क्यान्टिनका कामदार कसरी भए अन्नपूर्ण होटलको मालिक ?

51

रोशन कार्की

देशमा अवैध साँठगाँठ गरेको खण्डमा धेरै तलब र ठूलो ठाउँमा जागिर नखाई पनि पाँचतारे होटलको मालिक बन्न सकिन्छ होला ? सामान्य होटल सञ्चालन गर्नमा लाखांै रुपैयाँ लगानी गर्दा पनि होटलको मालिक हुन नसक्ने देशमा चमेनागृह (क्यान्टिन) मा कारिन्दा अर्थात् कामदारले कसरी भए पाँचतारे होटल अन्नपूर्ण होटलको मालिक ? अन्नपूर्ण होटलको सेयरधनी हुन कति सम्पत्ति चाहिन्छ ? सेयर खरिद गर्ने रकम कहाँबाट आयो क्यान्टिनका कारिन्दासँग ? अहिले यही प्रश्न गरिन थालेको छ चियापसल, चोक र सार्वजनिक सवारी साधानमा । तर यसको उत्तर अझै भेटिएको छैन ? क्यासिनो अन्नामा रहेको क्यान्टिनका कारिन्दा अन्नपूर्ण होटलको मालिक नै भएको पाएपछि लामो समयदेखि तलबभत्ता नपाई बेवारिसे बनेको क्यासिनो मजदुरहरु ने चकित परेका छन् ।
दरबारमार्गस्थित रहेको पाँचतारे होटल अन्नपूर्णको क्यासिनो अन्नामा रहेको स्टाफ क्यान्टिन (चमेनागृह) को कारिन्दा सोही होटलको मालिक भएको पुष्टि भएको कागजात बोकेर पीडित मजदुरहरु चारतिर भांैतारिएका छन् । मजदुरको भेषमा बसेका उदयपुर जिल्ला सोरुगा गाविस वडा नं. ५ स्थायी घर भई हाल काठमाडौं महानगरपलिका वडा नम्बर १० मा बस्ने नकुलकुमार खड्का सो होटलको हजारौ कित्ता सेयर धनी रहेको भेटिएपछि दुई खालको चरित्र भएको मान्छे भेटिएको मजदुरको भनाइ छ । सो होटलले गत तीन वर्षअघि गएको भूकम्पको बहाना बनाएर बन्द गराएको क्यासिनो अन्नाका ९२२ जना मजदुरलाई विना जानकारी हटाएर बेवारिसे बनाएपछि आन्दोदनमा रहेका मजदुरसँगै आफू पनि पीडित भएको भन्दै मजदुरको आन्दोलनमा सहभागी भएका थिए । तर, उनी व्यवस्थापनको पक्षबाट मजदुरहरुको भित्री कुरा पत्ता लगाउनका लागि मजदुरको नाममा छोडिएको सुराकी भएको ठहर क्यासिनो अन्ना मजदुर संघर्ष समितिको रहेको छ ।
मजदुरसँग मिलेको देखाएर गोप्य सूचना होटल व्यवस्थापक समक्ष पु¥याउँदै आएको समेत आरोप आन्दोलिन मजदुरहरुको रहेको छ । अन्ना क्यासिनोको परिचय पत्र बोकेर तलबभत्ता, सेवासुविधा पाउनुपर्ने माग राख्दै आन्दोलनमा सहभागी भएका खड्काकै कारण पहिलो चरणको आन्दोलन तुहिन पुगेको पीडित मजदुरहरुको भनाइ रहेको छ । पछिल्लो समयमा प्राप्त कागजातअनुसार खड्काको नाममा खड्काको काठमाडौं महानगरपालिका वडा नम्बर ३१ दरबारमार्गस्थित अन्नपूर्ण होटलको परिसरमा रहेको क्यासिनो अन्नाको लाइसेन्स प्राप्त कम्पनी अन्नपूर्ण इन्टरनेशनल प्रालिको प्रतिवादी तप्तबहादुर विष्टको नाममा रहेको सेयरमध्ये कित्ता नं. १११ देखि २४०३ सम्मको सेयर थान २२९२ नकुलकुमार खड्कालाई नामसारी गरी २०६८ कात्तिक २५ गते रकम बुझेको पाइएको छ । सेयर कित्ता नं. १११ देखि ११४६० सम्मको ११३५० थान सेयर तप्तबहादुर विष्टका नाम रहेको भन्ने कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त च. नं. ३१० २०६९ कात्तिक २० गतेको पत्रबाट प्रस्ट हुन आएको क्यासिनो अन्ना मजदुर संघर्ष समितिले जनाएको छ । सो संर्घष समितिका संयोजक गोपाल राईले भने आफ्नै साथीहरुको बीचमा बसेर गोप्यकुरा व्यवस्थापक समक्ष लैजाने काम गरेकाले खड्काबाट ठूलो गल्ती गरेको भन्दै सो समूहमा आबद्ध नरहेको समेत बताए । खड्काको नाममा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–२ बालकोटमा आलिशान घर र सोही घरसँगै रहेको जग्गासमेत रहेको छ । अन्ना क्यासिनोको स्टाफ क्यान्टिनमा कारिन्दा भएर काम गर्दै आएका खड्काको होटलको सेयर बालकोटलमा घरजग्गा कसरी खरिद गरे भन्नेबारे शंका उत्पन्न भएको मजदुरहरुले बताए ।
एकातर्फ क्यासिनो मजदुरलाई बुझाउनुपर्ने तलबभत्ता र अन्य सेवासुविधा नदिई बसेको अन्ना क्यासिनोका सञ्चालकहरु अहिले सम्पर्कमा आउन चाहेका छैन्न भने सरकारलाई बुझाउनुपर्ने अर्बौं रुपैयाँ बक्यौता रकमसमेत नबुझाएपछि सरकारले कडा कारबाही गर्ने तयारी समेत गरेको छ । सरकारले तत्कालीन समयमा नेपाल रिक्रिएसन सेन्टरअन्तर्गत चलेका चारवटा क्यासिनोबाट ३५ करोड ४० लाख रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको र सो रकम पटक–पटक चुक्ता गर्न पत्रचार गरे पनि अटेर गरी बसेपछि अन्न्त कारबाहीको प्रक्रियामा लगेको छ ।
पर्यटन विभागले क्यासिनोको बक्यौता नतिरेर सम्पर्कमा नआाएको नेपाल रिक्रिएसन सेन्टरको साढे तीन रोपनी जग्गा लिलाम गरेर असुली गर्ने अन्तिम तयारी समेत गरेको छ । विभागबाट पटक–पटक ताकेता गर्दा पनि रिक्रिएसन सेन्टरले बक्यौता नतिरेपछि उसको नाममा रहेको सम्पत्ति लिलाम गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो । सो कम्पनीको नाममा रहेको कालिमाटीको जग्गा लिलाम प्रक्रिया अगाडि बढाएको छ । सो जग्गा लिलामीका लागि सार्वजनिक सूचना निकालेर प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । रिक्रिएसन सेन्टरले होटल अन्नपूर्णको क्यासिनो अन्ना, होटल सोल्टीको क्यासिनो नेपाल, होटल ह्यातको क्यासिनो तारा र एभरेष्ट होटलको क्यासिनो एभरेष्ट सञ्चालन गरेको थियो । यस सेन्टरका सञ्चालक भारतीय नागरिक राकेश वादवा हुन् ।
सो क्यासिनोबाट पीडित बनेका मजदुरद्वारा अन्तर्राष्ट्रिय श्रम सगठनको नेपालका लागि क्षेत्रीय प्रमुख रिचर्ड हावर्डलाई भेट गरी आफूहरुले पाउने तलबभक्ता, सञ्चयकोष र अन्य सेवा सुविधा जतिसक्दो चाँडो उपलब्ध गराइदिन आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाएका थिए । यसैगरी, सो टोलीले अन्नाबाट बेरोजगार बनाएका पीडित ९२२ जनामाथि परेको समस्याको समाधान गर्नभन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपाल, संयुक्त टे«ड युनियन समन्वय केन्द्र, होटल डेला अन्न्पूर्ण दरबारमार्ग, नेपाल एटलान्टिक रिक्रियशन प्रालि (क्यासिनो प्यालेस), महानगरीय प्रहरी वृत्त दरबारमार्ग, श्रम कार्यालय बाग्मती, टेकु, पर्यटन विभाग भृकुटीमण्डप र होटल एशोसिएसन अफ नेपाल (हान) मा समेत पत्र बुझाएको संयोजक राईले बताए ।
दरबारमार्गस्थित होटल डेला अन्नपूर्ण परिसरमा अवस्थित अन्नपूर्ण इन्टरनेशनल प्रालिद्वारा सञ्चालित क्यासिनो अन्नामा कार्यरत ९२२ जना मजदुरहरुले विगत लामो समयदेखि पाउनुपर्ने तलबभत्ता र अन्य सेवासुविधा समेत नदिई एकतर्फीरुपमा सबै मजदुरलाई विना जानकारी क्यासिनो अन्ना बन्द गररे मजदुरहरुलाई बेवारिसे बनाएको दुखेसो पीडितहरुको रहेको छ । मजदुरले पाउनुपर्ने तलबभत्ता र सेवा सुविधा नै नदिई सो होटल परिसरमा रहेको क्यासिाने अन्नालाई बन्द गराई होटल व्यवस्थापकबाट विद्यमान सरकारी ऐनविपरीत क्यासिनो प्यालेसलाई बेचेको पीडितहरुको आरोप रहेको छ । आन्दोलनरत पीडित मजदुर समुहले गत बिहीबार श्रममन्त्रीलाई ज्ञापनपत्र पेश बुझाएका थिए । संयोजक राईका अनुसार यस क्यासिनो अन्नामा सञ्चालकहरु एवं स्वामित्व परिवर्तन भए पनि हामी श्रमिकहरुले पाउनुपर्ने तलब, भत्ता, सञ्चयकोष रकम, कर्मचारी कल्याणकारी कोष, उपदान, अवकाश प्राप्त गर्ने कर्मचारीले प्राप्त गर्नुपर्ने रकम सहित अन्य रकमहरु २०७० साल भदौ महिनापश्चात् विभिन्न समस्या देखाउँदै हामी बहालवाला श्रमिकहरुलाई आजको मितिसम्म पनि उल्लिखित कर्मचारी मजदुरहरुले प्राप्त गर्नुपर्ने रकम उपलब्ध नगराएकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताए ।
सो अवधिसम्ममा मजदुरहरुले करिब ४० करोडा रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ । अन्नपूर्ण इन्टरनेशनल प्रालिले क्यासिनो सञ्चालनको दायित्व २०६८ सालबाट लिँदै आई २०७० साल भदौ महिनादेखि हामी मजदुरहरुको पाकेको सेवा सुविधा उपलब्ध नगराएको कारण श्रम कार्यालय टेकुमा माघ २२ गतेका दिन विधिवत् उजुर गरी सो बमोजिम श्रम कार्यालयबाट २०७१ वैशाख १६ मा श्रम कार्यालय, काठमाडौंले अन्नपूर्ण इन्टरनेशनलका व्यवस्थापकका नाउँमा फरफारक गर्नुपर्ने रकम लगायत सेवा निवृत्त एवं भूतपूर्व कर्मचारीहरुलाई उपलब्ध गराउन परिपत्र गरेता पनि सो पत्रको कार्यान्वयन नभएको समेत सो ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
यसैसम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा क्यासिनो सञ्चालकहरुको सेयर सम्बन्धमा दिएको पत्र अनुसार २०६८ साल कात्तिकपश्चात् सेयर खरिदबिक्री भएको भएमा रद्द गर्नभन्दै निवेदन बुझाएका थिए । सो निवेदकको एक नम्बरमा उनै सेयरधनी नकुल खड्का, अध्यक्ष नेपाल पर्यटन, होटल क्यासिनो तथा रेष्टुरेण्ट श्रमिक संघ क्यासिनो अन्ना उल्लेख गरेर सही छाप गरेको भेटिएको छ । यसरी एकातर्फ आफू होटलको सेयरधनी भएर बसेका खड्का अर्कोतर्फ मजदुरसँगै मिलेर आन्दोलन गरी अन्य पीडित मजदुरको विपक्षमा गैरकानुनी खेल खेलेको आरोप संर्घष समितिको रहेको छ । यसरी गैरकानुनी तबरबाट मजदुरको भेषमा मजदुरकै विपक्षमा लागेर पीडित बनाउने कार्यमा संलग्न हुनेमाथि कस्तो कारबाही हुनेछ त्यो भने हेर्ने बाँकी रहेको छ । जय होस् । साभार : जनमञ्च साप्ताहिकबाट ।

Facebook Comments

LEAVE A REPLY