हेलम्बुलाई आत्मनिर्भर बनाउँछु

73

निमाग्याल्जेन लामा अध्यक्ष, हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक



SALT TRADING CORPORATION LTD INNER PAGE

सिन्धुपाल्चोक जिल्लाको साविकको हेलम्बु गाउँ विकास समिति–१ मा ४६ वर्ष अघि जन्मिएका निमाग्याल्जेन शेर्पा स्कुल जीबनमा खासै राजनीतिमा सकृय व्यक्ती होइनन् । उनले माध्यामिक कक्षा सकिएपछि सुरु गरेको छोटो अबधिमै राजनीति क्षेत्रमा ठूलो फड्को मार्न सफल भएका व्यक्ती हुन । उनको जीवनकालमा धेरै संघर्ष पनि गरे, ति सघर्षमा उनी प्राय झिनो जितमात्रको सफलता पाएका छन् । प्रायः हसिलो मुहारमा बोल्ने गरेका शेर्पा सबै संघर्ष दुःखलाई मुहारमा हरदम मुस्कानसंगै लुकाई बोल्ने गरेकै कारण आमजनताको समर्थन उनले पाएका छन् । यिनै संघर्षशील, कर्मठ युवा अहिले हेलम्बु गाउँपालिकाको अध्यक्षमा एमालेका युवा तथा चर्चित नेता हस्तबहादुर पण्डितलाई हराउदै भारीमतले विजय भए । सानै उमेरमा राजनीतिमा प्रवेश गरेका शेर्पा सरस्वती माध्यामिक विद्यालय ग्याल्थुममा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध भएका थिए । विद्यार्थीकालमा खासै राजनीतिकमा सकृय नभएका शेर्पा माध्यामिक विद्यालय तह सकिएसंगै अर्थात २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिई सक्रिय राजनीतिमा होमिएका थिए । २०५४ सालमा हेलम्बु– १ बाट चुनावमा विजयी भई वडा सदस्य समेत भए । जिल्ला विकास समितिको सदस्य बन्न सफल भए । २०६४ मा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. ३ नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्षमा सभाषद्को उम्मेदवार समेत बनेका थिए । तर सो समयमा हार बेर्होर्नु परेको थियो । २ पटक नेपाली कांग्रेसको महासमिति सदस्य भईसकेका उनी अहिले समृद्ध र नमुना गाउँपालिका बनाउने अभियानमा लागेका छन् । यसै विकासका गतिविधि, चुनौती र समधानका साथै स्थानीय जनतासमक्ष गरेका बाचाहरु कसरी पुरा गर्दै हुनुहुन्छ भन्नेबारे आर्थिक दैनिकका रोशन कार्कीले शेर्पासंग गरेको कुराकानीको सम्पादित अंश :

दुई वर्षको अवधिमा गाउँपालिकाका लागि के गर्नुभयो ?

हामीले नयाँ कार्यविधि र नयाँ तवरबाट काम गर्नुपर्ने भएकाले कामभन्दा पनि काम गर्ने कार्यविधि र ऐन कानुन बनाउनुपर्नेछ । सुरुमा सोही कार्य गर्दै आफूले चुनावमा गरेको वाचालाई समेत अगाडि बढाउँदै गएको छु । यो अवधिमा राम्रा कामको सुरुवात मात्र गर्न सकिन्छ । मैले विभिन्न सुधारका कार्यहरुको सुरुवात गरेको छु । स्थानीय निकाय नभएर अस्तव्यस्त भएको जुन अवस्था थियो त्यसलाई ‘ट्रयाक’ मा ल्याउने काम गरिरहेको छु । बजेट विनियोजन, सरकारी कार्यालयलाई चुस्त दुरुस्त बनाउन विद्युतीय हाजिरी प्रणालीको सुरुवात गरेको छु । 

‘हाम्रो अभियान, नमुना हेलम्बु गाउँपालिका निर्माण’ भन्ने नाराअनुसार कामहरु भइरहेका छन् त ?

सोही नाराअनुसार नै काम भइरहेको छ । यस नारालाई सार्थक बनाउन सबै क्षेत्रका साथीहरुको खबरदारी पनि जरुरी छ । नारा, योजना अनुरुप काम भइरहेको छ कि छैन भन्ने कुरा औंल्याउने काम सञ्चारक्षेत्र, स्थानीय बासिन्दा, सरकारी निकाय सबैले गर्नुपर्छ । नमुना काम भनेको भनेको ‘सिस्टम’ मा सुधार ल्याउने हो । त्यसका लागि भ्रष्टाचारशून्य गाउँँपालिका बनाउन जरुरी छ । सोही कार्यालाई पहिलो प्राथमिकताअनुसार भ्रष्टाचार निर्मुल बनाउने काममा कडाइका साथ लागेको छु । शिक्षा, सडकको क्षेत्रमा परिवर्तन ल्याउन जरुरी छ । यो कुरामा म हरतरहले लागिरहेको छु ।

यसको उपलब्धि अहिले प्रायः पूरा हुँदै गएको छ । जबसम्म विकासको बजेट खर्च हुन सक्दैन तब संरचनाहरु बन्न सक्दैन, विकास हुन सक्दैन । त्यसैले हेलम्बु गाउँँपालिकामा काम भएन भनेर फर्किएर जाने वातावरण नबनोस् भनेर प्रत्येक वडामा उपभोक्ता समितिहरुको गठन गरिसकेका छौँ । कतिपय योजनाहरु सम्झौता भएर काम पनि सुरु भइसकेको छ । चैत मसान्तभित्र सम्झौता भएर काम सुरु भएन भने त्यसलाई खारेज गरेर अर्को योजनामा हाल्ने भनेर गाउँँपालिकाले नीति नै निर्माण गरेका कारण सम्झौता भइसकेको छ र काम पनि अन्तिम चरणमा पुगेको छ । 

हेलम्बु गाउँपालिकालाई नमुना बनाउन तपाईंका मुख्य योजनाहरु चाहिँ के–के छन् ?

प्रत्येक वडामा एउटा खेल मैदान, एउटा टोलमा एउटा बगैंचा, वर्षमा एक इन्जिनियर उत्पादन गर्ने, प्राविधिक शिक्षालयको स्थापना, राष्ट्रिय अन्तर्राष्ट्रिय नाका जोड्ने, पर्यटकीय स्थल बनाउन पहल गर्ने योजना छ । नमुना गाउँँपालिका के–के गर्ने भनेर गुरु योजना निर्माणको तयारीमा हामी जुटेका छौँ । अहिले अधिकांश पूरा हुँदैछ । त्यस्तै शिक्षामा सुधार नगरी विकास सम्भव छैन ।

अहिले शिक्षकहरुलाई नियमित बनाउन गाउँँपालिकाका प्रत्येक विद्यालयमा इलोक्ट्रोनिक हाजिरीको व्यवस्था गरेका छौँ । त्यसको अलवा सबै सरकारी कार्यालयमा इलोक्ट्रोनिक हाजिरीको व्यवस्था गरेका हौँ  । जनताको कामलाई चुस्त र समयमा नै सम्पन्न गर्न यसले टेवा पु-याउँछ भन्ने आशा गरेका छौं । कर्मचारी साथीहरु जति दिन हाजिर हुनुहुन्छ त्यसको मात्रै तलब दिने घोषणा गरेका कारण पनि जनताको काम सहज रुपमा सम्पन्न हुने काम भएको छ । 

यो गाउँपालिका प्राकृतिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले निक्कै धनी छ, यस्ता सम्पदाहरुको सदुपयोग गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

गाउँँसभामा यसबारे कार्यक्रम नै प्रस्तुत गरेका थियौँ । प्राकृतिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको यो स्थानलाई विकास गर्ने तथा यहाँका भाषा, संस्कृति, पहिचान एवं विविधतालाई लोप हुन नदिन हामी प्रयत्नशील छौं । हाम्रा पुराना संस्कृतिलाई संरक्षण गर्दै अब निर्माण हुने संरचनाहरु सांस्कृतिक र पर्यटकीय हिसाबले बनाउनुपर्छ भनेर योजनाका खाका ल्याएका छौँ । जसले गर्दा यो क्षेत्र प्राकृतिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं अनुसन्धान गर्न चाहनेका लागि पनि योग्य क्षेत्र होस् भन्ने सोचमा छौं ।

त्यसका लागि ह्योल्मो हेरिटेज होमस्टे, तामाङ होमस्टे, आर्यन होमस्टेले गाउँ तहको संस्कृति बचाउनले खालको कार्यक्रम अघि सारेका छौँ । हाम्रो गाउँँपालिकाभित्र मठमन्दिर र थुप्रै गुम्बाहरु छन् । पाल्चोकीमाई, आमायाङ्ग्री, गुरु रिम्पोचेको स्थल गाउँ पुरातात्विक महत्वका स्थलहरु पनि छन् । सबै किसिमका संस्कृतिहरुको जगेर्ना गर्न हामी लागिरहेका छौं । त्यस्तै पर्यटकीय गन्तव्यको रुपमा यो क्षेत्रलाई विकास गर्न ‘हेलम्बु हेरिटेज टेल’ भनेर मिनी ग्रेटवालको विकास गर्ने कार्य पनि सुरु गरिएको छ । 

यहाँले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा हेलम्बु–रसुवा फास्ट ट्रयाक मिलेरोपा मार्ग निर्माण गरी चीन जोड्ने भन्नुभएको थियो, कति बजेटको योजना रहेको छ, यस विषयमा के भइरहेको छ ?

हामीले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौँ । यो योजनालाई मूर्त रुप दिन हामीले कन्सल्टेन्सीहरुसँग छलफल गरिरहेका छौँ । हिउँद नलागेसम्म योजना सुरु हुने ठाउँमा पुग्ननै मुस्किल छ । तातोपानी नाकाबन्द भइरहेको अवस्थामा यो योजनाले सिंगो जिल्लाको अर्थतन्त्र र राष्ट्रलाई नै फाइदा पुग्नेछ । योजना तयार गर्नु पहिलो काम हो यो योजना बनाएपछि सबैले प्राथमिकतामा राख्नुपर्छ । एक कार्यकालमै त्यो योजना पूरा हुने हैन लामो समय लाग्छ । एक दिन अवश्य नै पूरा गरिछाड्ने छौँ । 

हेलम्बुलाई ‘बुद्धिष्ट सर्किट’ को रुपमा विकास गर्छु भन्नुभएको थियो, त्यहाँ त थुप्रै सम्प्रदायको नागरिकहरु पनि छन्, अरु सम्प्रदायबाट कतिको सहयोग छ ? 

म बुद्धिष्ट सम्प्रदायको हो । यतिभन्दा अरु सम्प्रदायलाई वेवास्ता गर्ने र अपमान गर्ने भन्ने मेरो शब्दकोषमै छैन । सबै सम्प्रदायका नागरिकको धर्म संस्कृतिलाई जर्गेना गर्नु मेरो पहिलो धर्म हो । मैले यहाँ भन्न खोजेको के भने बुद्धिष्ट सम्प्रदाय अन्य सम्प्रदायका गुम्बाहरु बढी भएकाले बुद्धिष्ट सर्किट बनाउँछु भनेको हो । देवदेवताका मन्दिरहरु पनि स्तरोन्नति गर्नेछौं । मलाई पनि के लागेको छ भने हेलम्बु गाउँँपालिकाका नागरिकहरुले किन ‘बुद्धिष्ट सर्किट’ को मात्र कुरा गरेको भनेर प्रश्न गर्ने ठाउँ छ ।

म के भन्न चाहन्छु भने जुन ठाउँमा जे सम्भावना छ त्यो गर्ने हो । सबैलाई थाहा छ हेलम्बुको इतिहास हेर्ने हो भने यहाँ गुरु रिम्पोचे आएर तपस्या गरेको उललेख छ । अर्को कुरा हेलम्बु बुद्धिष्टहरुको पवित्रस्थलको रुपमा पनि चिनिन्छ । विश्वका थुप्रै मुलुकबाट तपस्याका लागि बुद्धिष्टहरु यो क्षेत्रमा आइरहेका छन् । त्यस्तै हेलम्बु क्षेत्रमा जन्मिएका सबै नागरिकहरु टुल्कु र खाण्डो (भगवानको रुप) भएर जन्मन्छन् भन्ने मान्यता पनि छ । त्यो भएका कारण हेलम्बुलाई ‘बुद्धिष्ट सर्किट’ बनाउन पर्छ भनेर हामी लागेका छौँ ।

यसो गर्दा यो क्षेत्र धार्मिक, पर्यटकीय र अनुसन्धान क्षेत्र बन्न सक्छ । बौद्ध धर्म मान्ने व्यक्तिहरुलाई थाहा छ कि यो क्षेत्र कति महत्वपूर्ण छ भनेर । यो क्षेत्रमा देश विदेशबाट बुद्धिष्टहरु आइरहने हुनाले त्यसलाई व्यवस्थित गर्न सक्यो भने यहाँको विकास पनि हुने र यहाँका नागरिकको आम्दानी पनि बढ्ने त्यस्तै राज्यलाई पनि फाइदा हुने भएर यो योजनालाई हामीले महत्व दिएका हौँ । यसमा सम्पूर्ण हेलम्बुबासीले साथ दिनुभएको छ । 

हेलम्बु गाउँपालिका आर्थिकरुपमा पछाडि पर्नुको मुख्य कारण के हो ?

यो गाउँँपालिका आर्थिक रुपमा पछाडि पर्नुको मुख्य कारण यहाँको स्रोत साधन मात्रै परम्परागत कृषिमा मात्र सीमित छ । हाम्रो यो गाउँँपालिकाको माथिल्लो क्षेत्रमा मकै, कोदो, आलु र तल्लो क्षेत्रमा धान मात्रै मुख्य खेतीको रुपमा लिने गरिएको छ । परम्परापगत खेती गर्दा दुःख बढी हुने र आम्दानी कम हुने प्रस्ट छ । परम्परागत खेती गर्दा एउटा परिवारले वर्षमा दुई सयभन्दा बढी दिन श्रम गर्नुपर्ने देखिन्छ । त्यो अनुरुप श्रमको मूल्य पाइएको देखिँदैन ।

यही कारणले गर्दा यो क्षेत्र आर्थिक रुपमा समृद्ध हुन नसकेको हो । कृषिलाई आधुनिकीकरण गर्न जरुरी छ । त्यसका लागि हामीले आधुनिक खेती सँग–सँगै नगदे बाली उत्पादनमा जोड दिएका छौं । कफी, अलैंची, अदुवा, चिया खेती, लोकल कुखुरा फर्म, बाख्रा फर्ममा लगानी गर्न जोड गरिरहेका छौं । पर्यटन क्षेत्रलाई समृद्ध बनाउन होमस्टे सञ्चालनमा पनि विशेष जोड दिएका छौं । आशा छ मेरो कार्यकालभित्र हेलम्बु आर्थिक रुपमा पनि समृद्ध हुनेछ ।

पाँच वर्षभित्रमा हेलम्बु गाउँपालिका आत्मनिर्भर होला ? 

सकिन्छ । हामीले हेलम्बु गाउँँपालिकामा खाद्यान्न, तरकारी, मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन विशेष पहल गरिरहेका छौं । उत्पादन गरेर आफूमात्र आत्मनिर्भर होइन त्यसलाई सहज रुपमा बिक्रीवितरण गरी आर्थिक उपार्जन गर्न पनि हामीले पहल गरिरहेका छौं । त्यसको सुरुवात गरिसकेको छौं । व्यावसायिक रुपमा समूह बनाई आर्थिक उपार्जनमा लाग्नेहरुलाई हामीले सहयोग पनि गर्छाैं । यसर्थ पाँच वर्षभित्रमा गाउँँपालिकालाई आत्मनिर्भर बनाउने दृढ संकल्पमा हामी लागेका छौं र त्यसलाई सम्भव तुल्याउने छौं ।

मेलम्ची खानेपानी आयोजना पूरा भई पानी काठमाडौं लगिएपछि त्यस क्षेत्रमा सञ्चालित माछापालन, पानीजन्य व्यवसाय, खेतीसमेतमा प्रत्यक्ष असर पु-याउने देखिन्छ, त्यो असरलाई न्यूनीकरण गर्न कस्तो योजना बनाउनुभएको छ ?

अहिले मेलम्ची खानेपानीसँग कुरा भइरहेको छ । यो भेगको पानी काठमाडौं लाने हो भने यहाँको व्यवसायलाई पुग्ने पानी छोड्न आग्रह गरेका छौं । पटक–पटक लिखित रुपमा आयोजनामा पत्र दर्ता गराइरहेका छौं । पानी कति लाने र कति छोड्ने भन्ने विषयमा छलफल भइरहेको छ तर यसमा कुनै निर्णय भने भएको छैन । भद्र आन्दोलन गरेका छौ हामीले उठाएका कुरा पूरा नभए अन्त्यमा आन्दोलन गर्नुको विकल्प छैन । त्यो पानी यहाँको व्यवसायलाई पर्याप्त हुने पानी छोड्नुपर्छ । यहाँको व्यवसायलाई निमिट्यान्न बनाएर पानी लग्ने कुरा त वैज्ञानिक हुँदैन । तसर्थ पानी लगेबापत यहाँका स्थानीयलाई सेयर दिनुपर्छ भन्ने हामीले माग गरेका छौं । साथै विकास निर्माणमा खानेपानीले कति सहयोग गर्ने भन्ने बारेमा हामीले छलफल गरिरहेका छौं ।

स्थानीयले त लेवीको माग गरिरहेका छन् हैन र ?

लेवी त हाम्रो प्राकृतिक स्रोत लगेपछि नलिने भन्ने कुरा नै हुँदैन । प्राकृतिक स्रोत लगेपछि त्यसबापतको कति प्रतिशत लेवी जनताले पाउने भनेर त राज्यले नै तोकिदिएको छ । उहाँहरुले दिन्न भन्नै पाउनुहुन्न । प्राकृतिक स्रोतको २५ प्रतिशत दिनुपर्छ भनेर त ऐनले नै तोकिदिएको छ । त्यसैले लेवीसँगै सेयर पनि पाउनुपर्छ भन्ने हाम्रो माग हो । ऐनलाई खानेपानीले नमानेर जानसक्ने अवस्था नै छैन ।

पाँच वर्षभित्रमा प्रत्येक वडामा सडक सञ्जाल निर्माण गर्छु पनि भन्नुभएको थियो नि हैन र ?

हो मैले घरघर पुगेर सो भनेको हो । किनकि पहिलो मुख्य सडक नै भएकाले सो भनेको हो । निर्माण भएका सडकहरु पाँच वर्षमा १२ महिनामा यातायात सञ्चालन गराउने काम सुरु नै भइसकेको छ । त्यस्तै प्रत्येक वडामा सडक सञ्जाल जोड्ने भन्ने योजना पनि सुरु भइसकेको छ । सवै वडामा सडक सञ्जाल पुगि सकेको छ । अब १२ महिना सवारी चलाउन मिल्ने गरी सडकको स्तरोन्नति गरिँदैछ । सबै वडाबाट रकम विनियोजन गरेका छन् । यो पुरा गरेर छाड्ने छौ । 

शिक्षा क्षेत्रमा कस्ता खालका कार्यक्रम ल्याउनुभएको छ ? 

पहिलो कुरा देश विकासका लागि शिक्षा महत्वपूर्ण विषय हो । अहिले सरकारी स्कुल बेरोजगार उत्पादन गर्ने केन्द्रको रुपमा रहेको छ । यसलाई अब तोड्नुपर्छ भन्ने मान्यतामा हामी लागेका छौँ । शिक्षकलाई पहिला आफ्नो पेसालाई मर्यादित बनाउने उद्देश्यले विद्युतीय हाजिरी, तालिम, प्रधानाध्यापकलाई तालिम दिने गरिएको छ । प्राथमिक तहका शिक्षकलाई सरकारीबाट छ हजार दिने गरेकोमा थप चार हजार र पोसाक भत्ता गाउँपालिकाबाट उपलब्ध गराएका छौँ ।

कम्तीमा पनि खान र बस्नका लागि समस्या नहोस् भन्ने पहिलो प्राथमिकता रहेको छ । त्यसका अलवा अस्थायीलाई सेवाबाट अवकास हुँदा केही राहत हो भनेर अस्थायी अवकास कोष स्थापना गरेका छौँ । सो कोषमा प्रत्येक शिक्षक प्रतिमहिना पाँच सय रुपैयाँ शिक्षकले राख्नु पर्न र गाउँपालिकाबाट पाँच सय रुपैयाँ थप गर्ने व्यवस्था गरेका छौँ । स्वास्थ्य कोष, पनि स्थापना गरेका छौँ । ठूलो रकम लाग्ने रोगको उपचार गर्नका लागि शिक्षक र कर्मचारीलाई सहयोग गर्ने उद्देश्यले सो कोष स्थापना गरेका हौँ । सो कोषमा गाउँपालिकाबाट १० लाख रुपैयाँ राखिएको छ  भने शिक्षक र कर्मचारीबाट एक सय रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था मिलाएका छौँ । यसका अलवा सुविधा सम्पन्न होस्टलसहितको विद्यालय निर्माण गर्ने तयारीमा रहेका छौँ ।

हेलम्बु गाउँँपालिकाभित्र विभिन्न निकायमा कार्यरत अस्थायी/करार/दैनिक ज्यालादरी तथा स्थायी कर्मचारीहरुको लागि दुर्घटना, जटिल स्वास्थ्य समस्या तथा आपत्कालीन अवस्थामा सहयोग पुग्नेगरी एउटा शिक्षक सुरक्षा कोष र कर्मचारी सुरक्षा कोष र साबिक स्थानीय निकायबाट स्थापना गरिएको छ । स्थायी नियुक्ति लिई यस गाउँँपालिकामा खटिआएका कर्मचारीहरुका लागि कल्याणकारी कोषको व्यवस्था गरिने छ । अस्थायी शिक्षक तथा अस्थायी/करार/दैनिक ज्यालादारी कर्मचारीको लागि गाउँँपालिकास्तरीय अस्थायी अवकाश कोषको स्थापना गरिनेछ । यसको सञ्चालन गाउँँपालिकाले कार्यविधि बनाई लागू गर्नेछ । यसका लागि बजेटको व्यवस्था मिलाइएको छ । 

हेलम्बु क्षेत्रलाई पर्यटकीयरुपमा विकास गर्ने के–के योजनाहरु रहेका छन् ? 

हो हाम्रो सिन्धुपाल्चोक जिल्लामध्ये प्रचुर मात्रामा पर्यटकीय स्थल भएको क्षेत्र हेलम्बु हो । यहाँको पर्यटकीय क्षेत्रको विकास गर्न सकेमा देशलाई नै आर्थिक विकासमा टेवा पुग्नेछ । त्यही भएर म यस गाउँपालिकाको अध्यक्ष भएर आएदेखि शिक्षा, स्वास्थ्य, सडक निर्माण र पर्यटकीय क्षेत्रको विकासमा केन्द्रित भएका छौँ । म मात्र हैन सबै हेलम्बुबासीहरुले पहिलो प्राथमिकतामा पर्यटन क्षेत्रको विकास गरेर जहाँ जुन उपयुक्त हुन्छ त्यसको विकास गर्नुपर्छ भनेर सुझाव दिएका छन् ।

सोहीअनुसार हामीहरुले योजना तयार गरेका छौँ । हामीहरुले चरणबद्धरुपमा पर्यटकिय क्षेत्रको विकासमा ध्यान दिएका छौँ । काठमाडौंदेखि सबैभन्दा नजिकको गन्तव्य रहेको हेलम्बु गाउँँपालिकामा पर्यटन तथा आन्तरिक स्रोत वृद्धि गर्नको लागि गाउँँपालिका, स्थानीय वासिन्दा र निजी कम्पनीहरुको संयुक्त लगानीमा पर्यटन प्रवद्र्धनको लागि हेलम्बु ‘गोसाईंकुण्ड केवलकारको निर्माणसँगै प्याराग्लाइडिङको पनि सम्भाव्यता अध्ययन भई परीक्षणसमेत भइसकेको छ  । 

पहिला ऐतिहासिक क्षेत्रको खोजी गर्नुपर्छ त्यसको खोजीमा हामी लागेका छौँ । लामटाड क्षेत्रमा पाइने रेडपण्डाको संरक्षण गर्ने, हेलम्बु हिलटेल तयार गर्ने, यसमा ५५ किलोमिटर बाटो निर्माण गरिने योजना छ  । सबै डाँडाहरुमा साइकल रुट तयार गर्ने योजना सुरु गर्नका लागि अन्तिम तयारी भएको छ । त्यसपछि पर्यटकलाई रमाइलो र अध्ययनका लागि समेत ध्यान दिई होमस्टेको अवधारणा समेत अगाडि सारेका छाँै । शेर्पा संस्कृति भएको स्थान शेर्पा रहनसहन, खानपिन, पोसाक र त्यही उत्पादन हुने खानेकुरा उपलब्ध गराइनेछ । तामाड बस्ती भएको स्थानमा तामाड संस्कृतिअनुसार र बाहुनक्षेत्री भएको स्थानमा बाहुनक्षेत्रीकै संस्कृतिअनुसारको होमस्टे निर्माण गरिने छ । 

गाउँपालिकाको वर्तमान आर्थिक अवस्था कस्तो छ ? 

गत आर्थिक वर्षको हेलम्बु गाउँँपालिकाको कुल बजेट २४ करोड ९४ लाख ८२ हजार रुपैयाँ रहेको थियो । त्यसमध्ये चालूतर्फ १३ करोड ४४ लाख ३२ हजार रुपैयाँ र पुँजीगततर्फ ११ करोड ५० लाख ५० हजार रुपैयाँ रहेका थियो । यसमध्ये चालूतर्फ दुई करोड ५१ लाख १४ हजार दुई सय ४० रुपैयाँ खर्च भइसकेको छ र जुन कुल बजेटको ४९ दशमलव एक सय ३५ प्रतिशत रहेको छ । यसैगरी पुँजीगततर्फ.आठ करोड ४४ लाख २० हजार आठ सय २३ रुपैयाँ खर्च भइसकेको छ जुन पुँजीगततर्फको कुल.७३ दशमलव तीन सय ७५ प्रतिशत रहेको छ । यसरी पुँजीगत र चालू दुवैतर्फको बजेटको खर्चलाई हेर्दा सन्तोषजनक रहेको छ । 

जिल्लामा पुँजीगत वा विकास बजेटको खर्च गर्ने क्षमतामा हेलम्बु गाउँँपालिका अग्रस्थानमा रहेको छ । पुँजीगत र चालू दुवैतर्फको बजेटको खर्चको प्रशस्त रोजगारीका अवसरहरु सिर्जना भएको छ । शिक्षा क्षेत्रमा गाउँँपालिकाले आफ्नै शिक्षा नियमावली बनाइएको छ । गाउँँपालिका क्षेत्रभित्रका ३८ वटै विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ भने प्राध्यापकहरुले शिक्षक तथा कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको छन् । अघिल्लो शैक्षिक सत्रभन्दा यो शैक्षिक सत्रमा समुदायिक विद्यालयहरुमा समग्रमा १५ को शैक्षिक सुधार भएको छ ।

हेलम्बुमा संस्कृत र सम्भुटा भाषाको पढाइ गर्ने व्यवस्था मिलाइएको भन्नुभयो ? अन्य भाषाभाषीहरुको भनाइ के छ ? 

हेलम्बु गाउँँपालिकाका सबै विद्यालयमा संस्कृत र सम्भुटा (लामा) भाषाको अध्यापन गर्ने व्यवस्था गरेका छौँ । यहाँ बढी मात्रामा भएका भाषाभाषीहरुलाई पहिलो प्राथमिकता दिएर सो योजना ल्याएका हौं । यसमा अन्य भाषाभाषीले पनि राम्रो सुरुवात गर्नुभएको छ भनेका छन् ।

Facebook Comments

LEAVE A REPLY