१० वर्षअघिको नक्कली भ्याटविल प्रकरण टुङ्गो नलाग्दै फेरी अर्को २४ फर्मविरुद्ध मुद्दा

23

रोशन कार्की
काठमाडौं । विभिन्न कम्पनी तथा संघ÷संस्थाले झूटो तथा नक्कली बिलबीजकका साथै नक्कली मूल्यअभिवृद्धि कर (भ्याट) बिलमार्फ सामान बिक्री गरी राजस्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले २४ वटा फर्मका सञ्चालकलाई कारबाहीको माग राख्दै मुद्दा दर्ता गरेको छ । सो विभागले अवैध धन्दा सञ्चालन गरी लामो समयदेखि कर छली गर्दै आएका मुख्यव्यक्तिका रुपमा जयकिशोर साह, परमेश्वर साहलाई पक्राउ गरी अनुसन्धान गरेपछि दुवै संलग्न रहेकासहित २४ वटा फर्मविरुद्ध १ अर्ब ७५ करोड रुपैयाँ बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको जनाएको छ ।
सिधासादा मजदुरहरुलाई आर्थिक प्रलोभनमा पारी उनीहरुको नाममा फर्म कम्पनी दर्ता गराई तिनीहरुको नाममा बैंक वित्तीय संस्थामा खाता खोली सोही खातामार्फत राजस्व छली हुने गरेको विभागले गरेको अनुसन्धानले देखाएको छ । मजदुर वा नक्कली बिलको कारोबार गर्ने व्यक्तिले आफूलाई कर्मचारीको रुपमा प्रस्तुत गरी दुवै जनाको दस्तखत कार्ड पेस गरी कुनै एक जनाको दस्तखतबाट बैंक कारोबार सञ्चालन गर्ने गरेको पनि खुलेको छ । राजस्व चुहावटमा संलग्न परमेश्वर साहलाई गत माघ ३ गते र जय किशोर साहलाई गत माघ ४ गते नियन्त्रणमा लिई विस्तृत अनुसन्धान सुरु गरेर सो पत्ता लगाएको हो । प्रतिवादीहरु जय किशोर साह तथा मुकेश साह समेतले विभिन्न व्यक्तिहरुको नाममा व्यापारिक फर्म दर्ता गरी सोही फर्ममार्फत झूटो तथा नक्कली कर बीजक जारी गरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको प्रमाणित भएको विभागले जनाएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ (क), (ख) र (घ) बमोजिमको कसुर गरेको देखिएकाले मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर, सोही ऐनको दफा २९ (१ ग) र २९ (२) वमोजिमको जरिवाना सोही ऐनको दफा १९ बमोजिमको थप दस्तुर र सोही ऐनको दफा २६ बमोजिमको ब्याज ६५ करोड ४४ लाख २८ हजार २३७ रुपैयाँ तथा आयकर ऐन २०५८ को दफा ४ सँग सम्बन्धित अनुसूची १ को दफा २(१) बमोजिम करयोग्य आयमा २५ प्रतिशतको दरले दाखिला गर्नुपर्ने आयकर, सोही ऐनको दफा १२० (ख) बमोजिम शुल्क, दफा ११८ र ११९ बमोजिम ब्याज समेतले हुने जम्मा एक अर्ब नौ करोड १९ लाख ८१ हजार ९ सय ९३ रुपैयाँ, त्यसैगरी राजस्व चुहावट गरेकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा (२) (छ १) बमोजिम एक अर्ब ७५ करोड ४४ लाख १० हजार २ सय ३० रुपैयाँ बिगो कायम गरी निज प्रतिवादीलाई बिगोबापतको रकम असुल गरी सोही ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय मागदाबी गरी काठमाडौं जिल्ला अदालतमा फागुन १९ गते मुद्दा दायर गरिएको जनाएको छ ।
यसैगरी विभागले विदेशी विनिमय अपचलन तथा हुण्डी कारोबारी गोविन्द सुब्बा र इन्द्रनारायण लिम्बूविरुद्ध पनि तीन करोड ६६ लाख बिगो कायम गरी काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । रिलायन्स सबरेमिट प्रालिका सञ्चालक सुब्बाले लिम्बू समेतको साझेदारीमा उक्त कम्पनी दर्ता गरी उक्त फर्ममार्फत मलेसियाबाट नेपाल पठाउने र ल्याउने रकम नेपाल नल्याई नेपालमै एक ठाँउबाट अर्को ठाउँ पठाएको कारोबार देखाई विदेशी विनिमय अपचलन गरेको मुद्दा पत्रमा दाबी गरिएको छ । विभागले प्रतिवादीले कम्प्युटर अभिलेखमा मलेसियन रिंगेटको नेपाली पैसासँग फरक दिन र समयको विनिमय दरले हिसाब राखिएको र त्यसमा प्रयोग गरिएका कन्ट्रोल नम्बर भनी कतिपय रेमिट्यान्स कम्पनीका कारोबारसम्बन्धी नेपालबाट नेपालमै रकम पठाउँदा प्रयोग गर्ने विभिन्न कम्पनीबाट प्राप्त पिन कोड प्रयोग भएको र निजले समेत साथीभाइसँग लिनुपर्ने मलेसियाबाट पठाएको रकम हो भनी स्वीकार गरेको तर सो बराबर नेपाल सरकारलाई प्राप्त हुनुपर्ने विदेशी मुद्रा प्राप्त भए गरेको नदेखिएको जनाइएको छ । दुवैविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ३, ४, ४ क, ७ र ९ ग विपरीतको कार्य गरे गराएको कसुर देखिएपछि बिगो तीन करोड ६६ लाख ८५ हजार २ सय ६३ रुपैयाँ ५० पैसा र सोही ऐनको दफा १७ (१) बमोजिम बिगो कायम गरी सोही ऐनको सोही दफा १७ (१) बमोजिम बरामदी नगद जफत गरी प्रतिव्यक्ति जनही बिगोको ३ गुणासम्म ब्याज र सोही ऐनको दफा १७ (९) बमोजिम ३ वर्षसम्म कैद सजाय समेत हुन माग दाबी लिई काठमाडौंमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
यसैबीच, राजस्व चुहावट गरेको कसुरमा दिपेशकुमार यादव समेत ८ जनामाथि एक करोड ४२ लाख ५४ हजार ७ सय ९१ रुपैयाँ बिगो मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । प्रतिवादी हनुमन्त शंकर चौभानले सञ्चालन गरेको सिद्धि अर्नामेन्टबाट बिल बीजक र पैठारी गरेको प्रज्ञापनपत्र समेत नभएको सुन २३६ दशमलव ७६ ग्राम र चाँदी १८६२ ग्राम बरामद गरिएको उल्लेख छ । रोहित पट्टेल भन्ने दादासो दत्तात्रय माने निज प्रतिवादी हनुमन्त शंकर चौभानकै पसलमा कार्यरत रहेको र निजले सहयोगीको भूमिका निर्वाह गरेको, प्रतिवादीहरु दिपेशकुमार यादव र राजनकुमार गुप्ता समेतबाट विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गरेको भौचरहरु बरामद भएको, उनीहरुले रौतहट बस्ने मनोहर साह लगायतका व्यक्तिहरुको माध्यमबाट पठाएको रकम हनुमन्त शंकर चौभानलगायतका व्यक्तिहरुलाई दिने गरेको समेतबाट प्रतिवादीहरुले वैधानिक सुनचाँदी खरिद गरेको बिल बीजक र पैठारी र आयात गरेको भन्सार प्रज्ञापनपत्र पेस नगरेको हुँदा चोरी पैठारी गरी राजस्व चुहावट गरी ल्याएको सुनचाँदी खरिदबिक्री गर्ने गरेको देखिएकोमा उनीहरुमाथि कारबाहीको मागसहित मुद्दा दर्ता भएको हो । हनुमन्त शंकर चौभान, रोहित पटेल भन्ने दादासो दत्तात्रेय माने, दिपेशकुमार यादव, राजनकुमार गुप्ता र मनोहर साहलाई राजस्व चुहावट (अनुसन्धान तथा निन्त्रतण) ऐन, २०५२ को दफा ३ ले निषेधित दफा ४ (क) तथा ४ (ग) बमोजिमको कसुर अपराध गरेको देखिँदा बरामद भएको सुन तथा चाँदीको मूल्य र नगद समेत कुल जम्मा हुने रकम २१ लाख ८७ हजार ७ सय ८५ रुपैयाँ ७० पैसा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ१) बमोजिम बिगो कायम गरी उक्त बरामद बिगो सोही ऐनको दफा ३३ बमोजिम जफत गरी सोही ऐनको दफा २३(१) बमोजिम जनही बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षकैद हुन मागदाबी गरिएको छ ।

यसैगरी, माँ दुर्गा ज्वेलरी भाडा पसलका प्रोपाइटर दिनेशप्रसाद साहले आब २०७१।०७२ देखि आव २०७४÷०७५ सम्म निजको सेञ्चुरी बैंकमा रहेको खाताको कारोबारलाई आफ्नो फर्मको कारोबारमा नदेखाई कम राजस्व तिर्ने नियतले गलत लेखा तयार गरी सरकारलाई प्रचलित कानुनअनुसार तिर्नु बुझाउनुपर्ने यथार्थ रकम नबुझाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ को (क), (ख) र (छ) बमोजिमको कसुर गरी जम्मा ६० लाख ६४ हजार २ सय ९ रुपैयाँ ५ पैसा बराबर राजस्व छली गरी राजस्व चुहावट गरेको भन्दै सोही ऐनको दफा २ (छ १) बमोजिम सोही रकमलाई बिगो कायम गरी बिगोबमोजिमको रकम असुलउपर गराई सोही ऐनको दफा २३(१) बमोजिम बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षकैद हुन माग दाबीसहित मुद्दा दर्ता गरिएको हो । त्यस्तै ओम ज्वेलर्सका प्रोपाइटर रामबाबु साह र उक्त फर्मको कारोबार गर्ने मुख्य व्यक्ति निजकै छोरा अनिलकुमार साहले आव २०७२÷०७३ देखि २०७४÷०७५ सम्म नै फर्म र व्यक्तिगत बैंक खाताको कारोबारलाई आय विवरणमा नै नदेखाई वास्तविक आय लुकाई कम राजस्व तिर्ने नियतले गलत लेखा तयार गरी सरकारलाई तिर्नु÷बुझाउनुपर्ने वास्तविक रकमभन्दा कम राजस्व बुझाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ को (क) (ख) (घ) र (छ) बमोजिमको कसुर गरी जम्मा ५९ लाख ९३ हजार ७ सय ९५ रुपैयाँ ८१ पैसा बराबर राजस्व चुहावट गरेको भेटिएपछि सोही ऐनको दफा २ (छ१) बमोजिम सोही रकमलाई बिगो कायम गरी रामबाबु साह र अनिलकुमार साहबाट बिगो असुल गरी गराई सोही एनको दफा २३(१) बमोजिम बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षकैद हुन मागदाबी गरी मुद्दा दर्ता गरिएको छ ।
यसरी विभागले विभिन्न समयमा राजस्व छली गर्ने फर्म (कम्पनी)विरुद्ध पौने २ अर्बभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो । यसैगरी नक्कली बिलबीजक र नक्कली भ्याट बिलबाट कारोबार गरी कर छली गर्नेमाथि पनि विभागले मुद्दा दर्ता गराएको थियो । तत्कालीन समयमा सो मुद्दामा देशमा उच्च घरानीयाँको रुपमा रहेका कम्पनीबाट सो अवैध काम गरी करछली गरेको ठहर गरी बिगो जरिवाना र छली राजस्वका साथै कर असुलउपर गर्नु÷गराउनु भन्ने आदेश राजस्व न्यायालयबाट भए पनि अहिलेसम्म सो रकम असुल गर्न सरकारले सकेको छैन । कानुनी छिद्रताको फाइदा उठाउँदै सो मुद्दाको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा हालेपछि अहिले नक्कली भ्याटबिल प्रकरणको मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
त्यस समयमा नक्कली भ्याट बिल प्रकरणमा औद्योगिक घराना चौधरी ग्रुप, गोल्छा ग्रुप, विशाल ग्रुप, शंकर ग्रुप, वरुण डेभलपर्स, भाटभटेनी सुपरमार्केट र चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी रहेका छन् । राजस्व विभागको छानबिनमा ५२ कम्पनीले नक्कली काम गरेको तथ्य सार्वजनिक भएको थियो । त्यसमध्ये पनि ३१ कम्पनीले नक्कली भ्याटबाट राजस्व छलेको विभागको अनुसन्धानमा पाइएको थियो । ३१ कम्पनीमध्ये २४ वटा कम्पनीले नक्कली भ्याट बिलको कारोबार गरी २ अर्ब ७० करोड रुपैयाँको भ्याट र आयकर छलेको विभागले गरेको अनुसन्धानको निष्कर्ष थियो । ७ वटा कम्पनीले निकासीको नक्कली प्रमाणपत्र पेस गरेर ८९ करोड रुपैयाँको भ्याट फिर्ता लिएको अनुसन्धानमा खुलेको थियो ।
२०५४ सालमा पहिलोपटक भ्याट प्रणाली कार्यान्वयनमा आएको हो । यो उपभोक्ताबाट असुलेर राज्यकोषमा दाखिला हुने कर हो । नक्कली भ्याट बिल प्रकरण अनुसन्धान भएको १० वर्ष पुग्न लाग्दासमेत यसले किनारा पाउनसकेको छैन । यस्ता गतिविधिमा कतिपय सरकारी निकायसम्म संलग्न रहेको छानबिन प्रतिवेदनमा उल्लेख छ। छानबिन टोलीले ५ सयभन्दा बढी करदाताको अनुसन्धान गरेको थियो।

Facebook Comments

LEAVE A REPLY