सात पालिका भाडाकै घरमा

29

– तारानाथ आचार्य 

बलेवा, बागलुङ जिल्लामा रहेका १० स्थानीय तहमध्ये सातले भाडाका घरमा सञ्चालित छन् । तीमध्ये बागलुङ नगरपालिका, ताराखोला र तमानखोला गाउँपालिकाले मात्रै आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । 

बाँकी तीन नगरपालिका र चार गाउँपालिकाले घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका हुन् । ती स्थानीय तहको आफ्नै भवन नभएको र नयाँ भवन बनाउन जग्गासमेत नभएका कारण भाडाको घरबाट कार्यालय सञ्चालन गर्नुपरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले बताउनुभयो । 

जैमिनी नगरपालिकाले सबैभन्दा धेरै भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ । स्थानीय दुई व्यक्तिको घरलाई मासिक रु ९५ हजार ६६० दिएर कार्यालय सञ्चालन गर्दै आइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो । आफ्नै भवन निर्माणका लागि जग्गाको खोजी भइरहे पनि जग्गा नपाइएको उपप्रमुख लीला रानाले बताउनुभयो । 

ढोरपाटन नगरपालिकाले पनि दुई घर रु ९४ हजार ५००मा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । 
गल्कोट नगरपालिकाको कार्यालय पनि भाडाकै भवनबाट सञ्चालनमा रहेको छ । तीन व्यक्तिको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ । शिक्षा र स्वास्थ्य शाखा अलगअलग भवनमा छन् भने बाँकी सबै शाखा एउटै भवनबाट सञ्चालन गरिँदै आएको छ । कार्यालय सञ्चालनका लागि लिइएका घरको भाडा मात्रै मासिक ८४ हजार भुक्तानी हुने गरेकाले आफ्नै भवन बनाउन जग्गाको खोजी भइरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले बताउनुभयो । 
निसीखोला गाउँपालिकाको कार्यालय सञ्चालनका लागि पनि तीन भवन भाडामा लिएको छ । मासिक रु ३४ हजार भाडा भुक्तानी हुन्छ । गाउँपालिकाको कार्यालय भवन बनाउनका लागि जग्गा लिएको गाउँपालिकाले आगामी आवमा आफ्नै भवन बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । 
बरेङ गाउँपालिकाका केही शाखा सरकारी भवन र केही शाखा निजी भवनबाट सञ्चालन हुँदै आएका छन् । तत्कालीन हुग्दीशिर गाविसको भवनमा राखिएका प्राबिधिक शाखाबाहेक सबै शाखा भाडाकै भवनबाट सञ्चालन हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताउनुभयो । उक्त गाउँपालिकाले मासिक रु १५ हजार भाडा भुक्तानी गर्ने गरेको छ । 

ताराखोला गाउँपालिकाको भने आफ्नै भवन छ । तत्कालीन अर्गल गाविस भवनलाई मर्मत गरेर एक तला थप गरी कर्यालय सञ्चालनमा ल्याइएको बताइएको छ । बडिगाड गाउँपालिकाले पनि दुई भवन मासिक रु ३५ हजारमा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको प्रमुख प्रसाशकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताउनुभयो । भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गरिसकेको गाउँपालिकाले तत्कालका लागि भवन बनाउने योजना नरहेको जनाएको छ । 

तमानखोला गाउँपालिका पनि आफ्नै भवनमा छ । आफ्नै भवनबाट कार्यालय सञ्चालन भइरहेकाले भाडाको दायित्व नरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । काठेखोला गाउँपालिकाले भने एउटै भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ भने ताराखोला र तमानखोलाले आफ्नै भवन भएकाले एउटै भवनबाट कार्यालय सञ्चालन गरेको भए पनि भाडामा रहेका सबै पालिका दुई वा दुईभन्दा बढी भवनमा शाखा राखेका छन् । 

जिल्लामै सबैभन्दा धेरै भवनमा फैलिएको बागलुङ नगरपालिका हो । रातमाटामा रहेको आफ्नै भवनका अलवा नगरका विभिन्न शाखा सदरमुकाममा रहेका साविकका सरकारी कार्यालय कब्जा गरेर स्थानान्तरण गरिएको छ । पहिले जिल्ला विकास समिति रहेको भवनमा कर शाखा, महिला तथा बालबालिका कार्यालयमा न्यायिक समिति तथा महिला शाखा, भूसंरक्षण कार्यालयमा सहकारी शाखा र साविकको जिल्ला कृषि विकास कार्यालयमा प्रशासन लेखालगायतका शाखा राखिएको छ । 

बागलुङ नगरपालिकालाई नगरप्रमुखको आवास र प्रमुख प्रसाशकीयको आवासबाहेक भाडाको दायित्व छैन । भाडामा सञ्चालनमा रहेका स्थानीय तहले बेलाबेलामा समस्या हुने गरेको बताउँछन् । 

जैमिनीको केन्द्रमा पक्की सडक बन्दै 

बागलुङको जैमिनी नगरपालिकामा पहिलो पक्की सडक निर्माण गर्न थालिएको छ । उक्त नगरपालिका दक्षिण बागलुङको व्यपारिक केन्द्र हो । 

नगरपालिकाले नगरको केन्द्र कुश्मीसेरा बजार र बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारलाई जोड्ने सडकलाई पक्की बनाउन थालिएको हो । वर्षायाममा हिलाम्मे र हिउँदयाममा धुलाम्मे हुने यो सडक कालोपत्रको लागि काम थालिएको नगरपालिकाले जनाएको छ । एक दशक अगाडि नै बागलुङ–कुश्मीसेरा खण्डको मुख्य सडकको ट्र्याक खुलेको थियो । 

नगरपालिकाले पहिलो चरणमा सडक कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई केन्द्र मानेर उक्त सडकखण्डको भव्रिखेतदेखि जुम्लीखोलासम्मको सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो । 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्राप्त रु एक करोड र नगरपालिकाको साझेदारी रु एक करोड गरी रु दुई करोडको लागतमा उक्त खण्ड कालोपत्र हुँदैछ । एक हजार ६०० मिटर सडक कालोपत्र गर्नका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएको शर्माले बताउनुभयो । 

बागलुङ–कुश्मीसेरा सडकखण्डको २१ किलोमिटरमध्ये बागलुङ नगरपालिकाभित्र पर्ने चार किलोमिटर कालोपत्र र कुश्मीसेरा नजिकैको जुम्लीखोलामा ३७ मिटर ढलान सडकबाहेक अन्य सडक कच्चीे छ । नगरका सबै वडामा यात्रु बस चल्ने गरी कच्ची सडकको सञ्जाल बनाउने योजना बनाएको नगरपालिकाले यस वर्ष दुई किलोमिटर मात्रै भए पनि पक्की सडक बनाउन लागेको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । 
रासस

Facebook Comments

LEAVE A REPLY