व्यापारीद्वारा चिनीमा मनलाग्दी रकम असुली, सर्वसाधारण मारमा

- November 6, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न जिम्मेवारी दिए पनि खाद्य व्यापार कम्पनीले समयमै चिनी ल्याउन नसकेको हो ।

त्यसबेला सरकारले ५० प्रतिशत भन्सार महसुल छुटमा खाद्य व्यापार कम्पनीलाई १० हजार र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न स्वीकृति दिएको थियो  । सरकारले दिएको सो स्वीकृतिअनुसार साल्ट ट्रेडिङले सहुलियत चिनी ल्याइरहेको छ । तर, खाद्य व्यापार कम्पनीले चिनी आयात गर्ने कम्पनीसमेत टुंगो लगाउन सकेको छैन ।

खाद्य व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले खाद्यले चिनी आयात गर्नकै लागि गरिएको टेन्डरमा कुनै कम्पनी इच्छुक नभएकाले चिनी ल्याउन समस्या भएको बताए । उनले पहिलो पटक टेन्डर गर्दा १० हजार टन चिनी आयात गर्न कुनै पनि कम्पनी इच्छुक नहुँदा सहुलियत चिनी ल्याउन नसकेको बताए । उनले चिनी आयातका लागि फेरि दोस्रो पटक टेन्डर आह्वान गर्ने तयारी भइरहेको बताए ।

महाप्रबन्धक खनालले अहिले टेन्डर आह्वान गरेर परिहाले पनि खाद्य कम्पनीको सहुलियत चिनी आउन करिब तीन महिना लाग्ने बताए । उनले सरकारी प्रक्रिया पूरा गर्दा सो समय लाग्ने जिकिर गरे ।

‘सार्वजनिक खरिद ऐनअनुसार सूचना प्रकाशन गरियो । तर, एउटै कम्पनीले पनि आवेदन दिएनन्,’ महाप्रबन्धक खनालले भने, ‘चिनी आयातको टेन्डर मिति २९ असोजसम्म थियो । तर, कुनै पनि कम्पनीको टेन्डर परेन । त्यसकारण फेरि टेन्डर गर्नुपर्ने भएको छ  ।’

ऐनअनुसार ४५ दिनको सूचना प्रकाशन गरेपछि मूल्यांकन, एलसीलगायत प्रक्रिया गर्दा यो तिहार छठसम्म आउने कुनै सम्भावना छैन । उनले भने, ‘सबै प्रक्रिया पु-याउँदा करिब तीन महिना लाग्छ । अझै पनि टेन्डर पर्छ भन्ने छैन ।’

साल्ट ट्रेडिङका विभागीय प्रमुख ब्रजेशकुमार झाका अनुसार साल्टले २० हजार टन चिनी सहुलियतमध्ये ५ हजार टन ल्याइसकेको छ । तिहार र छठसम्ममा थप ५ हजार टन चिनी ल्याइसक्ने उनले बताए ।

उनले सरकारले सहुलियतमा आयात गर्न आफूहरूलाई दिएको अनुमतिअनुसार निरन्तर आइरहेको जानकारी दिए । साल्टसँग अहिले मौज्दात चिनी भएपछि निजी व्यापारीलाई प्रतिकिलो ७७ रुपैयाँ २० पैसामा बिक्री गरिरहेको उनले जानकारी दिए । निजी व्यापारीले भने थोकमा नै प्रतिकिलो ८१ देखि ८३ रुपैयाँसम्म लिइरहेका छन् । तिहार र छठपर्व नजिकिँदै जाँदा व्यापारीले थोकमै चिनीको मूल्य बढाएका छन् ।

हाल चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल दर छ । ५० प्रतिशत छुट पाउँदा खाद्य र साल्टले २० प्रतिशत मात्रै भन्सार तिरे पुग्छ । तर पनि खाद्य कम्पनीले सस्तो मूल्यमा चिनी आयात गर्न सकेको छैन ।

सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा घरायसी र उद्योग गरी मासिक २० हजार टन चिनी खपत हुन्छ । दसैं, तिहार र छठका लागि दुई महिना थप १० हजार टन चाहिन्छ । तर, बजार हस्तक्षेप गर्ने दायित्व पाएका यी दुई सरकारी स्वामित्वका कम्पनीसँग पर्याप्त चिनी नहुँदा निजी व्यापारीले त्यसको फाइदा उठाउँदै प्रतिकिलो १० देखि १५ रुपैयाँ बढी मूल्य लिने गरेका छन् ।

सहुलियत दरमा आयात गरेको चिनी साल्ट टे«डिङले प्रतिकिलो ७३ रुपैयाँमा बिक्री गर्दै आएको छ । चाडबाडलाई लक्ष्य गरी थप ३ रुपैयाँ छुट दिएको साल्टको चिनी प्रतिकिलो ७० रुपैयाँ पर्छ । तर, बजारमा व्यापारीले प्रतिकिलो ८५ देखि ९५ रुपैयाँसम्ममा बेचिरहेका छन् । – कौशिला कुँवर, राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!