विदेशबाट फर्केर कृषिमा

33

पाल्पा / युएईमा नेपालीको हितमा काम गर्ने पाल्पाली समाज युएईका महासचिव धनबहादुर क्षेत्रीले विदेशबाट फर्केर कृषिफार्म सञ्चालनमा ल्याउनुभएको छ ।

युएईमा १३ वर्षसम्म काम गर्नुभएका  क्षेत्रीले कृषिफार्म तथा भान्साघर सञ्चालनमा ल्याउनुभएको हो । सन् २००३ देखि २०१८ सम्ममा युएईमा कुकम्यान (खाना पकाउने मान्छे) का रूपमा काम गर्नुभएको थियो ।

पाल्पा बगनासकाली गाउँपालिका–७ कहलाबारीका क्षेत्रीले अधिकांश समय पैसाका लागि विदेशमै खर्चनुभयो । विदेशमा महासचिवको हैसियतमा काम, दाम र नाममा कमी थिएन तर, महासचिवका हैसियतले विदेशमा रहनुभन्दा स्वदेशमा नै केही काम गर्नुपर्छ भनेर विदेशको ६०÷७० हजारको मासिक आम्दानी छाडेर उहाँ स्वदेश फर्कनुभयो ।

विदेशबाट फर्केर गाउँपालिका–७ को गाईघाटमा स्वदेशमा नमस्ते कृषिफार्म तथा भान्साघर सञ्चालन गर्नुभयो । उहाँको भान्साघरमा जैविक खाना तथा खाजा खान पाउने सुविधाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । करीब दुई महीना अघिदेखि भान्साघर सञ्चालनमा आएको हो । कृषिफार्मको काम अघिदेखि सञ्चालन आए पनि भान्सा ढिलो गरी सञ्चालनमा ल्याइएको हो ।

गाईघाट नेपालको ताजमहलका रूपमा परिचित प्रेमको प्रतीक रानीमहल जाने सडकमा पर्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई स्वच्छ, ताजा खाजा खुवाउन पाउँदा क्षेत्री पनि खुशी देखिनुहुन्छ । स्वदेशमा केही गर्दा युवालाई रोजगारी सिर्जना हुने र केही पैसासमेत आम्दानी हुने भएपछि विदेश छाडेर स्वदेशमा श्रीमतीका साथ नयाँ व्यवसाय अँगालेको उहाँको भनाइ छ ।

कृषिफार्म उस्तै मेहनत

करीब रु दश लाखमा कृषिफार्म तथा भान्साघर सञ्चालित छ । कृषिफार्ममा करीब २० रोपनी जग्गामा स्थानीय प्रजातिका मौसमी तथा बेमौसमी तरकारी बाली उत्पादन भइरहेका छन् । गोलभेँडा, काउली, खुर्सानी, आलु, प्याज, लसुनलगायतका स्थानीय जातका तरकारी खेतमा उत्पादन भइरहेको छ । जैविक तरकारी उत्पादनका लागि श्रीमान् र श्रीमती नै खटिनुहुन्छ । तरकारी उत्पादनले बाह्रै महीना हरियाली हुँदा निकै सुन्दर यस क्षेत्रमा पर्यटक टहलिन्छन् ।

भान्सामा स्थानीय स्वाद

स्थानीय जातका परिकार नमस्ते कृषिफार्म तथा भान्साघरमा पाक्छ । ग्रामीण क्षेत्रमा बसोबास गरी शहरमा बसोबास गर्न बाध्य भएकाले गाउँघरको झल्को मेटाउँछन् । भान्साघरमा कोदो, फापर, मकै, रोटीको परिकार पाइन्छ । ढिँडो, गुन्द्रुक, मसौरा, ‘लोकल’ कुखुरा, खसीबोका, माछाको स्वाद लिन पर्यटकसँगै स्थानीय बासिन्दा पनि त्यहाँ पुग्छन् । दूध, दही, घिउको स्वादले पर्यटक सधैँ यतातिर तानिन्छन् । गुन्द्री र काम्लोमा बसेर पर्यटकलाई खाना खुवाउने व्यवस्था छ । पर्यटकले स्थानीय जातका कुखुरा, खसीबोका खोरबाट रोज्न पाउँछन् ।

माछामा सबैको नजर

माछा खान चाहना भएकालाई पोखरीको माछा निकालेर खुवाउने व्यवस्था छ । जसका कारण ताजा माछा खान पाउने भएपछि मानिस त्यहाँ पुग्छन् । यसरी दैनिक मानिस कृषिफार्मको अवलोकनसँगै जैविक खाजा खान त्यहाँ पुग्छन् । अहिले त्यस क्षेत्रका मानिस माछापालनको अवलोकन गर्नसमेत पुगेको भेटिन्छ ।

क्षेत्रीले एउटा घरमा मिनी सङ्हग्राहलय पनि सञ्चालनमा ल्याउनुभएको छ । सङ्ग्रहालयमा प्राचीनकालीन सिक्का देख्न पाइन्छ । विदेशी पर्यटकका लागि हलो, जुवा, ढिकी जाँतो, हतासोलगायतका परम्परागत प्रविधिप्रति आकर्षक छन् ।

करीब दुई वर्षअघि सञ्चारकर्मी वसन्त कुँवरले गाईघाटमा रिसोर्ट सञ्चालनमा ल्याएसँगै त्यस क्षेत्रमा खाजा घरहरु बढेका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो खाजा खाने र केहीबेर टहलिन सहज भएको छ । स्थानीय बासिन्दा साँझ बिहान त्यहाँ आउँदा रमणीय क्षेत्रका रुपमा बदलिएको छ ।

Facebook Comments

LEAVE A REPLY