नेपाल सिमेन्ट उत्पादक संघमा नयाँ नेतृत्व चयनमा विवाद

82

रोशन कार्की

काठमाडौं । सिमेन्टमा अबको दुई वर्षभित्र स्वदेशी उत्पादनबाट आत्मनिर्भर हुने दाबी गरे पनिसोही उत्पादनसम्बन्धी संस्थाको भने नयाँ कार्यसमिति चयनमा चरम विवाद उत्पन्न भएको छ । सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएर आयातलाई प्रतिस्थापन गर्ने उद्घोष गरेको नेपाल सिमेन्ट उत्पादक संघको नेतृत्व आफ्नो पक्षमा पर्ने अस्वस्थ प्रतिस्पर्धाका कारण सात दिन बितिसक्दा पनि नयाँ कार्यसमिति चयन हुन सकेको छैन । गत १९ गते (याडिसन होटलमा सो संघको वार्षिक साधारणसभा भएको थियो । सो सभा र अन्तर्क्रिया कार्यक्रमपछि नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका भएपनि अधिकांश सदस्यहरु अध्यक्षलगायत अन्य पदको दाबी गरेपनि विवाद उत्पन्न भएको समाचार आर्थिक दैनिकले प्रकाशन गरेको छ । संघमा बसेर अवैध क्रियाकलाप गर्ने गलत मनसाय भएकाहरुले संस्थामा अस्वस्थ प्रतिस्पर्धा गरेको आरोप केही सदस्यहरुको रहेको छ । १४औं साधारणसभाबाट नयाँ कार्यसमित चयन हुन नसकेपछि अहिले समस्याले झन् उग्ररुप लिएको छ । वर्तमान कार्यसमितिका अध्यक्ष धु्रव थापाका अनुसार संघमा सबै सदस्यहरुले पद खोजेपछि भनेको समयसीमाभित्र नयाँ कार्यसमिति चयन गर्न नसकिएको बताएका छन् ।

उनले भने,‘संघमा रहेका अधिकांश सदस्यहरुलाई पद चाहियो, सबैलाई पद उपलब्ध गराउन सकिँदैन, सहमति गरौँ भनेर पटक–पटक प्रयास गर्दापनि सहमतिमा कोही पनि आएनन्, त्यसैले हाल सो समिति चयन प्रक्रिया नै अवरुद्ध हुन पुग्यो ।’ उनका अनुसार अब संघमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रियाबाटै चयन गरिने बताए । सो सम्बन्धमा संघको अध्यक्षका दाबेदार नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासँग पटक–पटक प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा उनले फोन ‘रिसिभ’ गरेनन् । नेपाली उत्पादनभन्दै सरकारी सहुलियत लिने तर अधिकांश वस्तु चोरीपैठारीबाट हुँदै आएको भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले व्यवसायीहरुलाई ‘सफेद झूट’ नबोल्न आग्रह गरेसँगै सो संघभित्र तीव्र मतभेद सुरु भएको स्रोतको भनाइ छ । सो संघले अबको दुई वर्षभित्र सिमेन्ट आयात पूर्णरुपमा बन्द हुने र निर्यातका लागि बेलैमा नसोचे समस्या आउने निष्कर्ष निकालेको भएपनि संघको नयाँ नेतृत्व गर्नमै सात दिनभन्दा बढी समयमा चयन गर्न नसक्नेहरुले सिमेन्ट उत्पादन गरेर निर्यात गर्नेछन् भनेर पत्याउनै नसकिने संघकै एक सदस्यले नाम नलेख्ने शर्तमा बताए । सिमेन्ट उद्योगमा दुई खर्ब रुपैयाँभन्दाबढी लगानी भइसकेको र स्वदेशी उत्पादनकै कारण दुई वर्षमा आयात पूर्णरुपमा बन्द हुने दाबी गरिरहेको संस्थामा कार्यसमिति चयन गर्नमा भएको अवरोधले बजारमा नकारात्मक सन्देश गएको अध्यक्ष थापाको भनाइ छ ।

पशुपति मुरारकालेसंघको अध्यक्षमा आफूलाई समर्थन गरेर विजयी बनाउन समेत चर्को दौडधूप गरेको सदस्यहरुको भनाइ छ । पशुपति मुरारका नेपाल सिमेन्ट उत्पादक संघका सदस्यहरुलाई आफूलाई अध्यक्षमा जिताउन सहयोग गर्न अपिल गरिरहेको अवस्थामा उनको लगानी रहेको अर्घाखाँची सिमेण्ट नेपाल सिमेन्ट उत्पादक संघमा दर्ता नै गरिएको छैन । तर उनी सुप्रिम सिमेण्टको नामबाट अध्यक्षमा उम्मेदवारी दिएको एक सदस्यले बताए । सो संघको अध्यक्षमा अग्नि सिमेण्टका मालिक डा। तारा पोखरेलले समेत उम्मेदवारी दिएका छन् । गत साता नै विभिन्न मिडियामा मुरारका संघका अध्यक्ष चयन हुने भन्दै प्रतिक्रियासहित समाचार प्रकाशन भइसकेको थियो । तर सो समाचारअनुसार मुरारका अध्यक्ष भई नयाँ कार्यसमितिले पूर्णता पाउनुपर्ने हो तर धेरै जनाको अध्यक्ष पदमा उम्मेदवारी परेपछि र समाधानतर्फ कोही नआएपछि नेतृत्व चयन प्रक्रिया रोकिन पुगेको हो ।

तत्कालीन समयमा मुरारकाबुबा आत्मराम मुरारका अध्यक्ष हुँदा निकै सक्रिय भएको सिमेन्ट उत्पादक संघ लामो समयसम्म निष्क्रिय जस्तै भएर बसेको थियो । तत्कालीन समयमा लेमिनेटेड बोरा प्रयोगसम्बन्धी सरकारी निर्णयको चर्को विरोध गर्दै आएको नेपाल सिमेन्ट उद्योग संघमा विवाद उत्पन्न भएको छ । सो समयमा संघको अध्यक्षमा आत्मराम मुरारका रहेका थिए ।गत बिहीबार मुरारकालाई सर्वसम्मत अध्यक्ष बनाउन सबै उद्योगी तयार भएको प्रतिक्रिया दिएका थिए । सो प्रतिक्रिया दिएको सात दिनसम्ममा पनि नयाँ कार्यसमिति चयन नभएपछि अहिले सो पद हत्याउन विभिन्न योजनासहित सदस्यहरुसँगको भेटघाटमा व्यस्त रहेको उनीनिकट सदस्यले बताएका छन् । सिमेन्ट उद्योगमा अर्बौँको लगानी भइसकेकोले ‘स्ट्रोङ लिडरसिप’ नभएको र सो आवश्यक पूरा गर्न भन्दै मुरारकालाई सबै उद्योगीले प्रस्ताव राखेको दाबी मुरारकाले गरेका थिए ।

Facebook Comments

LEAVE A REPLY