संरक्षणमा समस्या बन्दै माइकेनिया

143

चितवन, विश्वभरका संरक्षित क्षेत्रमा समस्या बन्दै गएको मिचाहा प्रजातिको झार माइकेनिया नेपालका निकुञ्ज, आरक्ष, वन र कृषि उत्पादन हुने क्षेत्रमा पनि समस्याका रुपमा देखिएको छ ।

माइकेनियाले दुर्लभ वन्यजन्तु एकसिंगे गैँडामा पार्ने प्रभावका विषयमा विद्यावारीधि गर्नुभएका डा नरेश सुवेदीका अनुसार वनका अन्य प्रजाति र वन्यजन्तुका लागि माइकेनिया हानिकार रहेको छ । यो झार विषालु भएकाले जनावरको पाचन प्रणालीमा समस्या उत्पन्न गराउँछ ।

हिउँदको समयमा गैँडा लगायतका जनावरले माइकेनिया खाने गरेको पाइएको छ । “माइकेनिया हानिकारक झार हो, झारमा रहेको रसायनले अरू घाँस र रूखबिरुवालाई पनि मार्छ,” सुवेदीले भन्नुभयो । आफू फैलँदै जाने र अरूलाई बेरेर मार्ने हुँदा वन्यजन्तुका लागि घाँसेमैदान व्यवस्थापन गर्न कठिन हँुदै गएको छ । नेपालको कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्षलगायतका निकुञ्ज र आरक्षमा यो प्रजाति समस्याका रुपमा रहेको सुवेदीले बताउनुभयो ।

माइकेनियासँगै सेतो वनमारा, रातोवनमारा, जलकुम्भी लगायतका मिचाहा प्रजातिले संरक्षित क्षेत्रमा समस्या बढाएको छ । बाघको आहारा र गैँडाका आहारा प्रजातिका लागि यी झार समस्याका रुपमा देखिएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको १२ प्रतिशत भूभाग घाँसेमैदान रहेको छ । घाँसेमैदानको १० प्रतिशतभन्दा बढीमा माइकेनियाले असर पारेको छ । यसले जमिनलाई चिस्यान बनाउने, गर्मीमा शीतलता दिने, जाडोको समयमा न्यानो बनाउने, जनावर र चराचुरुङ्गीलाई बच्चा जन्माउन सहज बनाउने, मृग प्रजातिलाई बच्चा लुकाउन पाउने भए पनि यसको व्यवस्थापन चुनौतीपूर्ण रहेको कँडेलले बताउनुभयो ।

निकुञ्जको पूर्वी क्षेत्रमा माइकेनियाको प्रभाव बढी छ । हरेक वर्ष घाँसेमैदान व्यवस्थापन गर्दा सो क्षेत्रमा रहेका माइकेनिया संकलन गरेर डढाउने गरिन्छ । अर्ना राखिएको खुल्ला खोरभित्र रहेको माइकेनिया हटाउने काम भइरहेको छ । डा सुवेदी गैँडाको बासस्थान बढाउने काममा माइकेनिया बाधक बनेको बताउनुहुन्छ ।

दक्षिण अमेरिकाबाट माइकेनिया झार फैलिएको बताइन्छ । दोस्रो विश्वयुद्धताका भारतमा सुरक्षाकर्मीले यही वनमारा लगाएर लुक्ने काम गरेको भन्दै सुवेदीले चियाका बिरुवा ल्याउँदा नेपालको इलाम हँुदै देशभर फैलिएको अनुमान गरिएको बताउनुभयो । घाँससँगै र बाढीका कारण एक ठाउँबाट अर्को ठाउँमा यो फैलने गरेको छ । आगलागीपछि अन्य झार मर्ने तर यो पुनः पलाएर फैलने गर्छ । उमार र फैलिने शक्ति बढी भएका कारण अन्य झारभन्दा यो छिट्टै फैलिने गर्दछ ।

Facebook Comments

LEAVE A REPLY