टुँडिखेलमा सामूहिक श्रद्धाञ्जली आज, यसरी गरिनेछ मन्त्री अधिकारीको अन्त्येष्टि

39

ताप्लेजुङको पाथीभरास्थित सिस्ने खोला क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसति सातै जनाको शव पोस्टमार्टम भएको छ।

पोस्टमार्टम नसकिएकै कारण हिजै (बिहीबार) ३ बजे टुँडिखेलमा हुने भनिएको सामूहिक श्रद्धाञ्जलि कार्यक्रम आज (शुक्रबार) का लागि सारिएको थियो।

महाराजगन्जस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका फरेन्सि मेडिसिन विभागका अनुसार बिहीबार राति सवा १ बजे सातैवटा शवको पहिचान भएको हो।

पोस्टमार्टम सकिएकाले शुक्रबार बिहान परिवारलाई शव बुझाउने तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

शव पोस्टमार्टममा ढिलाइ भएपछि बिहीबार सैनिक मञ्च टुँडिखेलमा पूरै तयारी गरेर पनि राष्ट्रिय सम्मानको कार्यक्रम स्थगित भएको थियो ।  

शुक्रबार बिहान ८ बजे टुँडिखेलमा सुरु हुने श्रद्धाञ्जलि कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसहित विशिष्ट व्यक्तित्व, सर्वसाधारणले श्रद्धाञ्जलि दिने कार्यक्रम छ। 

ताप्लेजुङमाभएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो।

मन्त्री अधिकारीको अन्त्येष्टि पोखरामा
हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर शुक्रबार गृहनगर पोखरा लगिने भएको छ।

काठमाडौंमा श्रद्धाञ्जलि कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर पोखरामा लगेर शवयात्रासहित अन्त्येष्टि गरिने नेकपा नेताहरुले बताएका छन्। 

अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ। पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जलि दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ।  


Facebook Comments

LEAVE A REPLY