​कतारबाट ६० हजार बचाएर फर्केका कुलबहादुरको महिनाको कमाई ४० हजार

62

बाग्लुङको गल्कोट ५ का कुलबहादुर खत्री अहिले पर्यटकीय शहर पोखरामा होटल व्यवसायी बन्नुभएको छ । होटलबाट खर्च कटाएर महिनामा झण्डै ४० हजार रुपैयाँबचाउने कुलबहादुरको कथा कतारसँग जोडिएको छ ।

२ वर्ष मरुभूमीमा पसिना बगाउनुभयो कुलबहादुरले । बालुवामा पानी भने जस्तै कुलबहादुरका पसिना पनि कतारको बालुवामा हरायो । तर त्यहाँ सिकेको सीपले अहिले भने जीवनमा हरियाली ल्याएको छ । ‘त्यहीँको भोगाईले त सिकेको हो नी’ कुलबहादुरले कुराका थालनी नै त्यही अर्थात कतारलाई जोड्नुभयो ।

किसान परिवारमा जन्मेका कुलबहादुर दुई दाजुभाइमध्ये कान्छा छोरा। दाइ रोजगारीका लागि कतार जानुभएको थियो। त्यतिबेला सशस्त्र युद्ध सुरु भइसकेको थियो । त्यसैले कुलबहादुलाई ज्यान कसरी जोगाउने भन्ने कुराले सताउन थाल्यो ।

ज्यान पनि जोगिने अनि काम पनि पाइने सोचेर उहाँ २०५९ सालमा भारतको दिल्ली पुग्नुभयो। कुलबहादुरले होटलमा काम पाउनुभयो ।‘सुरुमा त उही त हो मस्काउने र चम्काउने काम’ आफूले गरेको काम कुलबहादुरले धक नमानी सुनाउनुभयो । घरको कान्छो छोरो । दुःख नगरेका कुलबहादुरलाई केही समय त भाँडा माझ्न गाह्रो पर्यो । तर घर फर्किने वातावरण थिएन । त्यसैले त्यही काममा रमाउन थाल्नुभयो ।

केही महिनामै उहाँको बढुवा भयो । हेल्परबाट काम थालेका कुलबहादुर कुक बन्नुभयो । एक वर्ष काम गर्दा केही कमाउनु पनि भयो । घरबाट बिहेको कुरा चलेपछि उहाँ बिदामाआउनुभयो । बिहे पछि श्रीमतीलाई छोडेर दिल्ली नै फर्किनुभयो ।

काममा काम अनि अनुभवमा अनुभव । कामले कुलबहादुरलाई होटल लाइनमा सिपालु बनाउँदै लग्यो । त्यही सीपले उहाँलाई ठूलो ठाउँमा काम गरेर धेरै कमाउने रहर जाग्यो । त्यसैले एक वर्षमा भारतको काम छोडर घर फर्किनुभयो ।

परिवारमा सदस्य थपिएर दुईबाट चार भए । छोरा र छोरी जन्मिएपछि कुलबहादुरका जिम्मेवारी मात्रै थपिएनन आवश्यकता पनि बढ्दै गए । उहाँ के गर्ने भनेर सोच्दै हुनुहुन्थ्यो । उहाँ आफन्त कतारमा थिए । उनीहरुले नै होटलमा काम गरेको मान्छेलाई राम्रो हुन्छ भन्दै कतार नै आउन भने ।

एक लाख रुपैयाँ लाग्ने सुनेका कुलबहादुुरलाई जाने हतारो लाग्यो । त्यसैले बुवा र कतारमा भएका दाइलाई भनेर एक लाख रुपैयाँ जुटाएर कतार जानुभयो । तर अवैधानिक रुपमा । २०६४ सालमाभारतको बाटो हुँदै कतार जाँदा कुलबहादुरलाई त्यो अवैधानिक हो भन्ने थाहा थिएन ।

ठूलो जहाजको पेटभित्र बसेर देखेकाठूल्ठूलासपना ५ सय रियालमा पो ठोक्कियो । उहाँले सोचेको त्यति मात्रै थिएन । त्यसैले परिवारको यादले खुब सताउँथ्यो । ‘बुवा–आमा, डेढ महिनाकी सुत्केरी अनि डेड बर्ष र डेड महिनाका दुधे सन्तानलाई छोडेर हिँड्दा कस्तो भको थियो होला सोच्नुस् त ?’ पैसाकै लागि खाडी छिरेका कुलबहादुरलाई घरको यादले दिन रात पिरोल्न थाल्यो । तरविकल्प पनि थिएन । काम गरेको महिना दिनमा तलब हात पर्यो तर जम्मा ५ सय रियाल मात्रै ।

खान बस्न होटलले नै दिँदा पनि २/३महिनामा मुस्किलले २०/२५ हजार रुपैयाँ मात्रै पठाउन सक्नुहुन्थ्यो त्यो पनि साथीहरुसँग मिलेर । ८ घण्टा काम भने पनि १२ घण्टासम्म खट्नुपथ्र्यो । मरुभूमीको ५५ डिग्रीसम्मको गर्मीले ज्यानबाट पसिनाको धारो बगेको अहिले जस्तो लाग्छ कुलबहादुलाई । ‘कुनैकुनै बेला त घर फर्किउँ जस्तो लाग्थ्यो’उहाँ भन्नुहुन्छ ।

तर दाइको परिवार छुट्इिसकेकाले परिवार चलाउनु पर्ने भएपछि कुलबहादुर फर्किन पाउनुभएन । विदेशमा २ वर्ष बित्यो । ऋण तिर्नुभयो । घर खर्च चल्यो । तर कमाएर जमाउने कुलबहादुरका सपना पूरा भएनन् ।

पैसा कमाउन नसकेका उहाँ हातमा सीप लिएर फर्किनुभयो । त्यतिबेलै उहाँले यही सीप प्रयोग गरेर कमाउँछु भन्ने सोच्नुभएको थियो । दुई वर्षपछि फर्किंदा उहाँसँग ६० हजार रुपैयाँ मात्रै थियो ।

विदेशबाट फर्किएपछि कुल बहादुरको परिवार गल्कोटबाट सदरमुकाम बाग्लुङ झर्यो । बुवाआमा चाहिँ आउन मान्नुभएन । श्रीमती र छोराछोरी लिएर हिँडेका उहाँले कोठा भाडामा लिएर ५० हजार रुपैयाँमा होटल सुरु गर्नुभयो ।

 

विदेशमा सिकेको सीप प्रयोग गरेर त्यो पनि परिवारसँगै बसेर काम गर्न पाउँदा कुलबहादुर खुसी हुनुभयो । ‘गर्दा यहीँ पनि हुँदो रैछ नी तर त्यतिबेला बुझिएन’ श्रीमतीसँगै बसेर गफिएका कुलबहादुरले गफमा गफ थप्दै जानुभयो ।

व्यवसाय सोचे भन्दा पनि फस्टाउँदै गयो । ५० हजारबाट शुरु गरेको होटलले महिनाको ५०हजार रुपैयाँ कमाइ हुन थाल्यो । ४ वर्षमा होटलबाट सोचे जस्तो कमाउनुभएको छ ।त्यही कमाईले उहाँले पोखरामा जग्गा पनि किन्नुभएको छ ।

व्यापार बढाउने अनि छोराछोरीलाई पढाउने चाहनाले कुलबहादुरलाई बाग्लुङबाट अहिले पोखरा ल्याइपुर्याएको छ । ठाउँ फेरिए पनि व्यवसाय भने उही छ । कमाई पनि उस्तै ।कुलबहादुरले अहिले पोखराको रानीपौवामा होटल चलाइरहनुभएको छ । ‘बाग्लुङकै जस्तो नभएपनि सबै खर्च कटाएर ४० हजार जति बचाउछौं ।’ कुलबहादुर भन्नुहुन्छ ।

ठाउँ ठूलो भएपछि त्यही अनुसारको सुविधा पनि दिनुपर्यो । त्यसैले उहाँले दुई जनालाई काम दिनुभएको छ । बेला बेला बुवाआमालाई भेट्न बाग्लुङ पनि जानुहुन्छ । अनि घर खर्च पनि दिएर फर्किनुहुन्छ ।

Facebook Comments

LEAVE A REPLY