हाम्रो राष्ट्रिय उद्योग र देशलाई स्वाभिमान बनाउने निति र आत्मनिर्भर बनाउन हरेक क्षेत्रमा राष्ट्रिय जागरणको खाँचो छ । विदेशी आयातलाई रोक्न नीति नियम बनाउनु पर्दछ । त्यसका लागि राज्य र राजनीतिक दलहरु ठिक हुनु पर्दछ ।

तपाईको पार्टीले एमसीसी विरोध गरेको थियो, अव के गर्नूहुन्छ ?
हामीले अहिले पनि विरोध गरिरहेका छौं चुप लागेर वसिरहेका छैनौं, स्थानिय निर्वाचनले गर्दा केही चुप लागेको जस्तो देखिएको भएतापनि यो राष्ट्रघाटी र देशलाई दिर्घकालिन रुपमा असर पार्ने एमसीसिलाई सबै नेपालीहरु एक भएर रोक्ने तिर लाग्नु पर्दछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!