उत्तरगङ्गा जलविद्युत् आयोजनाको अध्ययन गर्दै प्राविधिक टोली

9

गलकोट, प्रस्तावित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली बागलुङ आएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको राय र लगत सङ्कलनका लागि प्राविधिक टोली आयोजनास्थलमा खटिएकोे नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

प्राविधिक टोलीले आयोजना प्रभावित क्षेत्र ढोरपाटन र निसीखोलाको वातावरणीय प्रभाव मूल्याङ्कन र प्रभावित बन्न सक्ने स्थानीय बासिन्दा, आयोजनाभित्र पर्ने जग्गा, रूखलगायतको लगत सङ्कलनका लागि प्राविधिक टोली ढोरपाटन आएको ढोरपाटन नगरपालिकाले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक कृष्णप्रसाद जोशी, वातावरण विभागका सहनिर्देशक अच्युत दवाडी, वातावरणविद् विनोद प्याकुरेल, सिभिल इञ्जिनीयर कौशल घिमिरे र सिभिल इञ्जिनीयर कैशल अन्सारीलगायतको १० जनाको प्राविधिक टोलीले अहिले आयोजना स्थलको विस्तृत अध्ययन गरिरहेको छ । 

आयोजनाको क्षेत्र निर्धारण तथा कार्यसूचीसहितको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई आयोजना प्रभावित क्षेत्र ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा स्थलगत अध्ययनका लागि प्राधिकरणको टोली आएको नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक कृष्णप्रसाद जोशीले राससलाई बताउनुभयो । 

“अहिले आयोजना अध्ययनकै चरणमा छ,” सहायक निर्देशक जोशीले भन्नुभयो, “आयोजनाले समाजमा पार्न सक्ने भौतिक, जैविक, सामाजिक र सांस्कृतिक वातावरणको गम्भीर अध्ययन गरिरहेका छौँ ।” प्राविधिक टोलीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बस्ती स्थानान्तरणको सम्भावना, प्रभावितहरुलाई प्रदान गरिने मुआब्जा, स्थानीयवासीको मागका विषयमा स्थानीयवासीलाई राय सङ्कलनसमेत गरिरहेको छ । 

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना थोरै लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिने नेपालकै उत्कृष्ट आयोजना रहेको अध्ययन टोलीका सदस्य विभागका सहनिर्देशक दवाडीले बताउनुभयो । ठूला आयोजना निर्माण गर्दा कम विस्थापित हुने नेपालकै पहिलो आयोजना उत्तरगङ्गा जलाशययुक्त आयोजना रहेको दवाडीको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्यायन प्रतिवेदन भइसकेपछि आयोजना निर्माण गर्न अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेर निर्माणको काम थालिने प्राधिकरणको भनाइ छ । 

गण्डकी प्रदेशको समृद्धिका लागि आयोजनाले ठूलो भूमिका खेल्ने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताउनुभयो । ८२८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त जलविद्युत् आयोजनाको लामो समयसम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने या रुकुमतर्फ पठाउने भन्ने विषयमा विवादका कारण अगाडि बढ्न सकेको थिएन । 

आयोजना रुकुमतर्फ खसाल्दा जम्मा ३५० मेगावाट उत्पादन हुने भएपछि निसिखोला नै खसाल्ने निधो भएसँगै आयोजनाले गति लिएको छ । आयोजना निर्माण गर्न करीब ६०० घरधुरी विस्थापित हुनेछन् भने पाँच हजार कित्ता जमीन प्रयोग हुनसक्ने प्राधिकरणबाट खटिएकोे प्राविधिक टोलीले अनुमान गरेको छ । 

ढोरपाटनमा रहेको उत्तरगङ्गा नदीको पानीलाई एक हजार ३५० मिटर तल निसिखोलामा खसालेर विद्युत् उत्पादन गरिने लक्ष्य आयोजनाले राखेको छ । आयोजना निर्माणका लागि करीब १२० अर्ब खर्च लाग्नेछ । जलाशययुक्त जलविद्युुत् आयोजना निर्माण भएपछि बर्खा र हिउँदमा एकै किसिमको विद्युत् उत्पादन हुनेछ । 
––– 

Facebook Comments

LEAVE A REPLY