कुष्ठरोगको समयमा उपचार नहुँदा अपाङ्ग बन्दै रोगी

27

ललितपुर, कुष्ठरोगप्रतिको गलत दृष्टिकोणका कारण ढिलो उपचार हुँदा यो रोग लागेका बिरामी अङ्गभङ्ग भइरहेका छन् ।

समयमै उपचार गर्दा शरीरको कुनै पनि भाग नबिग्रने भए पनि उपचारका लागि बिरामी ढिलो अस्पताल पुग्दा बिरामी अङ्गभङ्ग हुने आनन्दवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । यो रोगको उपचारमा ढिलाइ गर्दा हातखुट्टामा लाटोपना (स्पर्श शक्ति नहुने) र औँला कमजोर र बाङ्गो हुन थाल्ने उहाँले बताउनुभयो । 

“यो रोगको कीटाणु प्रवेश गरेपछि शुरुआती चरणमा दाग देखिने, हातखुट्टा झमझमाउनेलगायतका लक्षण देखिन्छ”, उहाँले भन्नुभयो, “रोगको शुरुआती चरणमा उपचार नथालेपछि पोलेको वा किला बिझेको समेत थाहा नपाउने हुँदै विस्तारै बिरामी हातले केही समाउनै नसक्ने र आफ्ना कामसमेत आफैँ गर्न नसक्ने हुन्छन् ।” 

यो रोगलाई धर्मसँग जोडेर हेरिएका कारण बिरामी समयमा उपचारका लागि अस्पताल नपुग्ने गरेको पोखरेलले बताउनुभयो । पहिलेपहिले यो रोगलाई कुष्ठी, कोर, महारोग वा सुनबैरी भन्ने गरिएको थियो । अझैसम्म ग्रामीण क्षेत्रमा यसलाई पूर्वजन्मको पाप, देवता लागेको वा नाग लागेको भन्ने विश्वास कायम रहेको अस्पतालले जनाएको छ । कतिपय व्यक्तिमा भने यो रोग सरुवा रोग भन्ने नबुझेर वंशाणुगत रोग भन्ने भ्रम रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु सरुवा रोगजस्तै कुष्ठरोगका कीटाणु शरीरमा प्रवेश गरेपछि मात्रै रोग लाग्छ भन्ने सबैलाई बुझाउन खाँचो छ ।” 

सरकारले एक दशक पहिले कुष्ठरोग निवारणको घोषणा गरे पनि वर्षेनी नयाँ बिरामी फेला परिरहेका छन् । 

Facebook Comments

LEAVE A REPLY