जैविक हिसाबले महिलाका जीनहरुको संख्या पुरुषको भन्दाबढी : उपराष्ट्रपति पुन

22

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको बताएका छन । नेपाल महिला चेम्बरको आयोजनामा राजधानीमा आयोजित अन्तर्राट्रिय महिला दिवसलाई सम्बोधन गर्नेक्रममा उनले सो कुरा बताएका हुन । उनले जैविक हिसाबले पनि महिलाका जीनहरुको संख्या पुरुषको भन्दा एकले बढी हुने भएकोले पुरुष भन्दा महिला शक्तिशाली भएको दाबी गरेका छन्। उनले भने, “इतिहासमा महिलाहरुमाथि संसारभर भएको विभेदले नारीहरुलाई सचेत र जागरुक बनाएको हो ।“ महिलाहरुले आफ्नो हक, अधिकार र अवसर प्राप्तीको लागि गरेको कठोर संघर्सको प्रतिफल स्वरूप नारी जगत आज समान दायित्व, भूमिका र अवसरका साथ राष्ट्र–निर्माणमा अघि बढेको कुरा उनले बताए । आधा धर्ति ढाक्ने नारीहरुको अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरेकोले महिलाहरुको सहभागिताको दायरा फराकिलो भएको कुरा समेत उल्लेख गरे । इतिहासमा नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक रुपान्तरणको लागि महिलाले गरेको प्रेरणादायी योगदानको कारण देशमा परिवर्तन सम्भव भएको कुरामा उनले बताए । “देशमा प्रजातन्त्र र गणतन्त्र ल्याउन अग्र मोर्चामा खटेर बलिदान गर्ने साहसिक महिला जगत नभएको भए देशले आज यो परिवर्तन पाउने थिएन“, उपराष्ट्रपति पुनले भने । देशको अर्थतन्त्र माथि उकास्न आयात र निर्यातको क्षेत्रमा महिलाहरुको सहभागिताले ठुलो योगदान दिएको चर्चा पनि उनले गरे । तर आज देशमा यति ठुलो परिवर्तन भएपनि महिलाहरुलाई हुने घरेलु हिंशा र बलात्कार जस्तो जघन्य अपराधमा कमि आउँ नसकेकोमा उनले चिन्ता प्रकट गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्षले यस पटकको अन्तर्राष्ट्रिय महिला दिवसको मूल ’थिम’ “अझैं राम्रो सन्तुलन, अझैं राम्रो संसार“ को मर्म अनुसार नेपाल चेम्बर अफ कमर्स लागिरहेको कुरा उल्लेख गरे । सन् २०१८ मा गठन गरिएको नेपाल महिला चेम्बरले बिश्वबैंकको प्रतिबेदनमा उल्लेख भएको लक्ष हाँशिल गर्न नेपाल महिला चेम्बर लागिरहेको कुरा समेत उनले उल्लेख गर्नुभयो । विश्वभर महिला व्यवसायीहरुको संख्या एक अर्ब पु¥याउने लक्ष विश्वबैंकको प्रतिबेदनले बताएको छ ।

नेपालको संबिधानमा भएको व्यवस्थाकै कारण राष्ट्र–प्रमुख र व्यवस्थापिकाको प्रमुखमा महिलाको उत्कृष्ट भूमिका र क्षमता देखिइसकेकोले मौका पाए महिलाहरुले देश हाँक्न सक्छन् भन्ने कुरा समेत उनले उल्लेख गरे । अन्तर्राष्ट्रिय नारी–दिवसको उद्भव र विकासबारे समेत उनले संक्षिप्त रुपमा प्रकाश पारे । नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले नेपाली नारीहरुको संघर्षको कारण आज राज्यका निकायहरुमा ३३ प्रतिशत कोटा प्राप्त भएको कुरा बताए । नारीहरु चुल्हो र चौकोमा मात्र सिमित हुने बिरासतमा नारिहरुकै भूमिकाको कारण परिवर्तन भएको र राज्यको नीति निर्धारण र कार्यान्वयनको तहमा पुग्न सकेको कुरा उनले बताए । नेपालको संविधानले नारीहरुलाई जति अधिकार प्रदान गरेको छ, त्यो प्रयाप्त नभएको समेत उनको तर्क थियो । जनसंख्यामा ५० प्रतिशत भन्दा बढी नारी जगतले राज्यका निकायहरुमा एक–तिहाई मात्र प्राप्त गर्नु अझैं पनि विडम्बनाको बिषय भएको कुरा उनले उल्लेख गरे । यस बर्षको नारी दिवसले देशमा र विश्वमा सन्तुलन कायम गर्नलाई हरेक तह र तप्कामा ५० प्रतिशत भूमिका, जिम्मेवारी र अवसर प्रदान गर्ने बाटो खुलोस भन्ने शुभकामना समेत उनले व्यक्त गरे । युरोपियन युनियनका राजदुत बेरोनिका कोडीले शुभकामना मन्तब्य व्यक्त गर्नुभयको थियो । त्यस्तै बिभिन्न क्षेत्रमा उत्कृष्ट पेशा–व्यवसाय गरेका ९ जना महिलाहरुलाई नेपाल महिला चेम्बरले सम्मान गरेको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा गरिएको सम्मान पाउनेहरुमा विधाता श्रेष्ठ, कृष्णकुमारी पौडेल, लाक्पा फुटी शेर्पा, मिरा भट्टराई, शिबकुमारी डंगोल, सुलोचना श्रेष्ठ नेवा, मंजु मिश्र, अनुपमा खुन्जेली र लक्ष्मी शर्मा रहेका छन् । काठमाडौँ स्थित बिभिन्न दुतावासका महिला राजदुत र प्रतिनिधि तथा नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्ससंग सम्बन्धित महानुभावहरुको ठुलो उपस्थिति थियो ।

Facebook Comments

LEAVE A REPLY