लिटल फ्लावर र महेन्द्रनगर क्रिकेट फाइनलमा

- May 27, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ महेन्द्रनगर क्रिकेट क्लब आज फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको उक्त क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

१६४ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको देउखुरीले १७ दशमलव ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । उसका वसन्त सिंह कार्कीले १७, दिवान पुनले अविजित १५ र विशालविक्रम केसीले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बन्न सकेन । बलिङतर्फ महेन्द्रनगरका विपिन धामीले तीन, राहुल भण्डारी र सन्तोष भट्टले समान दुई÷दुई विकेट लिए ।

त्यसअघि महेन्द्रनगरका लागि सुशील खड्का र विशाल ऐरले समान ३९÷३९ रन बनाए । उसका दिलीप नाथले २१ र कप्तान सन्दीप जोराले १५ रन बनाए । बलिङतर्फ देउखुरीका दिवान पुनले तीन, दिनेश अधिकारी र प्रतिस जिसीले समान दुई÷दुई तथा अनिल खरेलले एक विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ सुशील खड्का घोषित भए ।

आजको जितसँगै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको महेन्द्रनगरले अब उपाधिका लागि लिटल फ्लावरको सामना गर्नेछ । लिटल फ्लावर यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

यही जेठ ५ गतेबाट सुरु भएको टी–२० क्लब क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो २ बजे हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो ।

उक्त खेलको विजेताले नगद रु दुई लाख, उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले रु सात हजार पाँच सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा देशका विभिन्न छ क्लब बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी र कैलाली जिल्ला क्रिकेट क्लबको सहभागिता रहेको छ ।रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!