अष्ट्रेलियामा विद्यार्थीलाई विचल्ली बनाउने कन्सल्टेन्सीमाथी सरकारले कारबाही गरेन

- March 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकार कमजोर भयो भने ठग, फटाहा र दलालहरूको सक्रियता बढने गर्छ । यिनीहरूको एकमात्र उद्देश्य धन आर्जन गर्ने हुन्छ । रातारात धनी बन्ने लालसा बोक्ने यस्ता दलालहरूका कारण लाखौं नेपालीले दुख पाइरहेका छन् । बर्षौंदेखि बैदेशिक रोजगारीका क्षेत्रमा जरा गाडेर बसेका यी ठग, फटाहा र दलालहरू बैदेशिक शिक्षा क्षेत्रमा पनि ठूलै सिण्डिकेट खडा गरेर बसेका छन् । यिनै दलालहरूका कारण यतिबेला सात समुन्द्र पारी अष्ट्रेलियामा करीब बाह्रसय नेपाली विद्यार्थीहरूको विचल्ली भएको खबरले नेपाली बुवाआमाहरूलाई चिन्तामा पारेको छ भने ती विद्यार्थीको करीब २ अर्ब लगानी डुब्ने खतरा बढेको छ । १९ फ्रेबुअरी २०१९ मा अष्ट्रेलियामा रहेको अस्ट्रेलियन इन्स्टिच्यूट अफ बिजनेश एण्ड टेक्नोलोजी (एआइबीटी) कलेजको नर्सिङ संकाय खारेजी भएसँगै त्यहाँ अध्ययनरत करीब ३ हजार बिद्यार्थी मध्ये १२ सय हाराहारीमा नेपाली विद्यार्थीहरू बिचल्लीमा परेका हुन् । यो संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । पढाई सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका ती विद्यार्थीहरूको आगामी शैक्षिक भविष्य के हुने हो भन्ने प्रश्न उब्जिएको छ ।

समस्या के हो र ?

सिंगापुरे लगानीकर्ताहरूको साझेदारीमा सञ्चालित अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) लाई अनुमति बिना नर्सिङ संकाय सञ्चालन गरेको भन्दै अस्ट्रेलियन सरकारले कारबाही गरेपछि नेपाली विद्यार्थीहरूको विचल्ली भएको हो । नेपाली विद्यार्थीहरूको भविष्यमाथि यति ठूलो खेलबाड हुँदा पनि नेपाल सरकार भने चुपचाप छ । नर्सिङ शिक्षा अध्यापनका लागि अस्ट्रेलियन नर्सिङ एन्ड मिड वाइफरी एक्रिएडिएसन काउन्सिल ९एन्म्याक०बाट अनुमति लिनुपर्ने प्राब्धान छ । एआईबीटी अस्ट्रेलियाको सरकारी निकाय अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) मात्र दर्ता छ । अस्क्वामा मात्र दर्ता भएर नपुग्ने भएकाले नर्सिङका लागि एन्म्याकको अनुमति अनिवार्य लिनुपर्ने कानूनी प्राब्धान रहेको बताइन्छ । एआईबीटीले एन्म्याकबाट अनुमति प्राप्त नगरेरै नेपाली दलालहरूसंगको साँठगाँठमा विद्यार्थी धमाधम विद्यार्थी भर्ना गरेकाले समस्या उत्पन्न भएको अस्ट्रेलियास्थित एकजना नेपालीले बताए ।

एन्म्याकमा दर्ता भएका संस्थाले मात्र नर्सिङ पढाइ गरेका बिध्यार्थीलाई हस्पिटलमा इन्टर्नसिपका लागि, अस्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेटर एजेन्सी ९अप्रा०को दर्ता नम्बर पाउछन एआईबीटीले मुख्यतया विदेशी विद्यार्थीहरूलाई विभिन्न विषयमा डिप्लोमा तालिम प्रदान गर्दछ । यो कुनै विश्वविद्यालय अन्तर्गतको सम्बन्धन प्राप्त कलेज होइन । यस संस्थामा प्राविधिक शिक्षा पढ्न जाँदा नेपाली विद्यार्थीले एक बर्षको ट्युसन फी गरी करीब एघार लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अस्ट्रेलिया प्रवेश भिसालगायतका प्रक्रियाहरूमा पनि सहजता छ । त्यसकारण नेपाली विद्यार्थीहरूका लागि पछिल्लो समयमा एआईबीटी रोजाइको शिक्षण संस्था बनेको छ शैक्षिक दलालहरूले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्नेभन्दा पनि रोजगारी, पीआरको लोभ देखाउने गर्नाले समस्या आएको काठमाण्डौंस्थित एक परामर्शदाताको भनाई छ । उनले भने ‘साँच्चिकै उच्च शिक्षा अध्ययन गर्न चाहना भएकाहरू विश्वविद्यालय भर्नाको प्रक्रियामा जान्छन् ।’ विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा पढन जाँदा करीब १८ लाख रुपैयाँ खर्च हुने गरेको बताइन्छ । त्यसमा ६ महिनाको ट्युसन फी मात्र जोडिएको हुन्छ ।

नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया प्रवेश गर्ने उद्देश्यमा मात्र प्रेरित गर्ने बैदेशिक शिक्षा क्षेत्रका दलालहरूको गलत परामर्शका कारणले गर्दा एआईबीटीका विभिन्न कलेजमा अध्ययनरत करीब १२ सय नेपाली चेलीहरूको शैक्षिक भविष्यमा अन्यौलता छाएको छ ।एआईबीटीमा पढ्ने विद्यार्थीहरूको पढाई नेपालमा दर्ता समेत नहुने अवस्था देखिएपछि र त्यहाँ पढेका विद्यार्थीलाई अन्य युनिभर्सिटी र कलेजहरूले समेत मान्यता नदिएपछि यो समस्या आएको हो । डिप्लोमा अफ नर्सिङ पढेपछि व्याचलर अफ नर्सिङ पढ्न पाइन्छ र सजिलै यहाँको पीआर हुन्छ भन्ने आकर्षक विज्ञापन नेपालमा गरेर विद्यार्थीहरूलाई भ्रममा पारेर ठगेको स्पष्ट हुन्छ । तर, एआईबीटीले भने यहाँको मेडिकल शिक्षा प्रदान गर्नेहरूलाई हेर्ने निकाय एनम्याकबाट सम्बन्धन पाएको थिएन । सम्बन्धनको प्रक्रियामा छ भन्ने आश्वासनमा नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्शदाताहरूले नेपालमा झुक्याएर करोडौं ठगेको खुलेको छ । यतिबेला सबैभन्दा ठूलो प्रश्न यस्तो पूर्णतः वैधानिकरुपमा पढाउन पाउने ईजाजत नै नपाएको कलेजमा पनि विद्यार्थी पढ्न आउँदा अध्यागमनले किन भिसा दियो भन्ने प्रश्न उठेको छ । सिओई दिने र भिसा दिने लगायतका कार्यमा अध्यागमनको प्रमुख हात रहने गर्दछ ।
२४ महिने नर्सिङ पढिरहेका ती छात्राहरूले काठमाण्डौंमा एजुकेशन कन्सल्टेन्टहरूले भने बमोजिमको सुविधा एआईबीटीमा नपाएपछि अष्टे«लियाका विभिन्न निकायमा गुनासो गरेका थिए । विद्यार्थीहरूको गुनासोपछि एआईबीटी जस्ता शैक्षिक संस्थाहरूलाई सञ्चालन अनुमति दिने, नियमन तथा अनुगमन गर्ने सरकारी निकाय अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) ले छानबिन गरेको थियो । एआईबीटीमा अध्ययनरत एकजना पीडित छात्राले गुनासो गर्दै भनिन– ‘काठमाण्डौंमा सुनाए जस्तो सुविधा नभएको विद्यार्थीको गुनासो थियो त्यही बेला अस्क्वाको अनुगमन पनि आयो र १९ फेब्रुअरी २०१९ मा नर्सिङ संकाय अध्यापनको अनुमति खारेजीको खबर फैलियो ।’ विद्यार्थीहरूले पढाई सकेकाले सर्टिफिकेट नपाएको, नर्सिङका विद्यार्थीहरूलाई अस्पतालहरूमा प्राक्टिक्स गर्ने सुविधा नदिएको र लाइब्रेरी सुविधा पनि नभएको लगायतका समस्याहरू कलेजमा रहेको पीडितहरूले बताएका छन । एआईबीटीमा दुई बर्षे डिप्लोमा इन नर्सिङ पास गर्न करीब ३२ हजार अस्टे«लियन डलर खर्च हुने बताउदै एकजना छात्राले भनिन् ‘‘यहाँ दर्जनौ समस्या छन् । यहाँबाट डिप्लोमा पास भएपछि इनरोल नर्सिङ भएर काम गर्न पाइएला भन्ने आशा थियो तर अहिले आएर नमिल्ने रहेछ । असिस्टेन्ट नर्सिङ भएर मात्र काम गर्न पाइने रहेछ’ असिस्टेन्ट नर्सिङको योग्यतामा करीब १२ सय अस्ट्रेलियन डलर मात्र खर्च हुने गरेको विद्यार्थीहरू बताउछन । ३२ हजार डलर खर्च गरेर पढेको र १२ सय डलर खर्च गरेर पढेकाले एउटै पारिश्रमिकको काम पाउने भएकाले तनाव सिर्जना भएको नर्सिङका पीडित छात्राहरूले बताए । विद्यार्थीको अन्तर्राष्ट्रिय संगठन (सीसा), सम्बन्धित निकाय तथा अष्ट्रेलिया दूतावासमासमेत यो विद्यार्थीहरूको गुनासो पुगेपछि अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) ले कलेजको दर्ता खोरेजी गर्ने निर्णय गरेको हो । अस्ट्रेलियामा हाल करीब चालीस हजार नेपाली विद्यार्थी अध्यनरत रहेको अनुमान गरिन्छ ।

कन्सल्टेन्सीका ठग सञ्चालकहरूको उल्टो धम्की

सनराइज कन्सल्टेन्सीमार्फत एआईबीटीमा पढ्न आएकी सद्रीसा खरेलले २४ फ्रेबुअरी २०१९ मा फेसबुक वालमा भिडियो सन्देश दिंदै आफुहरूले एआईबीटी कलेजमा भोग्नु परेका समस्याका बारेमा आवाज उठाउदा एक्सपर्ट कन्सल्टेन्सीका सञ्चालकहरूले नेपालमा रहेका बुवाआमालाई अनावश्यक तनाव दिएको बताएकी छिन । अभिवावकहरूलाई कन्सल्टेनसीका सञ्चालकहरूले अनावश्यक तनाव दिनु गलत भएको सद्रीसाको भनाई छ । उनले नेपाल सरकारले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छिन । अस्ट्रेलियाको सिड्नी र ब्रिजबेनमा रहेका एआइबीटी कलेजमा मात्र करीब एक हजारको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

एन्म्याकले पछिल्लो पटक भाषागत समस्या देखाउँदै इगंलिस भाषा परीक्षा आइएलटीएसमा सात अंक आउने विद्यार्थीलाई मात्र डिप्लोमा अफ नर्सिङ पढ्न पाउने निर्णय गरेपछि विद्यार्थीहरू थप मर्कामा परेका हुन् । सन् २०१७ को अक्टोबरमा यो नियम जारी गरिए पनि त्यस अघि भर्ना भएका विद्यार्थीको हकमा यो नियम लागू नहुने बताइएको थियो ।तर, पछिल्लो समय कलेजमा भर्ना हुन अंगे्रजी भाषा परीक्षामा अनिवार्य सात अंक ल्याउनुपर्ने भएपछि धेरै विद्यार्थी समस्यामा परेका हुन् । यो नियम लागू भएसंगै अष्ट्रेलियामा नर्सिङ कोर्ष थप जटिल भएको पीडितहरू बताउछन् । सिड्नीस्थित एकजना नेपाली पत्रकारले भने– ‘एआईबीटी र उसका नेपाली एजेन्टहरूले विद्यार्थी र अभिभावकलाई समस्या समाधान हुन्छ भनि आश्वस्त पार्नु व्यवसायिक धर्म हो ।

तर सरकारी नियम उलंघन गरेकोमा विगत २ बर्ष यता अस्टे«लियामा करीब २ सय भन्दा बढी शैक्षिक संस्थाहरूको दर्ता खारेजी भएको छ ।’ दर्ता खारेजीपछि एआईबीटीले पुनरावोलकनका लागि अपिल गरेको छ । निर्णय आउन २८ दिन लाग्ने सरकारी प्राब्धान छ । सरकारी निर्णय के आउने हो भनेर पीडित नेपाली विद्यार्थीहरू पर्खेर बसेका छन् ।

यी हुन दलाल कन्सल्टेन्सीहरू

उता अस्ट्रेलियामा १२ सय भन्दा बढी नेपाली विद्यार्थीहरूको शैक्षिक भविष्य संकटमा परेको छ । यता नेपालमा अभिभावकहरू दिनरात चिन्तित बनेका छन । नेपाल सरकार, शिक्षा, परराष्ट्र मन्त्रालय कानमा तेल हालेर बसेका छन् । विद्यार्थी संगठनहरूको पनि केही प्रतिक्रिया आएको छैन । शैक्षिक दलालहरू पुतलीसडक र बागबजारमा कन्सल्टेन्सी नामका बोर्ड झुण्ड्याएर सोझासाझा युवाहरूसंग लाखौं असुल्दै अस्ट्रेलियाको सपना बेचिरहेका छन् । प्रति विद्यार्थी डेढ लाख रुपैयाँ कमिसन पाउने लोभमा युवा युवतीको भविष्यसंग खेलवाड गर्ने शैक्षिक क्षेत्रका दलालहरू कानूनको कठघरामा कहिले आउने भनेर पीडित अभिभावकहरूले प्रश्न गर्न थालेका छन् । एआईबीटीमा सबैभन्दा बढी विद्यार्थी पठाउनेमा पुलतीसडकको स्टारमलमा कार्यालय रहेको राम टण्डन क्षेत्रीको मर्सी कन्सल्टेन्सी रहेको स्रँेत बताउछ । मर्सीले करीब ३ सयको हाराहारीमा नर्सिङका विद्यार्थी अस्ट्रेलिया पठाएको बताइन्छ । त्यसपछि खेम निरौला सञ्चालक रहेको एक्पर्ट भिसा एण्ड एजुकेशनले २ सय विद्यार्थी, महारागञ्ज चक्रपथमा कार्यालय रहेको गणेश स्याङ्वाको एसियन इन्टरनेशनलले करीब १ सय २५ विद्यार्थी, पुतलीसडकमा कार्यालय भएको विनोद बावुको टिम कन्सल्टले करीब ७० जना, एण्डु पौडेलको पुतलीसडकस्थित ग्रेस इन्टरनेशनलले करीब ५५ जना, डिल्लीबजारमा कार्यालय रहेको राजेन्द्र रिजालको काठमाण्डौ इन्फोसिसले करीब ४० जना विद्यार्थी पठाएका छन । यसैगरी पुतलीसडकमा कार्यालय रहेको विज्ञान श्रेष्ठको युनि क्याम्पसले करीब ३० जना, बानेश्वरमा कार्यालय रहेको द्वीराज शर्माको अल्फाबिटाले करीब १५ जना पठाएको श्रोतको भनाई छ । श्रोतका अनुसार, पुलतीसडकमा कार्यालय रहेको उपेन्द्र सेंढाईको सनराइज एजुकेशनले दुई दर्जन बढी बिद्यार्थी पठाएको छ ।

महेश तिमिल्सेना सञ्चालक रही पुतलीसडकमा कार्यालय रहेको कङ्गारु एजुकेशनले करीब ३५ जना नर्सिङका विद्यार्थी एआईबीटीमा पठाएको बताइन्छ । काठमाण्डौ बाहिर पोखरामा कार्यालय रहेको एनमार्कले करीब ५० जना विद्यार्थीहरू पठाएको बुझिएको छ । त्यसैगरी विद्यार्थी पठाउनेमा पुलतीसडकमा कार्यालय रहेको नरेन अर्याल सञ्चालक रहेको ई प्लानेट, नवराज केसीको पुतलीसडकस्थित एसआईइसी, बानेश्वरमा कार्यालय रहेको मोडेल ग्लोेवल लगायत रहेको स्रोत बताउछ । कन्सल्टेन्सीहरूले करोडौ असुलेर अस्ट्रेलिया पठाएका विद्यार्थीहरू संकटमा परेपछि अधिकांश कन्सल्टेन्सीका सञ्चालकहरू भूमिगत भएको पीडित अभिभावकहरूको गुनासो छ । कतिपय फोनको स्वीच अफ गरेर बसेको पीडितहरूले गुनासो ब्यक्त गरेका छन् भने मर्सीका राम टंडन क्षेत्री र एसियनका गणेश स्याङ्वा अस्ट्रेलिया पुगेको श्रोतको भनाई छ । डिप्लोमा अफ नर्सिङ संकायका लागि दर्ता नै नभएको एआइबीटी कलेजमा नेपाली विद्यार्थीहरूलाई पठाउने धन्दा चलाउँदै आउने शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि पाण्डेले सञ्चालन गरेको रोयल एजुकेशन फाउण्डेशनको नाम अग्रपंक्तिमा रहेको छ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका अध्यक्ष युवराज कटुवालको यासफोर्ड इन्टरनेशनल कन्सलटेन्सी पनि एआइबीटीको एजेन्टका रुपमा रहेको पीडितहरू बताउछन् ।विद्यार्थीको फसेको पैसा फिर्ता गराउन, उचित क्षतिपूर्ति दिलाउन र कलेजलाई कारबाही गराउन सक्रिय रहेको सिसाका नेताहरूले बताएका छन । नेपाली दूतावासले पनि एआइबीटी कलेजमा अध्यनरत सयौं नेपाली विद्यार्थीको गुनासो सार्वजनिक भएपछि छानबिनका लागि अष्ट्रेलियाको शिक्षा विभागमा पत्र पठाएर झारा टारेको पीडित विद्यार्थीहरूको गुनासो रहेको समाचार साँघु साप्ताहिकले प्रकाशन गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!