लगानी गर्नेलाई सातवटै मुख्यमन्त्रीले सुरक्षा दिने प्रतिबद्धता

84

काठमाडौं । सातवटै प्रदेशका मुख्यमन्त्रीले उद्योगी व्यवसायीहरुलाई आ–आफ्नो प्रदेशमा आएर लगानी गर्नेलाई सुरक्षा दिने सार्वजनिक रुपमा प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले राजधानीमा गरेको एक कार्यक्रममा सहभागी सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले सो प्रतिबद्धता जाहेर गरेको हो ।
उनीहरुले अबका दिनमा काठमाडौं केन्द्रित व्यवसाय मात्र नभई प्रदेश तथा स्थानीय स्तरमा आएर व्यवसाय गर्न आग्रह गरेका हुन । मुख्यमन्त्रीहरुले आ–आफ्ना प्रदेशमा लगानीमैत्री वातावरण बनाएर उद्योग व्यवसाय गर्न चाहने उद्योगी व्यवसायीहरुका लागि सोही अनुरुप सुविधा समेत प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए । आर्थिक विकासको लागि अब विकेन्द्रिकरण जरुरी भएको भन्दै सोही अनुरुप लगानी विस्तार गर्न समेत उनीहरुले आग्रह गरेका छन् । चेम्बरको स्वागत तथा सम्मान कार्यक्रममा ४ नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले आफ्नो प्रदेशमा लगानी गर्न आउने उद्योगी व्यवसायीका लागि सुरक्षा र सहुलियत दुबै दिने घोषणा गरेका छन् । उनले भने,‘४ नम्बर प्रदेशमा जसले उद्योग संचालन गर्न चाहन्छ उनीहरुका लागि सहज रुपमा जमीन समेत उपलब्ध गराइने छ, लगानीको सुरक्षा ग्यारेन्टीका लागि व्यवसायीले चिन्ता लिनुपर्दैन त्यो जिम्मा सरकारको भयो ।’ यसैगरी ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले व्यवसायीहरुलाई उद्योग धन्दालाई केन्द्रमा मात्र सिमिति नराख्न आग्रह गरे । उनले भने,‘अब उद्योगी व्यवसायीहरुले प्रदेश स्तरमा पनि ठूला उद्योगहरु विस्तार गर्नुपर्छ, लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारको तर्फबाट के गर्नुपर्छ हामी तयार छौं ।’

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अबका दिनमा निजी क्षेत्रले प्रदेश सरकारले मिलेर काम गर्ने बताए । साथै देश प्रादेशिक संरचनामा गएसँगै चेम्बरले आफुलाई पनि सोही अनुरुप परिस्कृत गर्दै प्रादेशिक तथा स्थानीय संरचनामा लगेको जानकारी दिँदै सरकार र व्यवसायी मिलेर अघि बढ्नुपर्ने बताए । उनले भने,‘देशलाई आर्थिक रुपमा अघि बढाउन सरकार र निजी क्षेत्र मिलेर काम गर्नुको विकल्प छैन, जसका लागि सरकारले लगानीमैत्री वातावरण बनाइदिनुपर्छ व्यवसायीहरु आफै लगानी गर्न आउनेछन् ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अव कुरा गर्ने होइन, काम गर्ने समय आएको बताए । । प्रदेश नं प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा पछि परेको कर्णाली प्रदेशको विकास आफनो मुख्य एजेन्डा रहेको बताउँंदै पिछडिएको प्रदेश भएकोले अवसरै अवसर देखेर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भटले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँंग सहकार्य गर्न आफूहरु सवैजना तत्पर रहेको बताए ।
चेम्बरले ‘संघीय संरचनामा आर्थिक समृद्धिका अवसर’ नाराका साथ नवनिर्वाचित मुख्य मन्त्रीहरुको सम्मानमा बुधबार गरिएको अभिनन्दन कार्यक्रम गरेको हो । चेम्वरका अध्यक्ष श्रेष्ठले जहाँं अधिकतम सुविधा छ, त्यही निजी क्षेत्रले लगानी गर्ने र लगानीले नै स्थानीय रोजगारी सृजना गरी राजश्व पनि बुझाउने भएकोले यसतर्फ मुख्यमन्त्रीहरुको ध्यानाकर्षण गराए । प्रदेश अनुसार नेपालमा पर्यटन, हाइड्रो, कृषि, जडिवुटी, खानी, उत्पादनशिल उद्योगको सम्भावना वढी रहेको चर्चा गर्दै सवै प्रदेशमा पर्यटनको सम्भावना भएकाले यसतर्फ पनि ध्यान जानुपर्नेमा जोड दिए । मुलुक संघीय व्यवस्थामा गएसँंगै नेपाल चेम्वर अफ कमर्सले पनि सोही अनुसार विधान संशोधन गरी गाउँं, नगर, जिल्ला र प्रदेश चेम्वर अफ कमर्स बनाएको जानकारी दिंदै अव चेम्वरले स्थानीयस्तरसम्म बृहत आर्थिक बहस कार्यक्रम सुरु गर्ने र सरकारी निकायसँंग समन्वय गरी अगाडि वढ्ने योजना रहेको जानकारी दिए ।

Facebook Comments

LEAVE A REPLY