सरकारी स्वीकृतविना बेलिज क्यासिनो सञ्चालन : भारतीय नागरिकको परिचयपत्रमा नेपालीलाई प्रवेश

32

रोशन कार्की
काठमाडौं । नेपाल सरकारको प्रचलित ऐन कानुनविपरीत सञ्चालनमा रहेको जुवाघर (क्यासिनो) बेलिजमा कुनै रोकावटविनानै नेपालीहरुको प्रवेश गराइरहेको पाइएको छ । पर्यटन विभागले अनुमति नदिए पनि सर्वोच्चको अन्तरिम आदेशको भरमा सञ्चालन भइरहेकोबेलिज नेपाल क्यासिनोले विगत एक वर्षदेखि नेपालीलाई लुट्दै आएको भएपनि सरकारको सम्बन्धित निकायबाट सो क्यासिनोको अनुगमन नगर्दा करोडौं रुपैयाँ कर छली समेत हुँदै आएको छ । विद्यमान ऐनअनुसार कुनै पनि क्यासिनोमा नेपाली नागरिकलाई क्यासिनोमा खेल्न प्रतिबन्ध लगाएको भएपनि नेपाली नागरिकलाई भारतीय नागरिकको नक्कली कार्ड बनाई उक्त क्यासिनोमा प्रवेश गराउँदै आएको पाइएको छ ।
सो क्यासिनोले भारतीय नगारिक भएको भन्दै ठूलो रकमको जुवा खेल्ने व्यापारीलाई प्रवेश गराउने गरेको सो क्यासिनोका एक मजदुरले नाम गोप्य राख्ने शर्तमा बताए । सो क्यासिनोका मालिक बाबा उर्फ ज्ञानेन्द्रश्रेष्ठ हुन् । उनी कुनै समय कहलिएका जुवाडे हुन्, बढीजसो क्यासिनो स्रांगिलामा जुवा खेल्ने श्रेष्ठले ‘चिटिङ’गर्ने गरेको पत्ता लागेपछि उनलाई नेपालका कुनै पनि क्यासिनोमा प्रवेशमा रोक लागाएपछि देश छोडेर बाहिर गएको उनी निकटले जनाएको छ । नेपालमा रहेका क्यासिनोमा प्रवेश गर्न रोक लगाएपछि श्रेष्ठ सिंगापुर र श्रीलंका गई केही समय त्यतै बसी पुनःनेपाल फर्किएर क्यासिनो बेलिजसञ्चालन गरेको बताइएको आर्थिक दैनिले छापेको छ ।
सो क्यासिनोमा कसैले पनि जित्न नपाउने जितेको खण्डमा जुवाडेमाथि अक्रमण समेत गर्न लगाउने गरेको स्रोतको आरोप रहेको छ । स्रोतले भन्यो,‘उनको क्यासिनोमा हार्नैपर्ने नियम रहेको छ, कोहीले जुवामा जिते चिटिङ गरेर जितेको भन्दै श्रेष्ठले पैसा नदिने, जोडगरेमा आक्रमण गर्ने गरेको छ ।’ यसैक्रममा सिक्किमबाट आएका लाक्पा शेर्पाले जितेको ४० लाख रकम अहिले श्रेष्ठले चिटिङ गरेर जितेको भन्दै नदिई बसेको आरोप लगाइएको छ । उक्त खेल खेलाउने डिलर एक महिलालाई समेत उनले नियोजित तरिकाले कामबाट निकालेर आफू निकट केही प्रहरीको मिलोमतोमा सो अवैधधन्दा सञ्चालन गर्दै आएको बताइएको छ। सो क्यासिनोमा जुवा खेल्नेलाई जबर्जस्ती हराउने र केही गरी जितेको खण्डमा उनीमाथि भौतिक कारबाही गर्ने गरेको पछिल्लो पटक भएको घटनाबाट पुष्टि हुन्छ ।
सिफलमा बस्ने र न्युरोडमा कपडा पसल गर्दै आएका मनोजकुमार तिर्खा नामका एक व्यक्तिले जुवामा योजनाबद्धरुपमा हराएपनि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेसँगै सो क्यासिनोमा अवैधधन्दा हुँदै आएको पाइएको हो । क्यासिनोले उनलाई भीआईपी खेलाडीको रुपमा राखेको समेत पाइएको छ । मनोजकुमारलाई सो क्यासिनोले भीआईपी कार्ड नम्बर ६९२ दिइएको समेत भेटिएको छ । क्यासिनो स्रोतका अनुसार उनलाई क्यासिनोले योजनाबद्ध रुपमा लुटेको जनाएको छ । पछिल्लो समय विना अनुमतिराजधानीका अधिकांश क्यासिनोले अवैध रुपमा अनलाइन जुवा समेत खेलाउँदै आएको समाचार प्राप्त भएको छ । पर्यटन विभागबाट क्यासिनो सञ्चालनको अनुमति नै नपाएको क्यासिनोलाई सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले दिएको अन्तिरम आदेशका भरमा अहिले क्यासिनोहरु सञ्चालनमा रहेका छन्। काठमाडौंको होटल मल्लमा क्यासिनो सञ्चालनका लागि पर्यटन विभागमा निवेदन दिएको बेलिज नेपालको रिटमा जोशीको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेश जारी गरेका थिए। स्मरण रहोस्, सो होटलमा यसभन्दा अघि ‘क्यासिनो मल्ल’को नामबाट सञ्चालन हुँदै आएको थियो ।
सो क्यासिनोले सरकारलाई बुझाउनुपर्ने रोयल्टी नबुझाएपछि सञ्चालनमा सरकारले रोक लगाएको थियो। सरकारले क्यासिनो सञ्चालनका लागि २०७० साउन १ गते क्यासिनो नियमावली बनाएको थियो । उक्त नियमावलीको नियम ३ मा क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिनुपर्ने र नियम ४ मा इजाजतपत्र लिनुअघि प्रचलित कानुनबमोजिम कम्पनी सञ्चालन हुनुपर्ने उल्लेख गरेको छ । बेलिजले मल्लसँग सरकारलाई बुझाउने रकम आफैंले तिरेर क्यासिनो सञ्चालन गर्ने सम्झौता गरेपनि अझैसम्म सो बक्यौता रकम चुक्ता गरेको छैन ।एकातर्फ विनादर्ता सञ्चालनमा रहेको क्यासिनो बेलिजमा विवादास्पद लगानी रहेको पाइएको छ । मल्ल होटलमा सञ्चालित क्यासिनो बेलिजका सञ्चालक श्रेष्ठले विना श्रमस्वीकृति चाइनिज र रसियन युवती ल्याएर काममा लगाएको पाइएको छ ।
उनीहरुलाई बेलिज क्यासिनोको अण्डरग्राउण्डमा रहेको कोठाहरुमा बस्ने व्यवस्था गरिएको छ । उनीहरुको काम जुवाडेलाई भनेअनुसार सेवा गर्नु रहेको छ । बेलिज क्यासिनोमा रसियन नर्तकीहरुलाई पनि राखिएको पाइएको छ । रसियन युवतीहरु भने ह्यात होटलमा बस्ने व्यवस्था मिलाएको स्रोतको दाबी रहेको छ । विगतमा श्रेष्ठ गुण्डागर्दी र ज्यान मार्ने अभियोग लागेका व्यक्तिका रुपमा उनको रेकर्ड रहेको छ । उनले श्रीलंकन कम्पनीलाई नेपालमा भित्र!ाएर अवैध तरिकाबाट लगानी भित्र्याएको भन्दै विभिन्न निकायमा उजुरी परे पनि अहिलेसम्म सो उजुरीमाथि सरकारले कारबाही अगाडि बढाएको छैन।
श्रीलंकाको बेलिज क्यासिनोकै नामबाटै सञ्चालन गरिएको क्यासिनो बेलिजका नेपाली सञ्चालक श्रेष्ठले सञ्चालन गरेका छन् । सो क्यासिनोमा विवादास्पद धार्मिक नेता जन्मिँदै डाक्टर लेखी नागरिकता बनाएका ल्यार्केल लामा (खेम्पो)को समेत लगानी रहेको स्रोतको भनाइ छ । सो क्यासिनोमा श्रेष्ठले कर्मचारी ट्रेड युनियन समेत खोल्न दिएका छैनन् । जसका कारण कर्मचारीको हकहितका लागि बोलिदिने कोही नभएको तथा कर्मचारीमाथि चरम शोषण भइरहेको पीडित कर्मचारीहरुको दुःखेसो रहेको छ ।
पर्यटन विभागले बक्यौता नतिर्ने होटल मल्ललाई तिर्नुपर्ने बक्यौता रकमको विवरणसहित ताकेता गर्दा पनि रोयल्टी उठ्नसकेको छैन । अदालतले ३ वर्षअघि दिएको अन्तरिम आदेशका आधारमा ८ वटा मिनी क्यासिनो सञ्चालित छन् । सुरेन्द्रबहादुर सिंहसहितका ४ जना सञ्चालक रहेको ह्याप्पी आवर प्रालिले २०७१ साउन १५ मा अन्तरिम आदेश ल्याएर ४ वटै मिनी क्यासिनो सञ्चालन गर्दै आएको छ ।नेपालीहरु जुवाघर क्यासिनो जान प्रतिबन्ध लगाइए पनि सो क्यासिनोमा भने नेपालीलाई छिराउने गरेको स्रोतले जनाएको छ । क्यासिनोका एक सुुरक्षा गार्डका अनुसार क्यासिनोमा सञ्चालक आफैंले भारतीय नागरिकको नक्कली कार्ड बनाएर नेपालीहरुलाई छिराउँदै आएको बताएका छन् ।

Facebook Comments

LEAVE A REPLY