सरकारलाई सुरेन्द्रको चुनौती : रोयल्टी चुक्ता नगरी रजिष्ट्रारको मिलेमतोमा रोयल क्यासिनो बिक्री

63

रोशन कार्की
काठमाडौं । अदालतको अन्तरिम आदेशकै भरमा हाल सञ्चालनमा रहेका जुवाघर (क्यासिनो) को बिक्री कार्यले तीव्रता पाएको छ । मजदुरको तलबभत्ता नदिई अन्नपूर्ण होटलको क्यासिनो अन्नालाई बिक्री गरेलगत्तै विद्यमान ऐनलाई समेत बेवास्ता गरी होटल याक एण्ड यतिमा सञ्चालन भइरहेको रोयल क्यासिनो बिक्री गरेको पाइएको छ । गत भदौ अर्थात् सेक्टेम्बर ३ तारिखमा सोही क्यासिनो रोलयमा कार्यरत सामान्य कर्मचारी जयन्ती थापालाई क्यासिनो मालिक सुरेन्द्रबहादुर सिंहले सरकारलाई बुझाउनुपर्ने बक्यौता रोयल्टी नबुझाई एकाएक शतप्रतिशत सेयर थापाको नाममा नामसारी गरेको पाइएको हो । सो क्यासिनो सिंहको नाममा रहेको ह्याप्पी आवर प्रालिको शतप्रतिशत सेयर थापाको नाममा नामसारी गरिएपछि सरकारलाई बुझाउनुपर्ने १५ करोड रुपैयाँ रोयल्टी अहिले कसले तिर्नेभन्ने विवाद सुरु भएको छ ।
सिंहले कम्पनी रजिष्ट्रारका अधिकारीहरुसँगको आर्थिक लेनदेन गरेर कर चुक्ता नगरी सेयर नामसारी भएको उच्च स्रोतको दाबी छ । विद्यमान ऐनअनुसार कुनै पनि कम्पनीको सेयर किनबेच गर्नुपूर्व करचुक्ता गर्नुपर्ने प्रावधान भए पनि कम्पनी रजिष्ट्रारको कार्यालयले कर चुक्तानै नगरिएको सो क्यासिनोको सेयर नामसारी गरिदिएको समाचार आर्थिक दैनिकले प्रकाशन गरेको छ ।
ह्याप्पी आवरको २५ करोड रुपैयाँको चुक्तापुँजी रहेको छ । सिंहले सोही क्यासिनोमा कार्यरत मजदुर जयन्ती थापाको नाममा सबै सेयर नामसारी गरेपछि थापाले सो रकम कहाँबाट ल्याइन् र उनको सम्पत्तिको स्रोत के हो भनी अहिले प्रश्न उठेको छ । सो क्यासिनोले सरकारलाई बुझाउनुपर्ने राजस्व राजबहादुर सिंहकै समयदेखि नतिरेको १२ करोड रोयल्टी असुल नभएको भन्दै सरकारी निकाय कुमारीचोकमा रेकर्ड छ । गत तीन वर्षदेखि रोयल क्यासिनो अदालतको अन्तरिम आदेशबाट सञ्चालन हुँदै आएको छ । तीन वर्ष अघिदेखि सुरेन्द्रबहादुर र राजबहादुर दुवै जनाले रोयल्टी बुझाएका छैनन् । करोडौँ रुपैयाँ रोयल्टी बुझाउन बाँकी रहेको सो क्यासिनोलाई कम्पनी रजिष्ट्रारका अधिकारीसँगको लेनदेनपछिको सेटिङमा सुरेन्द्रबहादुरले १५ करोड रोयल्टी नतिरीकन सबैको आँखामा छारोहालेर कम्पनी थापाको नाममा नामसारी गरेको पाइएको हो । कर र रोयल्टी चुक्ता नभईकन नै नामसारी गरेपछि सो रकम कोबाट चुक्ता गर्ने भन्ने गम्भीर प्रश्न उठेको छ ।
यसैबीच,राजधानीको दरबारमार्गस्थित एक एण्ड यति होटलमा सञ्चालित क्यासिनो रोयलमा अन्तर्राष्ट्रिय आतंकवादी समूहको लगानी रहेको भन्दै उजुरी परेको समेत पाइएको छ । सो क्यासिनोमा सुरेन्द्रबहादुर र क्यासिनो रोयल खरिद गर्ने जयन्तीको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन परेको हो। कुनै समय सामान्य मजदुर स्पिनर रहेका सिंहको असामान्य रुपको जीवनशैली र २५ करोड चुक्तापुँजी कसरी हुनपुग्यो ? भन्दै छानबिन गर्न उजुरीमा उल्लेख गरिएको छ ।सिंहले केही महिनाअघि सोही क्यासिनोमा कार्यरत कर्मचारी सहायक सुपरभाइजर जयन्ती थापा मगरलाई सबै सेयर बेचेपछि उजुरी परेको हो । थापाले क्यासिनो सञ्चालनका लागि १० करोड रुपैयाँ पुँजी थप गरेको समेत उल्लेख छ । उनले कुन स्रोतबाट ल्याएको हो कतै खुल्दैन । जयन्ती थापाको नाउँमा अन्तर्राष्ट्रिय आतंकवादी संजालको लगानी भएको हुनसक्ने सम्भावना समेत सो उजुरीमा गरिएको छ । उजुरी अनुसार एक एण्ड यति होटलका मालिक सिंहले यसअघि पनि अवैध स्रोतबाट रकम लिएको र थापाले समेत सोही स्रोतबाट रकम लिएर क्यासिनो रोयल खरिद गरेको बताइएको छ ।होटल याक एण्ड यति होटलको मूल ढोकाअगाडि जोडिएको ४४ आना जग्ग ६६ करोडमा बिक्री गरेको र उनले सुकेधाराबाट सुविधासम्पन्न घर किनेर सञ्चारगृह चलाउने तयारीगरेको समेत आरोप लगाइएको छ ।
उनीहरुले सरकारलाई तिर्नुपर्ने वार्षिक रोयल्टी तिरिरहेका छैनन् । सरकारलाई तिर्नुपर्ने रोयल्टी समेत नतिरी तीन वर्षदेखि सर्वोच्च अदालतको अन्तरिम आदेशकै अनुसार सञ्चालन भइरहेका छन् । उनीहरुले नियमावली लागू हुनुअघिको करोडौं रुपैयाँ बक्यौता समेत तिरेका छैनन् । नियमावली लागू भएपछिको रोयल्टी समेत नतिरी सञ्चालित छन् ।नियमावलीअनुसार दर्ता नै नगरी तीन वर्षदेखि अदालतको अन्तरिम आदेशका आधारमा सञ्चालित क्यासिनोका कारण मुलुकलाई वार्षिक २०औं करोड रुपैयाँ राजस्व नोक्सान भएको छ । अदालतको अन्तरिम आदेश कति वर्षसम्म कायम रहने भन्ने अन्योल छ । पर्यटन विभागका अनुसार क्यासिनोहरु अदालतको अन्तरिम आदेशका आधारमा सञ्चालन भइरहेको र अहिलेसम्म कुनै कर नबुझाएको जनाएको छ । रोयलले क्यासिनो नियमावली २०७० जारी हुनुअघिकै बक्यौता रोयल्टी र राजस्व तिर्न बाँकी छ । क्यासिनो नियमावली २०७० मा संशोधन गरी २०७१ वैशाख ५ सम्म बक्यौता तिरेर सञ्चालन गर्न दिएको म्यादसमेत अस्वीकार गर्दै रिट दायर गरेका थिए । रोयलको रोयल्टीमात्र वार्षिक ३ करोडका दरले १८ करोड हुन आउँछ । ह्याप्पी र रगले सञ्चालन गरेका चार÷चार वटा क्यासिनोको वार्षिक ७५ लाखका दरले ३ वर्षमा १८ करोड रुपैयाँ हुन आउँछ । यस हिसाबले सरकारले ३६ करोड रुपैयाँ राजस्व गुमाएको छ । क्यासिनो नियमावली २०७० जारी हुनुअघि रोयल्टी नतिर्ने क्यासिनोको बक्यौता असुलीका लागि पर्यटन विभागले केन्द्रीय तहसिल कार्यालयमा लगत कसेको छ ।सरकारी बाँकी असुलीको केन्द्रीय तहसिल कार्यालयले गर्ने भएकाले त्यतै पठाएको पर्यटन विभागले जनाएको छ । केन्द्रीय तहसिल कार्यालयले लगत कस्नका लागि गएको गत वर्षको फागुन २९ गते सार्वजनिक सूचना निकालेको थियो ।
सो समयमा होटल याक एण्ड यति प्रालिको ११ करोड ८७ लाख ५० हजार, ह्याप्पी आवर प्रालिको ६ करोड ९३ लाख २७ हजार ५ सय रुपैयाँरोयल्टी तिर्न बाँकी देखिएको थियो । तहसिल कार्यालयको सूचनाअनुसार म्यादमा तिर्न नआउने क्यासिनोका सञ्चालकलाई पक्राउ गर्ने, चल÷अचल सम्पत्ति पहिचान गरी असुलउपर गर्ने प्रक्रिया अगाडि बढाउने भनिए पनि सो अनुसार कारबाही भएको छैन भने पछिल्लो समयमा बक्यौता चुक्ता नगरी क्यासिनो बिक्री समेत हुँदा कारबाही गर्ने आँट सरकारले गर्न सकेको छैन ।
नक्कली कागजात बनाएर सुरेन्द्रबहादुर सिंहले किर्ते गरी १० वटा मिनी क्यासिनो सञ्चालन गरेको आरोप लागेको छ ।सिंहले सरकारसँग एक मिनी क्यासिनो सञ्चालन गर्न दिएको अनुमतिपत्रमा एकपछि शून्य थपी दश बनाई दशवटा मिनी क्यासिनो सञ्चालनको अनुमति कागज बनाएको सिंहनिकट स्रोतले जनाएको छ । सिंहले सञ्चालन गरेको मिनी क्यासिनोहरुमध्ये एकको मात्र राजस्व तिरी अरुको राजस्व नतिरी राज्यलाई ठग्दै आइरहेका छन् । राज्यलाई भने उनले अहिले एउटा मात्र मिनी क्यासिनोको ट्याक्स तिरेर राज्यलाई समेत ठग्दै आइरहेका छन् ।क्यासिनोमा काम गर्ने मजदुरहरुलाई सञ्चालक सुरेन्द्रबहादुरले सहमतिअनुसार दिनुपर्ने सेवासुविधा, कर्मचारीबाट कटाएको राजस्व, सञ्चय कोषलगायत कट्टा गरेको रकम सम्बन्धित ठाउँमा नबुझाई सिंह आफैँले लिने गरेको मजदुरहरुको आरोप रहेको छ ।यस सम्बन्धमा पटक–पटक रोयल क्यासिनोमा सम्पर्क गर्दा आधिकारिक व्यक्ति कोही पनि सम्पर्कमा आउन चाहेनन् ।
पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहको स्वामित्वमा रहेको गिल्स कम्पनीद्वारा सञ्चालित हँुदै आएको थियो । राजबहादुरसँग सुरेन्द्रबहादुरले रोयल क्यासिनो ह्यापी आवरको नामबाट सञ्चालन गर्दैै आएका थिए । विद्युत् महसुलसमेत नतिरेका कारण विद्युत् प्राधिकरणले बत्तीको लाइन काटेको भएपनि चोरी विद्युत्बाट क्यासिनोमा बत्ती बालेको छ। सिंहले विद्युत् प्राधिकरणका भ्रष्ट कर्मचारीहरुलाई प्रभावमा पारी अर्को बेग्लै मिटर जडान गरेका छन् ।जुन घरमा मिटर जडान गर्ने हो, त्यो घरको लालपुर्जा र घर मालिकको अनुमति लिनुपर्ने प्राधिकरणको नियम छ । तर, पैसा र पावरकै आडबलमा सिंहले याक एण्ड यति होटल मालिक राधेश्याम सराफको अनुमति नलिएको र लालपुर्जा नै पेस गरेका छन् । सुरेन्द्रबहादुर सिंहसहितका ४ जना सञ्चालक रहेको ह्याप्पी आवर प्रालिले २०७१ साउन १५ मा अन्तरिम आदेश ल्याएर ४ वटै मिनी क्यासिनो सञ्चालन गरेको छ । सुरेन्द्रबहादुर नै सञ्चालक रहेको गिल्ट इन्भेष्टमेन्ट प्रालिले अन्तरिम आदेशकै भरमा २०७२ फागुन १५ देखि होटल याक एण्ड यतिमा क्यासिनो रोयल सञ्चालन गरिरहेको छ ।

Facebook Comments

LEAVE A REPLY