उदयपुर सिमेन्टमा कर्मचारीको अवैध खेल : विद्युत्भार कटौतीको बहाना बनाउदै उद्योग घाटामा देखाउदै कमिशन असुल्दै !!!

74

रोशन कार्की
काठमाडौं । लामो समयदेखि विभिन्नकारण घाटामा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योगहरु विस्तारै नाफामा गएसँगै कम्पनीका कर्मचारीकै कारण पछिल्लो समयमा पुनः घाटामा जान थालेको तथ्यांक सार्वजनिक भएको छ । राजनीतिक खिचातानी र आफ्ना कार्यकर्ताको भर्ती केन्द्रको रुपमा रहेको उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्टमा सरकारी लगानीअनुसारको उत्पादन गर्न नसकेर बन्दनै हुन पुगेको थियो ।
तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको समयमा पुनः सरकारबाट थप रकम विनियोजन गरी सञ्चालनमा ल्याएको हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग एकाएक नाफामा गएको भएपछि पछिल्लो समयमा उदयपुर सिमेन्ट उद्योग पुनः घाटामा गएको पाइएको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले गत चालू आर्थिक वर्षको १० वर्षयताकै बढी सिमेन्ट उत्पादन गरेको थियो । सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योग बेला–बेलामा राजनीतिक उतारचढावका कारण बन्द हुने गरे पनि चालू आव २०७३/२०७४ मा दशकयताकै बढी सिमेन्ट उत्पादन गर्न सफल भएको समाचार आर्थिक दैनिकले प्रकाशन गरेको छ ।
सो उद्योगकालागि चाहिने चुनढुङ्गा १८ किलोमिटर टाढा रहेको सिन्धाली चुनढुङ्गा खानीबाट ल्याउने गरिएको छ ।वि.सं. २०४४ मा दर्ता भई छ अर्ब ३० करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त कारखाना स्थापनाका लागि जापान सरकारले आर्थिक र प्राविधिक सहयोग गरेको थियो । वि.सं. २०४९ मंसिरबाट उत्पादन थालेको सो उद्योगले सुरुका दिनमा प्रतिदिन ८०० टन क्लिकर उत्पादन गर्दै आएको थियो ।

तत्कालीन उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेल मन्त्रालयको नीतिगत सहयोग र उद्योगका कर्मचारीको कार्यदक्षताका कारण पछिल्लो समय सिमेन्ट उत्पादन बढाएर नाफामा पुगेको थियो तर अहिले पुनः कर्मचारीकै कारण उद्योग घाटामा गएको सम्बन्धित क्षेत्रका विज्ञहरुले बताएका छन् ।
विगतमा मासिक ३० करोड रुपैयाँ घाटा व्यहोर्दै आएमा व्यवस्थापनकै कारण गत आवमा १७ करोड रुपैयाँआम्दानी गरी नााफामा गएको थियो । पौडेल उदयपुर सिमेन्टको महाप्रबन्धक भएर गएसँगै लामोसमयदेखि घाटामा रहेको सरकारी स्वामित्वको सिमेन्ट नाफामा गएको थियो। तर अहिले पौडेल नेपाल आयल निगममा सरुवा भएसँगै सिमेन्ट उद्योग भने घाटामा जान सुरु गरेको छ ।गत पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म विद्युत् भार कटौती हुन थालेपछि सिमेन्ट उद्योगले तीन करोडभन्दा बढी घाटा व्यहोर्नुपरेको सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहको भनाइ छ ।
पौडेल हुँदा पनि विद्युत् भारमा कटौती हुँदै आएको थियो तर उद्योग घाटामा गएको थिएन, एकाएक पौडेल सरुवा भएसँगै किन घाटामा जान थाल्यो भन्नेबारे भने निमित्त महाप्रबन्धक साहले भने केही भन्न चाहेका छैनन् ।एक महिनाअघिसम्म दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको सिमेन्ट उद्योगले अहिले विद्युत् भार कटौती हुन थालेपछि दैनिक ६५० मेट्रिक टनसम्म मात्र उत्पादन गरेर सिमेन्ट उद्योग घाटामा जान थालेको निमित्त महाप्रबन्धक साहको दाबी रहेको छ ।
निमित्त महाप्रबन्धक साहका अनुसार सिरहा लहान गाईघाटको विद्युत् लाइनको उद्योग क्षेत्रमा दैनिक विद्युत् भार कटौती हुनथालेको र सम्बन्धित निकायलाई पटक–पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि यसको समाधान नभएपछि उद्योगमा सिमेन्ट उत्पादनमा कमी आई पुनः घाटामा जान थालेको दाबी गरेको छ ।
उद्योग स्थापनाकालदेखि घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले डेढ वर्षयता आएर ५० करोड रुपैयाँभन्दा बढीको नाफा गर्न थालेको थियो । तत्कालीन उद्योगमन्त्री जोशीले उद्योगको सुधार गर्ने सम्बन्धमा सम्बन्धित निकायमा निर्देशन दिएअनुसार र थप आवश्यक रकम निकासा गरेसँगै सो उद्योग विस्तारै नाफातर्फ गएको थियो । मन्त्रीको निर्देशन भएअनुसार गत वर्षको माघ महिनादेखि नै उद्योग नाफामा लैजाने गरी उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिइएकोथियो । सोही महिनादेखि नै उद्योग नाफामा सञ्चालन हुँदै आई गत वर्षको वैशाख महिनाको अन्त्यसम्ममा उद्योगको उत्पादन परिमाणअनुसार १६ करोडभन्दा बढी नाफामा गएको सो उद्योगको रेकर्डमा उल्लेख छ ।
गत वर्ष सो उद्योगबाट दुई लाख २० हजार पाँच सय ६० बोराभन्दाबढी सिमेण्टबिक्री भएको थियो भने मागको चापलाई थेग्न सकेको थिएन । सोही अवधिमा गत वर्ष २९ हजार आठ सय बोरा सिमेण्ट बिक्री भएको तथ्याङ्क रहेको छ । गत आवमा कुल ५८ लाख १८ हजार ७ सय १३ लाख बोरा सिमेण्ट बिक्री भएकोमा सो वर्षको १० महिनामा कुल सिमेण्ट बिक्री बोरा १४लाख ७० हजार आठ सय चार भएको छ जुन गत वर्ष कुल बिक्रीभन्दा एक लाख १२ हजार छसय सत्रबोराले बढी बिक्री भएको थियो ।
यसरी घाटामा गएको सो उद्योग गत वर्षको चैत मसान्तसम्ममा १४ करोड ९८ लाख रुपैयाँ नाफा रहेकोमा गत वैशाख महिनामा १ करोड ३६ लाखनाफा वृद्धि भई वैशाख मसान्तसम्ममा १६ करोड ३४ लाख रुपैयाँ नाफा हुनपुगेको उद्योग एकाएक अहिले घाटामा गएको विवरण सार्वजनिक भएको छ । यसरी नाफामा गएको सो उद्योगमा पछिल्लो समयमा पुनः राजनीतिक कारण र व्यवस्थापनकै कारण विस्तारै घाटामा जानुको मुख्य कारण कर्मचारीकै लापरबाही र व्यक्तिगत स्वार्थकै कारण भएको उद्योगमै एक मजदुरले नाम नलेख्ने शर्तमा बताएका छन् । ती मजदुरका अनुसार महाप्रबन्धक सुरेन्द्र पौडेलले कामलाई बढी महत्व दिएर राजनीतिक दबाब र निर्देशनलाई बेवास्ता गरेकै कारण नाफामा गएको थियो, मजदुरहरुको समस्यालाई समाधान गरेर उद्योगमामात्रै ध्यान दिएकै कारण नाफामा गएको हो तर अहिले सोही व्यवस्थापनमा रहेकाहरुले व्यक्तिगत स्वार्थलाई पूरा गर्दै गएकाले उत्पादनमा कमी आई घाटामा जान थालेको हो ।’ सो घाटाको दोष सबै विद्युत् भार कटौती गरेको भन्दै व्यवस्थापन पानीमाथिको ओभानो भएको मजदुर नेताहरुको भनाइ रहेको छ ।

Facebook Comments

LEAVE A REPLY