बाँदरले दुःख दिएपछि किसानले गरे स्थानीय सरकारसँग पुनर्वास माग

97

बाँदरले वर्षेनी दुःख दिइरहेको भन्दै जिल्लाका किसानले अन्यत्रै पुनर्वास गरिदिन माग गरेका छन् ।

 

वर्षेनी बाँदरले बालीनाली खाइदिएर समस्या बेहोर्दै आएका किसानले पुनर्वासको माग गरेका हुन्। बाँदरले दुःख दिएपछि समस्या लिएर जिल्ला प्रशासन कार्यालय पुग्ने किसानले अहिले गाउँगाउँमा पुगेका स्थानीय सरकारलाई बाँदरले निम्ल्याएका समस्या समाधान गर्न माग गरेका हुन्।

तमोर तटीय क्षेत्रका गाउँ तथा ठूला जंगलका नजिकै रहेका बस्तीमा बाँदरले दुःख दिने गरेका छन्। छथर गाउँपालिकाका हमरजुङ, फाक्चामारा र पञ्चकन्याका किसानले आफूहरूलाई बाँदरले वर्षेनी दुःख दिइरहेको भन्दै अन्यत्रै पुनर्वास गरिदिन स्थानीय सरकारलाई माग गरेका छन् । यता लालीगुराँस नगरपालिकाका किसानले पनि बाँदरबाट निम्तिएका समस्या सुल्झाइदिन माग गरेका छन्।

आठराई र फेदाप गाउँपालिकामा पनि बाँदरले सताएको भन्दै किसान गाउँपालिका पुगिरहेका छन्। म्याङलुङ नगरपालिकाका केही बस्तीमा पनि यो समस्या छ। आफूहरूले लगाएको कृषिबाली बाँदरले खाएर थन्क्याउन नदिएको, भगाउन जाँदा लडेर घाइते भएको र गाउँमा खाद्यान्न संकट हुने गरेको भन्दै पीडित किसानले आफूहरूलाई व्यवस्थापन गर्नुपर्ने माग अघि सारेका हुन्।

यी गाउँमा बाँदरको आतंककै कारण वर्षेनी बसाइँ हिँड्नेहरुको संख्यासमेत उच्च छ। बाँदर आतंकले हैरान भएर गाउँ रित्तै बन्न थालेको छथर गाउँपालिका–२, हमरजुङका किसान भीमबहादुर थापाले बताए।

बाँदरलाई तर्साएर भगाउन हतियार प्रयोग गर्न पाइँदैन, लठ्ठीले खेदाए आफैँमाथि जाइलाग्छन्’ उनी भन्छन् ‘कि बाँदर मार्नुपर्‍यो कि हामीलाई अन्यत्रै लगेर बासको व्यवस्था गर्नुपर्‍यो।’ बाँदरले घरभित्र राखेको अन्न र चामलसमेत लगेर खाइदिने गरेको उनले बताए।

यी गाउँका बासिन्दा गत वर्ष बाँदरबाट भएका समस्या सुनाउन सदरमुकाम आएका थिए। यही समस्या लिएर गाउँपालिका पनि धाउने गरेका छन्। बाँदरले किसानका हिउँदे, बर्खे दुवै बाली नष्ट गर्ने गरेको आठराई गाउँपालिका–४ का कमल प्रसाईले बताए।रासस

Facebook Comments

LEAVE A REPLY