माता, पिता र गुरूको सेवा (महाभारत–चिन्तन)

20
newsabhiyan

डा. मतिप्रसाद ढकाल, धर्मको मार्ग अत्यन्त ठूलो छ र यसका अनेकौँ शाखाहरु छन् । यीमध्ये कुन धर्म विशेषरुपले आचरणमा ल्याउन योग्य छ अनि सबै धर्ममध्ये कुन कार्य श्रेष्ठ छ जसको अनुष्ठान गरेर यस लोकमा र परलोकमा पनि धर्मको फल प्राप्त गर्न सकिन्छ ? भन्ने युधिष्ठिरको जिज्ञासालाई समाधान गर्ने सन्दर्भमा भीष्मले माता, पिता र गुरूको सेवाको मह¤व बताएका छन् ।

माता, पिता र गुरूजनहरुको पूजा वा सेवा नै अधिक मह¤वको वस्तु मानिन्छ । यस पुण्यकार्यमा संलग्न भएर मान्छेले यस लोकमा महान् यश र श्रेष्ठता प्राप्त गर्दछ । राम्रोसित पूजित भएका माता, पिता र गुरूजनले जुन काम गर्न आज्ञा दिन्छन् त्यो धर्मको अनुकूल वा धर्मको विरूद्ध भए पनि त्यसको पालना गर्नुपर्छ–

यच्च तेऽभ्यनुजानीयुः
कर्म तात सुपूजिताः ।
धर्माधर्मविरूद्धं वा
तत् कर्तव्यं युधिष्ठिर ।।
(महाभारत, १२।१०८।४)

जो उनीहरुको आज्ञापालनमा संलग्न छ उसका लागि दोस्रो कुनै धर्मको आचरण गर्नुपर्ने आवश्यकता छैन किनभने जुन कार्यका लागि उनीहरुले आज्ञा दिन्छन् त्यही धर्म हो भन्ने बारेमा धर्मात्माहरुले निश्चय गरेका छन् । माता, पिता र गुरूजन नै तीन लोक हुन्, यिनै तीन आश्रम हुन्, यिनै तीन वेद हुन् र यिनै तीन अग्नि हुन् । पिता गार्हपत्य अग्नि हुन्, माता दक्षिणाग्नि मानिएकी छन् र गुरू आहवनीय अग्निका स्वरुप हुन् । लौकिक अग्निहरुभन्दा माता, पिता आदि त्रिविध अग्निहरुको गौरव अधिक छ ।

त्रिष्वप्रमाद्यन्नेतेषु
त्रींल्लोकाँश्च विजेष्यति ।
पितृवृत्त्या त्विमं लोकं
मातृवृत्त्या तथापरम् ।।
ब्रह्मलोकं गुरोर्वृत्त्या
नियमेन तरिष्यसि ।
(पूर्ववत्, १२।१०८।८–९)

अर्थात् यदि तिमीले यी तीनै लोकहरुको सेवामा कुनै भूल गरेनौ भने तिमीले तीनै लोकलाई जित्नेछौ । पिताको सेवाद्वारा यसलोकलाई, माताको सेवाद्वारा परलोकलाई र नियमपूर्वक गुरूको सेवाद्वारा ब्रह्मलोकलाई पनि पार गर्नेछौ वा प्राप्त गर्नेछौ । त्यसैले तिमीले त्रिविध लोकस्वरुप यी तीनैप्रति उत्तम व्यवहार गरेका खण्डमा तिम्रो कल्याण हुनेछ । यसो गर्नाले तिमीलाई यश र महान् फल दिनेवाला धर्मको प्राप्ति पनि हुनेछ ।

सर्वे तस्यादृता लोका
यस्यैते त्रय आदृताः ।
अनादृतास्तु यस्यैते
सर्वास्तस्याफलाः क्रियाः ।।
(पूर्ववत्, १२।१०८।१२)

अर्थात् जसले यी तीनैको आदर ग¥यो त्यसद्वारा सम्पूर्ण लोकहरुको आदर गरिएको ठहरिनेछ र जसले यिनको अनादर ग¥यो उसका सम्पूर्ण शुभकर्महरु निष्फल हुन्छन् । जसले यी तीनैको सदैव अपमानमात्र गरेको छ उसका लागि न यो लोक सुखद छ न त परलोक नै सुखद हुनेछ ।

न यसलोकमा र न परलोकमा नै उसको यश प्रकाशित हुन्छ । परलोकमा जो अन्य कल्याणमय सुखको प्राप्ति बताइएको छ त्यो पनि उसका लागि सुलभ हुँदैन । मैले त सम्पूर्ण शुभ कर्म गरेर यी तीनै गुरूजनहरुलाई समर्पित गरिदिन्थेँ जसका कारण मेरा ती सबै शुभकर्महरुको पुण्य सय गुना र हजार गुना बढेको छ । यसकै आधारमा तीनै लोक मेरा दृष्टिका सामुन्ने प्रकाशित भइरहेका छन् भनेर भीष्मले युधिष्ठिरलाई बताउँछन् ।

आचार्य सदैव दश श्रोत्रिय (वेदाध्यायी) भन्दा ठूला हुन्छन् । उपाध्याय (विद्यागुरू) ले दश आचार्यभन्दा बढ्ता मह¤व राख्छन् । पिता दश उपाध्यायभन्दा ठूला हुन्छन् भने आमाको मह¤व दश पिताहरुभन्दा पनि बढी छ । उनी एक्लै आफ्नो गौरवद्वारा सारा पृथ्वीलाई समेत तिरस्कृत गर्न सक्छिन् ।

‘नास्ति मातृसमो गुरूः’ (पूर्ववत्, १२।१०८।१८) अर्थात् आमासमान अर्को कुनै गुरू नै छैन । परन्तु मेरा विचारमा गुरूको पद त पिता र माताभन्दा पनि ठूलो छ किनकि माता–पिता त केवल शरीरलाई जन्म दिनका लागि उपयोगमा आउँछन् । आमाबुबाले त केवल शरीरलाई मात्र जन्म दिन्छन् परन्तु आचार्य वा गुरूको उपदेश प्राप्त गरेर जुन द्वितीय जन्म हुन्छ त्यो दिव्य छ,

अजरअमर छ–
शरीरमेव सृजतः
पिता माता च भारत ।।
आचार्यशिष्टा या जातिः
सा दिव्या साजरामरा ।
(पूर्ववत् १२।१०८।१९–२०)

आमाबुबाले जुनसुकै अपराध गरे तापनि उनीहरु सदैव अवध्य नै छन् किनकि पुत्र वा शिष्य माता, पिता र गुरूको अपराध गरेर पनि उनीहरुका दृष्टिमा दूषित हुँदैनन् । उनीहरुले पुत्र वा शिष्यमाथि स्नेहवश दोषारोपण गर्दैनन् अपितु उनीहरुले सदैव उसलाई धर्म वा अनुशासनको मार्गमा नै लैजाने प्रयत्न गर्दछन् । यस्ता माता, पिता आदि गुरूजनहरुको मह¤व त महर्षिहरुसहित देवताले नै जान्दछन् ।

जसले सत्य कर्मद्वारा र यथार्थ उपदेशद्वारा पुत्र या शिष्यलाई सुरक्षाकवचले जस्तै ढाक्छन्, सत्यस्वरुप वेदको उपदेश दिन्छन् र असत्यको रोकथाम गर्छन् त्यस्ता गुरूलाई नै माता र पिता सम्झी उनले गरेको उपकारलाई बुझेर कहिल्यै पनि उनीसँग द्रोह गर्नुहुँदैन । जसले विद्या पढेर गुरूको आदर गर्दैनन्, नजिकमा रहेर मन, वचन र कर्मद्वारा गुरूको सेवा गर्दैनन् उनीहरुलाई गर्भमा रहेका बालकको हत्या (भ्रूणहत्या) भन्दा पनि बढ्ता पाप लाग्छ र संसारमा त्यसभन्दा ठूलो पापिष्ठ कोही हुँदैन–

विद्यां श्रुत्वा ये गुरूं नाद्रियन्ते
प्रत्यासन्ना मनसा कर्मणा वा ।
तेषां पापं भ्रूणहत्याविशिष्टं
नान्यस्तेभ्यः पापकृदस्ति लोके ।।
(पूर्ववत्, १२।१०८।२३)

जसरी शिष्यलाई आत्मोन्नतिको मार्गमा पु¥याउन गुरूको कर्तव्य रहन्छ त्यसरी नै गुरूहरुको पूजा वा सेवा गर्नु शिष्यहरुको धर्म हो । तसर्थ, पुरातन धर्मको फल पाउन चाहने पुत्र वा शिष्यले गुरूजनहरुको पूजाअर्चना गर्नुपर्छ र प्रयत्नपूर्वक उनीहरुलाई आवश्यक वस्तुहरु प्रदान गर्नुपर्छ । मान्छेले जुन कर्मद्वारा पितालाई प्रसन्न गर्छ त्यसबाट प्रजापति ब्रह्मा पनि प्रसन्न हुन्छन् । ‘प्रीणाति मातरं येन पृथिवी तेन पूजिताः’ (पूर्ववत्, १२।१०८।२५) अर्थात् जसले जुन व्यवहारद्वारा आमालाई प्रसन्न पार्छ त्यसद्वारा सम्पूर्ण पृथ्वीको पनि पूजा हुन्छ ।

जुन कर्मद्वारा शिष्यले आफ्ना विद्यादाता गुरू (उपाध्याय) लाई प्रसन्न गर्छ त्यसद्वारा परब्रह्म परमात्माको पूजा सम्पन्न हुन्छ । ‘मातृतः पितृतश्चैव तस्मात् पूज्यतमो गुरूः’ (पूर्ववत्, १२।१०८।२६) अर्थात् त्यसैले आमा र बुबाभन्दा पनि गुरू अधिक पूजनीय हुन्छन् । गुरूहरु पूजित भएका खण्डमा पितृहरुसहित देवता र ऋषिहरु पनि प्रसन्न हुन्छन् । तसर्थ गुरू परम पूजनीय मानिएका हुन् ।

कुनैपनि व्यवहारका कारण गुरू अपमान गर्न योग्य हुँदैनन् । त्यसैगरी आमा र बुबा पनि अनादरको योग्य छैनन् । जसरी गुरू माननीय र पूजनीय छन् त्यसैगरी आमा र बुबा पनि माननीय र पूजनीय छन् । यी तीनैजना कहिल्यै पनि अपमानका योग्य छैनन् । उनीहरुले गरेका कुनैपनि कार्यको निन्दा गर्नुहुँदैन । गुरूजनहरुको यस किसिमको सत्कारलाई देवता र महर्षिले पनि आफ्नो सत्कार मान्दछन् ।

गुरू, माता र पिताप्रति जसले मन, वचन र कर्मद्वारा द्रोह गर्छन् उनीहरुलाई भ्रूणहत्याभन्दा पनि ठूलो पाप लाग्छ । संसारमा त्यसभन्दा ठूलो अर्को कुनै पापी छैन । जो माता–पिताको औरस पुत्र हो र पालनपोषण गरेर जसले ठूलो बनाइदिए त्यसले यदि आफ्ना मातापिताको भरणपोषण गर्दैन भने त्यसलाई भ्रूणहत्याभन्दा पनि ठूलो पाप लाग्छ र संसारमा त्यसभन्दा ठूलो पापिष्ठ कोही हुँदैन–

भृतो वृद्धो यो न विभर्ति पुत्रः
स्वयोनिजः पितरं मातरं च ।
तद् वै पापं भ्रूणहत्याविशिष्टं
तस्मान्नान्यः पापकृदस्ति लोके ।।
(पूर्ववत्, १२।१०८।३१)

मित्रद्रोही, कृतघ्न, स्त्रीहत्यारा र गुरूघाती यी चारप्रकारका पापिष्ठहरुका पापको कुनै प्रायश्चित छैन । उपर्युक्त सबै कुराहरु यस संसारमा पुरूषले अनिवार्यरुपमा पालना गर्नुपर्छ । यही कल्याणकारी मार्ग हो । यसभन्दा अर्को कुनै कर्तव्य छैन । सम्पूर्ण धर्मको अनुसरण गरेर यहाँ सबैको सार बताइएको छ ।

तसर्थ माता, पिता र गुरूलाई सर्वोच्च ठानेर उनीहरुको सेवा गर्नाले नै यसलोकमा र परलोकमा समेत वास्तविक सुख प्राप्त गर्न सम्भव देखिन्छ । (सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपुर) चितवन पोष्टका साथमा । 

Facebook Comments

LEAVE A REPLY