चौधरी ग्रुपको ठगी धन्दा नियन्त्रणबाहिर : भूकम्पपीडितलाई पनि छोडेन ठग्न

- August 1, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पक्की घर बनाइदिने भन्दै नक्कली सम्झौतापत्रमा सही गराउँदै करोडौँ रकम हिनामिना

रोशन कार्की
काठमाडौं । शक्ति र पैसा भएपछि देशमा भएको प्राकृतिक विपत्तिमा समेत ज्यान गुमाएका र घरबार विहिन भएकाहरुकै नाममा आफुलाई विश्वको धनी हुँभन्दै प्रचार प्रसार गर्ने चौधरी गु्रपका मालिकले करोडौ रुपैयाँ ठगी गरेको खुलेको छ । गत ३ वर्षअघि गएको विनाशकारी भूकम्पबाट घर विहिन भएकालाई पक्कि घर बनाईदिने भनेर नक्कली कागजमा स्थानीयबासिन्दाको सहीछाप गराएर करोडौ रुपैयाँ हिनामिना गरेकै कारण अहिले भूकम्प पीडितहरु खुला आकाशमुनी बस्न बाध्य भएका छन् ।
चौधरी ग्रुपले तीन वर्षअघिको महाभूकम्पबाट क्षतिग्रस्त घर र विद्यालय बनाइदिने भनी देशका विभिन्न स्थानमा गरेको सम्झौतापत्रअनुसार अन्ततः पक्की घर निर्माण नगरी पीडितमाथि थप पीडा पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् । चौधरी ग्रुपले विभिन्न स्थानमा १० हजार घर र विद्यालय निर्माण गरेको भन्दै नक्कली प्रतिवेदन तयार गरेर विदेशीदातासमक्ष पेश गरेको समेत खुलेको छ । सो ग्रुपका अध्यक्ष विनोद चौधरीले भूकम्पबाट क्षतिग्रस्त भएकाहरुलाई एक हजार घर पक्की घर निर्माण गर्नेभन्दै राजधानीमा पत्रकार सम्मेलननै गरेर विदेशी दातालाई आकर्षित गरेका थिए । पत्रकार सम्मेलन गरेको फोटो समावेश गरी विदेशी दातासँग लाखौँ डलर संकलन गरे पनि उनले अस्थायी टहरो बनाएर पक्की घर बनाएको भन्दै नक्कली सम्झौतापत्रमा स्थानीय बासिन्दालाई सही गराएर संकलन भएको रकम अनियमितता गरेको सो ग्रुपका एक कर्मचारीले नाम नलेख्ने शर्तमा बताएका छन् ।
अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखालगायत अन्य स्थानमा पक्कीघर बनाइदिने भन्दै स्थानीय बासिन्दासँग घर बनाउनुपूर्वनै सम्झौता गरेका थिए । सो सम्झौतामा पक्की ढलान घर बनाइदिने र प्रतिघर २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भन्ने उल्लेख भएको स्थानीय बासिन्दाले बताएको जनाउदै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । सो सम्झौताअनुसार घर नबनाई बाँस र जस्ताको अस्थायी टहरा बनाएर पक्की घर बनाई हस्तान्तरण गरिएको झूटो विवरण उल्लेख गरी भूकम्पपीडितहरुमाथि पनि शोषण गरेको दुःखेसो स्थानीय बासिन्दाहरुको रहेको छ ।
चौधरी ग्रुपले पक्की घर बनाएको भन्दै विदेशी दातालाई घर बनाउनुअगाडि स्थानीयबासिन्दासँग गरेको नक्कली सम्झौतालाई नै घर हस्तान्तरण गरेको भन्दै नक्कली प्रतिवेदन पेश गरेर करोडौँ रुपैयाँ हिनामिना गरेको रहस्य पीडितपक्षले खुलाएका हुन् । चौधरी ग्रुपले सो सम्झौतापत्रको प्रतिलिपि सम्बन्धित पक्षलाई पनि दिनुपर्नेमा नदिई बाँसको घर बनाएर अनियमितता गरेको आरोप पीडितपक्षको रहेको छ ।
चौधरी ग्रुपले एक दिनअघि सिन्धुपाल्चोक जिल्लाको साबिकको भीमटार गाउँ विकास समिति–५ हाल इन्द्रावती गाउँपालिका वडा नम्बर १२ मा निर्माण गरेको बाँसको घर दुई वर्ष नपुग्दै भत्किएपछि भूकम्पपीडितहरु अहिले खुला आकाशमुनि जीवन बिताउन बाध्य भएका छन् ।
स्थानीय बासिन्दाका अनुसार एसओएस भन्ने गैरसरकारी संस्थाले पक्की एक तले घर बनाउने तयारी गरिरहेको अवस्थामा हतार–हतार भीमटारमा गई सम्झौता गरेको चौधरी ग्रुपले सोझा दनुवार जातिको अनुहार देखाएर ठगी गरेको आरोप लागेको छ । चौधरी ग्रुपले सिन्धुपाल्चोकको भीमटारमा कुल एक सय १२ वटाबाँसको घर बनाएको थियो । सो स्थानमा २५ लाख रुपैयाँका दरले प्रतिघर निर्माण सम्पन्न गरेको रिपोर्ट दातालाई बुझाएको पाइएको छ ।
विश्वको धनीको सूचीमा रहेका भारतीय मूलका नागरिक चौधरीले ब्रह्मलुट नै मच्चाएको सम्बन्धमा पटक–पटक समाचार सर्वाजनिक हुँदा समेत सरकारले कुनै कारबाही गर्ने आँट गरेको पाइएको छैन । आफूलाई विश्वकै धनी उद्योगपतिको
परिचय दिँदै आएको सो समूहका अध्यक्ष चौधरीकै योजनामा ठगी भएको समेत आरोप लागेको छ । भूकम्पहरुलाई अत्याधुनिक घर बनाइदिने बहानामा अर्बौं रुपैयाँ अपचलन गर्न सफल भएको पाइएको छ । सो समूहका अध्यक्ष चौधरीको योजनामा पीडितको नाममा गुणस्तरहीन सामान्य रुपको घर बनाई सो घरमा चौधरी ग्रुपको लोगो झुण्ड्याउनमात्र २५ करोड रुपैयाँभन्दाबढी रकम खर्च गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
चौधरी ग्रुपले सो घर बनाउनकालागि भौतिक सामग्रीमा दिएको र सो घरमा लोगोमात्र राखेको ग्रुपकै एक कर्मचारीको दाबी रहेको छ । सो ग्रुपले जुन–जुन स्थानमा घर बनाएर हस्तान्तरण गरेको छ, त्यो कमसल बाँसको प्रयोग गर्न लगाई हावापानी समेत छेक्न हम्मे–हम्मे पर्ने घर निर्माण गरेर पक्की घर बनाएको कागजपत्रमा हस्ताक्षर गर्न लगाएको समेत पीडितहरुको गुनासो रहेको छ । चौधरी फाउण्डेसनको नाम दिएर तयार गरेको एक घरमा चौधरी ग्रुपले बाँस ७० वटा, सिमेण्ट पाँच बोरा, जस्तापाता दुई बण्डल, हुँक ३० किलो, तार पाँच किलो, ढोकामा प्रयोग हुने कब्जा एक, ह्याण्डित एक र भित्र प्रयोग हुने छेस्किनी एउटा भौतिक सामान दिएको थियो । सो सामानको ढुवानी र निर्माण गर्दा लाग्ने ज्याला समेत भूकम्पपीडितहरुले नै व्यहोरेका थिए । तर, चौधरीले ढुवानीदेखि निर्माण कार्य समेत चौधरी ग्रुपले खर्च गरेको भन्दै झूटो विवरण पत्रकार सम्मेलनमा पेश गरेका थिए ।
सो विवरणमा तत्कालको मूल्यसूचीअनुसार चौधरी ग्रुपले प्रतिघर २२ हजार एक सय रुपैयाँ खर्च गरेको देखिन आएको छ भने भूकम्पपीडितसँग गरेको सम्झौताअनुसार पक्की घरनै बनाइदिनेभन्दै प्रतिघर २५ लाख रुपैयाँको कागजातमा सहीछाप लगाएर धोका दिएको आरोप चौधरीमाथि लागेको छ ।
प्राप्त विवरणअनुसार चौधरी ग्रुपले सिन्धुपाल्चोकको भीमटारमा जम्मा खर्च २४ लाख ७५ हजार दुई सय रुपैयाँ देखिन आएको छ । तर चौधरीले झुक्याएर भूकम्पपीडितलाई २४ लाख ७७ हजार नौ सय रुपैयाँ बढी खर्च भएको भन्ने व्यहोराको पत्रमा हस्ताक्षर गरी ठगी गरेको पाइएको छ ।
सो ग्रुपले अत्याधुनिक घर बनाइदिने भन्दै २५ लाख रुपैयाँमा घर निर्माण भई आफूहरुले भोगचलन गर्दै आएको व्यहोराको सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएका थिए । सोही निर्देशनअनुसार चौधरीले नक्कली घर सम्पन्न गरेको कागजात मिलाएर रकम हिनामिना गरेको खुलेको हो ।
सो समूहले भूकम्पबाट घर गुमाएकामध्ये १० हजार परिवारका लागि घर बनाइदिने प्रतिबद्धताअनुरुप फाउण्डेसनले माझी तथा दनुवार समुदायको बाहुल्य रहेको भीमटारका पीडित परिवारलाई घर प्रदान गरेको थियो तर सो ग्रुपको गोप्य प्रतिवेदनमा पक्की सुविधासम्पन्न घर निर्माण गरेको उल्लेख छ । जुन रिपोर्टमा चौधरी ग्रुपले एकघर निर्माणमा २५ लाख रुपैयाँ लागत लागेको उल्लेख गरेको सो समूहकै एक कर्मचारीलेनाम नलेख्ने शर्तमा बताए ।
सो ग्रुपले तयार गरेको गुणस्तरहीन घरमाचौधरीको लोगो राख्ने र सोही देखाएर विदेशबाट रकम संकलन गर्ने योजनाका साथ विनोद चौधरीले नयाँ योजनाअनुरुप सो घर निर्माण गरेका थिए । काभ्रेको दोलालघाट, काठमाडौंको मच्छेगाउँ, भक्तपुरको चाँगुमा पक्कीघर बनाएको नक्कली रिपोर्ट बनाई एक अर्ब ४५ करोड ६७ लाख ५३ हजार रुपैयाँ ठगी गरेको आरोप उच्च स्रोतको दाबी रहेको छ । नाम नलेख्ने शर्तमा सोही ग्रुपका एक कर्मचारीले दिएको जानकारीअनुसार चौधरी समूहले सिन्धुपाल्चोकको भीमटार, काभ्रेको दोलालघाट, दोलाखाको नाम्दु, काठमाडौंको मच्छेगाउँ, भक्तपुरको चाँगु, ललितपुरको बुरुङचुली र कुपण्डोलका भूकम्पपीडितको घर बनाएको भन्दै अर्बौं रुपैयाँ अनियमितता गरेको दाबी गरेका छन् ।
सो ग्रुपले भूकम्पपीडितको घर बनाउन २५ करोड रुपैयाँ खर्चभएको उल्लेख गरेको थियो भने घर तथा स्कुल निर्माण गर्ने भन्दै विदेशी संस्थासँग रकम संकलन गरेको थियो । ग्रुपका अध्यक्ष चौधरीले भूकम्पपीडितका लागि एक हजार घर आफैँ बनाइदिने र बाँकी नौ हजार घर दातृनिकायको सहयोगमा बनाइदिएको घोषणा गरे । तर सबै विदेशी सहयोगमा सामान्य टहरो बनाएर चौधरी ग्रुपको लोगोमात्र झुण्ड्याएको छ ।चौधरीले प्राइस वाटर हाउस कुपर्स पीडब्लुसी भारत र सिड्सको सहयोगमा घर बनाएको भन्दै रकम हिनामिना गरेका हुन् । काठमाडौंको चन्द्रागिरिस्थित मच्छेगाँउमा चौधरी समूहले भूकम्पपीडितहरुलाई एउटा घरको नमूना देखाएर झारो टार्ने काम गरेको भेटिएको छ । बाँसबाट बनाइएका यी टहराहरु भत्किसकेका छन् । मच्छेगाउँकी देवकी रानामगरले अस्थायी टहराले तत्कालका लागि केही राहत दिएता पनि सो बाँसको टहरो खासै काममा नआएको बताइन् ।
यस सम्बन्धमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई पटक–पटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । औसतमा सात सय अमेरिकी डलर खर्च गरेर बनाएको घर अहिले कुन अवस्थामा रहेको छ भनेर खोज्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय संस्था प्राइस वाटर्स हाउस कुपर्स (पीडब्लुसी) इण्डिया फाउन्डेसन र सोसल इन्भाइरमेन्ट एण्ड इकोलोजिकल डेभलपमेन्ट सोसाइटी (सिड्स) इन्डियासँग सहयोग रकम संकलन गरेर गुणस्तरहीन घर बनाई संकलन भएको रकम हिनामिना गरेको अरोप लागेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!