​पर्यटकको आकर्षण बन्यो चितवनको ‘धर्मधाम’

195

चितवनको रत्ननगर नगरपालिका–११, जिरौनामा ५० वर्ष पुरानो श्री कृष्ण प्रणामी मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक संरचनासहितको ‘धर्मधाम’ बनाइएपछि पर्यटकको आकर्षण बढेको छ  ।

२०२४ सालमा स्थापना भएको मन्दिर जीर्ण बन्दै गएपछि १२ वर्ष लगाएर धर्मधाम बनाइएको हो । शिखर गुम्बज शैलीमा निर्माण गरिएको ‘धर्मधाम’ अवलोकन र दर्शनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउन थालेका छन् ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाबाट ६ किलोमिटर दूरीमा रहेको सो स्थलमा धर्मधामको रुपमा मन्दिर बनाइएपछि पर्यटक बढ्दै गएका छन् ।  मुठीदान संकलन गरेर सुरु गरिएको मन्दिर धर्मधाम बनाउदा ६ करोड रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजक श्याम बरालले बताउनुभयो । ‘१२ वर्ष अगाडि मुठीदान मार्फत सहयोग उठाएका थियौं’, उहाँले भन्नुभयो ‘राम्रो काम हुँदै जाँदा पछि धेरैले सहयोग गर्नुभयो ।’

 

धर्मधाममा अत्याधुनिक भव्य मन्दिरसँगै यज्ञ मण्डप, विवाह मण्डप, वृद्धाश्रम, भोजनालय, पानीका फोहोरासहितको मनोरम दृश्य स्थल बनाइएको छ । मुख्य मन्दिरभित्र राधाकृष्णको मूर्तिसहित आधुनिक र परम्परागत रुपमा कुँदिएका झ्याल–ढोका, भित्तामा कुँदिएका धार्मिक, मनोरम दृश्यसहितको सून्दरता रहेको छ ।

 

पन्ध्र कट्ठा सात धुर क्षेत्रफलमा श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाले मन्दिरलाई परम्परा र आधुनिकताको संयोजन धर्मधाम निर्माण गरेको हो । जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै धार्मीक पर्यटकलाई लक्षित गरी धर्मधाम निर्माण गरिएको जानकारी दिँदै बरालले नेपाल, भारतलगायत अन्य राष्ट्रबाट समेत सन्त, महन्तले धामको अवलोकन गरेका र आन्तरिक रुपमा पर्यटकहरु हरेक दिन आउने गरेको बताउनुभयो ।

धर्मधाम भ्रमणका लागि आउने पर्यटकले मनिखोला, बुलबुले ताल, गैँडाताल, शान्तिकुञ्ज पार्क, सिराइँचुली, उपरदाङ्गडीलगायतका धेरै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

धर्मधामको उद्घघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले  २०७४ साल फागुन ८ गते गर्नुभएको थियो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले रत्ननगरमा बनेको धर्मधामलाई पर्यटकीय नगरी सौराहासँग जोडेर जिल्लामा आउने पर्यटकको बसाइ लम्ब्याउन कार्यक्रम सुरु गर्ने बताउनुभयो ।

धर्मधाम भित्र प्रवेश गर्ने चारवटा ढोका छन् । ढोकाका पल्लाहरुमा प्रणामी धर्मका प्रवर्तक संवद्र्धक गुरूमहाराजहरुका तस्बिर र नवतनपुरी, महामंगलपुरी, पद्यावतीपुरी धामका मन्दिरहरुको हुबहु स्वरुप कुँदिएको छ । मन्दिरको चारैतिर भित्तामा श्रीकृष्णका विविध लीलाहरु, प्रणामी धर्म उत्पत्तिका ऐतिहासिक झाँकीहरु रंगीन काँचका टुक्राहरु जोडेर सुन्दर बनाइएको छ ।

मन्दिरको सिलिङमा भगवान् कृष्णले वृन्दावनमा सखीहरुसँग खेलेको रासलीलाको झलक उतारिएको छ । भित्री भाग र परिक्रमा परिसरको भित्तामा रंगीन सीसा जडान गरी सजाइएको छ । दुुईतले यस मन्दिरमा चारवटा होचा र एउटा अग्लो स्वर्णिम गजुरले मन्दिरको शोभा बढाइएको छ ।

Facebook Comments

LEAVE A REPLY