कन्सल्टेन्सी र जव सेन्टरको अबैधधन्दा : वैदेशिक रोजगारका नाममा ठगी

- December 3, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देशभर खुलेका कन्सल्टेन्सी र जव सेन्टरका नाममा बैदेशिक रोजगारीमा पठाईदिनेभन्दै खुलेआम ठगी धन्दा चलाउदै आएको छ । विशेषगरि उपत्ययकाभित्र खुलेका झोले कन्सल्टेन्सीका साथै अकुत पैसा कमाएकाले समेत पछिल्लो समयमा विदेशमा रोजगारी लगाईदिने भन्दै म्यानपावर र ट्राभल्र्स एजेन्सीले गर्ने काम समेत तीनै कन्सल्टेन्सीहरुले गर्न थालेका प्रमाण तीव्रखवरलाई प्राप्त भएको छ ।

सो प्राप्त कागजात अनुसार काठमाडौँमा च्याउ सरी खुलेका कन्सल्टेन्सी र जव सेन्टरले पेश गर्ने माग पत्रमा बैदेशिक रोजगार बिभागले कमिसन लिएर घुमाउरो तरिकाले श्रम स्वीकृति दिने प्रवृति समेत मौलाउँदा सैयौं युवा/युवतीहरु ठगिने गरेका छन् । वैदेशिक रोजगार विभागमा अहिले कन्सल्टेन्सीद्वारा पठाईएका ५० जनाभन्दा बढी पीडित युवाहरु आफुहरु ठगीन पुगेको भन्दै गुनासो बोकेर पुग्ने गरेका छन् ।

अहिले प्रायः कन्सल्टेन्सीबाट पीडित भएको भेटिएको छ । ठगिएका ४/५ जनाको समुह विभागको चक्कर लगाउदै दिन विताउने गरेका छन ।  उनीहरुलाई कन्सल्टेन्सीले दिएको नक्कली भिसाको कागज बोकेर विभागमा कारबाहीकालागि अनुरोध गर्दै आएका छन् । कन्सल्टेन्सीबाट २/३ सय जना यसरी महिनामा ठगीदै आएका छन् । कन्सल्टेन्सीले अग्रीम पैसा असुली गर्ने गरेको समेत पाइएको छ ।

कन्सल्टेन्सीबाट विदेश जाने भनेको पढ्नको लागि मात्रै अधिकार दिइएको छ । वैदेशिक रोजगारीमा जानकालागि कुनै पनि प्रकृया गर्न नपाउने विद्यमान व्यवस्थालाई समेत लत्याउदै कन्सल्टेन्सीहरुले सरकारी कर्मचारीकै मिलिमतोमा सो अबैधधन्दा चलाउदै ठगी गर्दै आएका छन् । कन्सल्टेन्सी बैदेशिक रोजगार विभागमा दर्ता भएको हुँदैन । वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीमात्र दर्ता हुने प्राबधान रहेको छ ।

कन्सल्टेन्सीको काम विदेशको कलेजसँग सहकार्य गरी यताबाट विद्यार्थी पढ्नको लागि पठाउने हो तर रोजगारीको लागि पठाउन नै पाउदैन । तर कन्सल्टेन्सीले पछिल्लो समयमा आफूहरु म्यानपावर कम्पनीसँग सम्बन्ध रहेको भन्दै युवा÷युवतीहरुलाई भ्रम छरेर अबैधधन्दा गरी रकम असुली गर्दै आएको छ । पीडितहरुसँग कन्सल्टेन्सीले वर्किङ (कामदार) भिसामा विदेश पठाउने भनेर न्यूनतम जनही १० लाख रुपैयाँसम्म असुली गरेको प्राप्त कागजातबाट खुलेको छ । पीडित युवाहरुका अनुसार कन्सल्टेन्सीका अधिकाशं संचालकहरुसंग दुई वटा नागरिकता समेत रहेको आरोप लागेको छ । पीडित सबै युवाले कन्सल्टेन्सीका संचालकलाई हातमै पैसा बुझाउदै आएका छन् । पीडितका अनुसार धेरै जनालाई नक्कली भिसा देखाएर १० लाखसम्म उठाएका छन् ।

भिजिट भिसाका नाममा मानव तस्करी

कोरोना भाइरसका कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि म्यानपावर कम्पनी, एजेन्ट र केही व्यक्तिले यूएई भिजिट भिसामा कामदार पठाइरहेका छन् । यूएईसँग खाडीका अन्य देशमा समेत ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी र तिनैका प्रतिनिधि एजेन्टले भिजिट भिसाका नाममा रोजगारीमा कामदार पठाइरहेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा मानव तस्करीले नेपाली महिला घरेलु रोजगारीमा खाडीका देश पु¥याइरहेका छन् ।

भिजिट भिसामा कामदार पठाउन मानव तस्करी नै हो र त्यस्ता संस्थासँग व्यक्तिलाई मानव बेचबिखनसम्बन्धी मुद्दा लाग्ने विद्यमान प्राबधान रहेको छ ।  भिजिट भिसामा कामदार पठाउन पासपोर्ट संकलन गरिरहेका सिनामंगलस्थित स्काई अफ द वोर्ड, इम्पावर ह्युमेन रिसोर्सेज म्यानेजमेन्ट प्रालि, सुर्खेत ओभरसिज प्रालि र स्काई ब्लु इन्टरनेसनल ओभरसिज प्रालिमा वैदेशिक रोजगार विभागले गत साता आकस्मिक अनुगमनसमेत गरेको थियो ।

विभागले ती म्यानपावरले भिजिट भिसामा कामदार पठाउन प्रयोग गरेको राहदानी र केही महत्वपूर्ण कागजात जफत गरेको थियो । साथै, विभागले ट्राभल एजेन्सी, कन्सल्टेन्सीले समेत भिजिट भिसामा कामदार पठाइरहेको तथ्य फेला परेको थियो । तर सो बारे विभागले हाल सम्म के कस्ता कारबाही ग¥यो भन्ने विषयमा भने केही जानकारी दिन चाहेको छैन । यसरी भिजिट भिसामा गएर काम गरिरहेका मध्ये करिब आधाभन्दा धेरै नेपालीहरू अवैध रूपमा बसेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!