विवाहभन्दा खर्चिलो व्रतबन्ध

66

–सुभानु आचार्य 

ललितपुर, गोदावरी, गोदावरी नगरपालिका–४ बडिखेलका ५५ वर्षीय नरबहादुर पहरीको नाति आशिषको ११ वर्षको उमेरमा व्रतबन्ध हँुदैछ । नरबहादुरले नातिको व्रतबन्धमा ३०० साथीभाइ, नातागोता र आफन्तलाई निमन्त्रणा गर्ने बताउनुभयो । 

उहाँले निमन्त्रणा गरेका मध्ये २५ महिलालाई पच्छेउरा र चोलो अनि २५ पुरुषलाई सात हातको फेटा र टोपी नातिको व्रतबन्धमा बाँड्नैपर्ने चलन भएको जानकारी दिनुभयो । 

“रु ३० हजार देखि ५० हजारको बाजा हाल्नुपर्छ, घरका हरेक सदस्यलाई नयाँ लत्ताकपडा किन्नुप¥यो, १४ थरीका गेडागुडी भिजाएर सितन बनाउनुपर्छ, स्वस्थानी व्रतकथाको अन्तिम दिन देवालीमा व्रतबन्ध गर्ने चलन रहँदा अनिवार्य हाँस, कुखुरा, बोका र कुमारीपाठीको मासु चाहिन्छ, सगुनमा जाँड, रक्सी, छ्याङ, चिसो, अण्डा, पान र माछा सबैको जोडजाम गर्न र भोज खुवाउन रु पाँच लाख खर्च हुने अनुमान गरेको छु” नरबहादुरले भन्नुभयो । 

बडिखेल घर भएका राजु पहरी र सरस्वती पहरीका ११ वर्षीय छोरा अजयको पनि यही फागुन ७ गते व्रतबन्ध हँुदैछ । राजुले छोराको व्रतबन्धमा ४०० साथीभाइ, नातागोता र आफन्तलाई निमन्त्रणा गर्ने जानकारी दिनुभयो । 

“व्रतबन्ध अघिपछि गरी लगभग एक हप्ताको भोज, तीन खसी, दुई हाँस, तीन कुखुराको भाले, तीन बोरा चामलको जाँड, १०० लिटर रक्सी, भोज, लत्ताकपडा, बाजा बजाउन र भाँडाकुडा किनमेल गर्न रु पाँचदेखि साढे पाँच लाख रकम खर्च हुन्छ”, राजुले भन्नुभयो । 

त्यसैगरी बडिखेलकै ५४ वर्षीय अलैँची पहरीका १३ वर्षीय नाति विकलको पनि फागुन ७ गते व्रतबन्ध हुँदैछ । नातिको व्रतबन्धमा अलैँचीले ६०० देखि ७०० साथीभाइ, नातागोता र आफन्त निमन्त्रणा गर्नुपर्ने बताउनुभयो । 

“नजिकका पुरुष आफन्तलाई २०० फेटा, टोपी र २०० पच्छेउरा चोलो, धोती बाँड्नुपर्छ”, दुईवटा पोथी हाँस, पाँच कुखुराको भाले, एउटा कुमारीपाठी, चार खसी, ३० किलो कुखुराको मासु, बाजा, भोज र भाँडाकुडा किनमेलमा रु छ लाखदेखि सात लाख खर्च हुन्छ”, अलैँचीले भन्नुभयो । 

नेपाली परम्परा र संस्कारअनुसार विवाह अन्य कार्यको तुलनामा तामझामका साथ गर्ने चलन छ । यस्ता सुखद् काम मानिसले आफ्नो गच्छेअनुसार गर्ने गर्छन् । विवाहमा विशेषतः सबै मानिसको बढी नै खर्च हुने भए पनि बडिखेलका पहरी समुदायको व्रतबन्धको तुलनामा साधारणनै मान्नुपर्छ । 

यी जातिले विवाहभन्दा बढी खर्च व्रतबन्धमा गर्ने गर्छन् । यिनीहरुको परम्परा, संस्कृति र रीतिरिवाज नेवार समुदायको जस्तै देखिए पनि कुनै रुपमा मेल नखाने यी समुदायका अग्रज दलबहादुर पहरीले बताउनुभयो । 

पहरीले हरेक वर्ष स्वस्थानी व्रतकथा समाप्तिको अन्तिम दिन देवाली गर्ने गर्छन् । यही देवालीमै व्रतबन्ध गर्ने यो सदियौँ पुरानो चलन हो । पहरीको व्रतबन्ध विवाहसरह विशेष किसिमले तामझामका साथ गर्ने भएकाले हरेक वर्ष यिनीहरुको व्रतबन्धमा विभिन्न प्रकारका बाजागाजाको धुनले त्यो क्षेत्रनै गुञ्जयमान हुने गर्छ । 

यो जातिमा विशेषतः प्रेम विवाह गर्ने चलन बढी छ । हरेक बिजोर वर्ष यिनीहरुले छोरा नातिको व्रतबन्ध गर्ने गर्छन् । यदि व्रतबन्ध गर्न आँटेको वर्ष कुनै छेकथुन भएमा यी जातिले अर्काे बिजोर वर्षमा गर्छन् । 

यो जातिले देवालीको दिन प्रत्येक घरबाट हाँस अनिवार्य निकाली काट्ने सदियौँ पुरानो चलन रहेको छ । पहरीको देवाली हाँसबिना कुनै पनि किसिसले सम्पन्न हुँदैन । यिनीहरुले जतासुकै गएर भए पनि देवालीलाई हाँस अनिवार्य खोजेर ल्याउनैपर्ने हुन्छ । 

हाँस काट्ने, चामलको रोटी (चटामरी) पकाउने, कुलदेवतालाई चढाउने, रोटी माथि हाँसको टाउको राखेर घरको थकालीलाई दिने चलन छ । सादा चामलको रोटीमा हाँसको फिला हाली सासू र जेठानीलाई घरकी कान्छी बुहारीले दिने चलन यिनीहरुमा अझै पनि कायमै छ । 

यी जातिको व्रतबन्धमा मामाचेला र फुपूचेला ल्याउने चलन छ । भान्जाको व्रतबन्धमा मामाले लुगा, जुत्ता, गहना गाग्रो, करुवा, पूजाको थाली, १४ थरीका काँचो वा पाकेको सितन, जाँड, रक्सी, चिउरा, मासु दिन्छन् । 

भान्जाको व्रतबन्ध सिध्याएर मामामाइजूलाई बिदा नगरेसम्म उनीहरु भान्जाको घरमा बस्ने चलन छ । भान्जाको व्रतबन्ध सिध्याएर घर फर्कंदा उनीहरुलाई काटेर खुइल्याएको बोकाको फिलामा रु चार÷पाँच हजार राखेर धूपबत्ती बालेर पूजा गरी बिदा गर्नुपर्ने बताइन्छ । 

त्यसैगरी फुपू पनि भदाहा वा माइतीले व्रतबन्ध समाप्तिपछि बिदा नगरेसम्म माइतीनै बस्नुपर्छ । फुपूले भदाहाको व्रतबन्धमा काटेर खुइल्याएको कुमारीपाठीलाई धूपबत्ती बालेर पूजा गर्नुपर्छ । मामामाइजूले भान्जाको व्रतबन्धमा जति रकम हालेका हुन्छन् त्यसको आधा रकम फुपूले पनि भदाहालाई हाल्नुपर्ने हुन्छ । 

व्रतबन्धको चार दिनपछि मामामाइजू र फुपूलाई उनीहरुले ल्याएको भोज वा सामग्रीमा आधा फर्काउनुपर्ने हुन्छ । आफन्तसहित मामामाइजू र फुपूलाई मादल बजाएर यिनीहरुले सगुनका साथ गीत गाउँदै घर फर्काउने पुरानो चलन छ । यो जातिको चलन नेपालका अन्य जातिको चलनमा खासै मेल खाँदैन । 

यो जातिको घरमा हरेक महीना कम्तीमा एक वा दुई चाडपर्व परिरहन्छ । बाँसको हस्तकला निर्माण गर्ने यो जातिको पुरानो पुख्र्यौली पेशा हो । बडिखेलका ६० प्रतिशत पहरीले बाँसको हस्तकला निर्माण गरी आफ्नो दैनिकीको साथै विभिन्न चाडपर्व, परम्परा, रीतिरिवाज मनाउने गरेका छन् । 

Facebook Comments

LEAVE A REPLY