चिनी उत्पादन नहुदै उद्योगीका गोदाम चोरीपैठारीको चिनीले भरिभराउ

18

रोशन कार्की
काठमाडौं । चिनी उत्पादन गर्न स्थापना भएका उद्योगहरुले चिनी उत्पादन नहुँदै चोरीपैठारीबाट भित्र्याएको चिनीलाई नेपालको उत्पादन भन्दै गोदाममा स्टक राखेको भेटिएको छ । प्रत्येक वर्ष चिनी उत्पादनका लागि आवश्यक उखुको चिनी उद्योग सञ्चालकले खरिदनै नगरी अधिकांश उखु खेतमै सुकेर गएको अवस्थामा गत वर्ष उत्पादन गरेको चिनी गोदाममा रहेको र बिक्री नभएको भन्दै केही व्यवसायीहरुले चिनीको मूल्यवृद्धि गर्न दबाब दिएपछि सो रहस्य खुलेको हो।
प्राप्त जानकारीअनुसार हाल नेपाली उद्योगीको गोदाममा चोरीपैठारी गरी नेपाल भित्रिएको ४० हजार मेट्रिकटन चिनी गोदाममा राखेको भेटिएको छ । अवैधरुपमा नेपाल भित्र्याएको चिनीलाई गोदाममा थन्क्याएर चिनी उद्योगहरुले यो सिजनको उखु खरिद गर्नमा आलटाल गर्दै आएका छन् । गत वर्षकै चिनी बिक्री नभएको भन्दै यस वर्ष उत्पादन भएको चिनी पनि बिक्री नहुने निश्चित भएको भन्दै चिनी मिलहरु आर्थिक संकटमा फसेको देखाएर चोरीपैठारी गरी ल्याएको गुणस्तरहीन चिनीलाई नेपाली उत्पादनको नाम दिएर महंगोमा बेच्ने तयारी गरेको उपभोक्तावादीहरुले आरोप लगाएका छन् । सो अवैध कार्यमाचिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवाल, उपाध्यक्ष राजेशकुमार केडियालगायतको समूह सक्रिय भएर सरकारलाई दबाब दिँदै आएको छ ।
यसरी चोरीपैठारी गरी नेपाल भित्र्याएर चिनी गोदाम गर्नेमा हिमालयन सुगर मिलमा ७० हजार क्विन्टल, एभरेष्ट सुगर मिलमा एक लाख ५० हजार क्विन्टल, इन्दुशंकरको ६८ हजार क्विन्टल, रिलायन्स सुगर मिलको ८५ हजार क्विन्टल र अन्य चिनी मिलसहित ४० हजार मेट्रिक टन चिनी रहेको छ । नेपालमै उत्पादित चिनीको नाममा आयातित चिनीलाई नेपाली ट्याग लगाएर महंगोमा बिक्री गर्ने रणनीतिअनुसार उद्योगहरु आर्थिक संकटमा परेको नक्कली विवरण देखाएर सरकारलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्दै आएका छन् । व्यापारीहरुले पाकिस्तान र भारत र चीनबाट चोरीपैठारीबाट दुई लाख ४० हजार मेट्रिक टन चिनी नेपाल भित्र्याएको पाइएको छ ।
विश्व बजारमा चिनीको खुद्रा मूल्य घट्दै गएपछि विभिन्न योजना बनाएर चिनी आयातमा रोक लगाउन र नेपाली बजारमा चिनीको कृत्रिम अभाव सृजना गरेर महंगोमा बेच्चे रणनीतिअनुसार सो संघका अध्यक्ष अग्रवाल लागिपरेको आरोप समेत लागेको छ । नेपालमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने तथ्याङ्क रहेको छ। गत वर्ष नेपाली उद्योगहरुले एक लाख ७८ हजार मेट्रिक टन चिनी उत्पादन गरेको दाबी व्यवसायीहरुको रहेको छ । आयात भएको चिनी ८० हजार मेट्रिक टन बजारमा रहेको व्यापारीहरु दाबी गर्छन्। उद्योगीहरुकै स्वार्थपूर्तिकालागि सरकारले कुनै अनुसन्धान नगरी आयातमा प्रतिबन्ध लगाएको थियो । अर्कोतर्फ किसानसँग खरिद गरेको उखुको रकम अझैसम्म भुक्तानी गरेका छैनन् ।
अर्कोतर्फ सरकारसँग लिएको अनुदान रकम अन्य प्रयोजनमा खर्च गरेर उखु किसानको वृत्तिविकासमा खर्च गरेका छैनन्। अवैधरुपमा चिनी आयात गरी गोदाममा राखेर चिनी मिल गत वर्षदेखि घाटामा गएको भन्दै नक्कली विवरण सरकारलाई बुझाउँदै आएका छन् । यसरी नक्कली विवरण तयार गरेर सरकारलाई बुझाउने जिम्मा संघका अध्यक्ष अग्रवालले लिएको समेत सम्बन्धित क्षेत्रका व्यवसायीले गोप्य रुपमा जानकारी गराएका छन् । उद्योग घाटामा गएको भन्दै मिलले खरिद गरेको उखुको भुक्तानी गर्न नसकेको भन्दै सरकारलाई झुट बोल्दै आएका छन् । उद्योगले किसानलाई उखुको भुक्तानी दिन अझै चाहेका छैनन् ।
यसरी उखु मिलले उखु खरिद गरेको लामो समयसम्म भुक्तानी नगर्दा किसान चरम समस्यामा परेका छन्।सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको भएपनि अहिलेसम्म पाउनसकेका छैनन्। तर सरकारसँग भने उद्योगीहरुले सो अनुदान रकम लिएर होटल र अन्य प्रयोजनमा खर्च गरिसकेको पाइएको छ । व्यवसायीहरुले सीमापारबाट ल्याएको उखुमा पनि सरकारी अनुदान लिएको पाइएको छ ।
उद्योगीहरुले उखु क्रसिङ सुरु हुनुअघिनै उद्योगीको गोदाममा ठूलोमात्रामा चिनी रहेको पाइएको हो ।चालू वर्षमा उखुको उत्पादन अत्यधिक बढेको पाइएको छ। तर ती उखु चिनीमिलले खरिद नगर्दै टनका टन चिनी गोदाममा भेटिएसँगै चोरीपैठारीबाट नेपाल भित्र्याएको समेत प्रष्ट हुन आएको उपभोक्तावादीको भनाइ छ । हाल सञ्चालनको अनुमति पाएका १३ उद्योगमध्ये अत्यधिक रुपमा चोरीपैठारीको चिनी बिक्री गर्दै आउनेमा पाँचवटा रहेको समाचार आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । चिनी उत्पादन संघकै अध्यक्ष शशीकान्त अग्रवालको कम्पनी पहिलो नम्बरमा परेको छ । अग्रवालको जनकपुरमा रहेको एभरेष्ट सुगर केमिकल इन्डस्ट्रिज, सिराहाकै हिमालय चिनी उद्योग, सिद्धार्थ चिनी उद्योग (हाल नाम परिवर्तन गरी बागमती कायम) महेन्द्र सुगर मिल, श्रीराम सुगर मिल्सले नेपाली उत्पादन भन्दै चोरीपैठारी गरी नेपाल भित्र्याएको चिनी बिक्री गर्दै आएको पाइएको छ ।
यसरी अवैध कारोबार गर्नेमा गोल्छा र विशाल ग्रुपको लगानीमा मोरङमा रहेको इस्टर्न सुगर मिल, शशीकान्त अग्रवालको लगानी रहेको सिराहास्थित हिमालय सुगर मिल, जनकपुरमा रहेको शशीकान्त अग्रवालकै एभरेष्ट, केडिया समूहको लगानीमा सर्लाहीमा रहेको इन्दुशंकर सुगर मिल, राकेश अग्रवालको सर्लाहीमै रहेको अन्नपूर्ण सुगर मिल, सर्लाहीकै अर्को वीरेन्द्र कनौडियाको महालक्ष्मी सुगर मिल, रौतहटमा रहेको श्रीराम सुगर मिल, कलैया बारामा रहेको राजकुरमा गाडियाको रिलायन्स सुगर मिल, जगदिश अग्रवालको नाममा रहेको बाग्मती सुगर मिल, राकेश अग्रवालको इन्दिरा सुगर मिल, सुनवलमा रहेको मनिष अग्रवालको नाममा रहेको लुम्बिनी सुगर मिल, धनगढी महेन्द्रनगरमा गणेश बोगटीको नाममा रहेको बागेश्वर सुगर मिल र शेखर श्रेष्ठको नाममा कञ्चनपुरमा रहेको महाकाली सुगर मिलले स्वदेशमै चिनी उत्पादन गर्ने स्वीकृति लिएको भए पनि सो उद्योगबाट नगन्यमात्रामा चिनी उत्पादन हुँदै आएको छ । भने मागअनुुसारको चिनीको भारतर बंगलादेशबाट आयात गरी नेपाली उत्पादनको ट्याग लगाएर बजार पठाउँदै आएको पाइएको छ ।

Facebook Comments

LEAVE A REPLY