महासंघमा चण्डी नाच…….

44

रोशन कार्की

बैंकको कालोसूचीमा परेका र प्रहरी प्रशासनको फरार सुचीमा नाम रहेका व्यक्ती खुला रुपमा काठमाडौं र सरकारी निकायकै प्रतिनिधि सहभागी कार्यक्रममा संगै हुदा पनि पक्राउ नपरेका व्यक्तिहरुले देशमा अजारकता मात्र हैन कानुनलाई हातमा लिई हिड्दा पनि कारबाही हुदैन भन्ने प्रमाणित भएको छ । लामो समयअधि व्यवसाय गर्ने भन्दै विभिन्न बैंकबाट ऋण लिई नबुझाएका व्यापारी चण्डीराज ढकालको ‘चण्डी नाच’ नेपाल उद्योग बाणिज्य महासंघमा चलिरहेको छ । सो नाचलाई सोही महासंघकी अध्यक्ष भबानी राणाले साथ दिएकै कारण अहिले महासंघको पहिचाननै करिब करिब शुन्य हुन पुगेको छ ।
आम व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको महासंघ पछिल्लो समयमा व्यक्तिगत स्वार्थकै कारण कमजोर बन्दै गए हो । महासंघकै आडमा व्यक्तीगत इच्छा पुरा गर्ने र व्यवसायीहरुको हकहितमा खासैध्यान नदिएपछि सो महासंघ संकटको भुमरीमा फस्दै गएको छ । महासंघको अध्यक्षमा दोस्रो कार्यकालका लागि चुनाव लडेर हारेपछि बाहिरिएका चण्डीराज ढकालले पुनः पछिल्लो समय संस्थामा हाली मुहाली बढाएसँगै विवादका ज्वारभाटाहरु चर्किएर बाहिरीन थालेको छ । सो असन्तुष्टी गएको महासंघको प्रदेश निर्वाचनका समयमा सतहमा छताछुल्ल भएकै हो ।
मुलुक संघीय स्वरुपमा गएपछि महासंघले संघीय संरचना अनुसार सांगठनिक ढाँचा परिवर्तन गर्नु स्वाभाविक हो तर सो अनुसार हुनु पर्नेमा आफ्नो बहुमत पु¥याउने उदेश्यले आफु निकट व्यक्तीलाई विधान मिचेर पदाधिकारी चयन गरेपछि विवाद उत्पन्न भएको अझै समधान भएको छैन । सोही विवादबाटै महासंघमा व्यक्तिगत स्वास्र्थ हाबी भएको प्रष्ट भएको छ । ढकालले प्रदेश कार्यसमितिमा आफ्नो बर्चश्व गुम्ने डरले विधान मिचेर प्रदेश नम्बर १ को निर्वाचनमा उद्योग बाणिज्य संघले सिफारिस नै नगरेको व्यक्तिलाई उपाध्यक्ष र कोषाध्यक्षमा ल्याए । मोरङ व्यापार संघले सिफारिस नगरेका व्यक्तिलाई उपाध्यक्ष र कोषाध्यक्ष ल्याएको भन्दै संघका अध्यक्ष पवनकुमार शारडाले छानविन समिति बनाउनुपर्ने जोडदार माग गरेका छन् । गत जेठ २२ गते भएको निर्वाचनमा ढकालकै जोडबलमा राजेन्द्र राउत उपाध्यक्ष र रमेश राठी कोषाध्यक्षमा नियुक्ती गरेपछि विवादले उग्ररुप लिन पुग्यो । महासंघमा एक कार्यकाल अध्यक्ष भएर अर्को कार्यकालपनि अध्यक्ष बन्ने र अबैधधन्धालाई जारी राख्ने उदेश्यले उम्मेदबारी दिएका ढकाललाई उनकै सदस्यहरुले भोट नदिएर हराई दिए । उनी महासंघको अध्यक्षबाट हारेपछि बैंकले कालोसूचीमा नाम राखेर पक्राउ गर्न प्रशासन गुहारेको थियो । तर अहिले सम्म उनी पक्राउ परेनन् । बरु पछिल्लो समय भबानी राणालाई हातमा लिएर उनी महासंघको विशेष सदस्यको रुपमा बर्तमान कार्यसमितिमा बसे । अनी सुरु गरे महासंघमा चण्डी नाच ।
महासंघको विधानअनुसार प्रदेशमा निर्वाचित हुने पदाधिकारीलाई सम्बन्धित उद्योग वाणिज्य संघले सिफारिस गरेको हुनु पर्ने उल्लेख छ । दुबै पदमा उम्मेद्वार हुने योग्यतामा सम्बन्धित जिल्ला, नगर वा वस्तुगत संघको पदाधिकारी हुनु पर्ने व्यवस्था विधानमा रहेको छ । विधानमा रहेको प्रबाधानलाई मिचेर ढकालले सिफारीसनै नभएका व्यक्तिलाई चयन गरेर महासंघभित्र अस्थीरता निम्त्याए । महासंघमा अध्यक्षको दोस्रो कार्यकालका लागि चुनाव लड्दा कुशकुमार जोशीसँग हारेर ढकाल बाहिरिएका व्यक्ति हुन । महासंघका सदस्यहरुले समेत अध्यक्ष भवानी राणाले ढकाललाई असिमित अधिकार दिएकै कारण महासंघ धरासायी भएको ठहर गरेका छन । महासंघका हरेक निर्णयमा ढकाल हाबी हुदै आएका छन् । ढकाल महासंघको दोस्रो कार्यकालमा हारेपछि आफु अनुसार महासंघमा हालीमुहाली गर्ने तबरबाट विद्यमान विधानलाई संसोधन गरेर आफु शक्तिमै बसी रहने गरी विधान परिमार्ज समेत गरे । महासंघको २०४९ सालमा बनेको विधान संशोधन गरेर स्वतः वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने गरी विधान संसोधन गरेर महासंघलाई धरासायी बनाउने काममा ढकाल लागी परे । महासंघले मुख्यतः विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने, प्रादेशिक संरचना अनुसार प्रादेशिक अध्यक्ष बनाउने, कार्यसमितिको संख्या वृद्धि लगायतको विषयमा संशोधन गरेको थियो । विधान पारित भएसंगै पहिलो पटक कार्यसमितिका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि भबानी राणा अध्यक्ष भएकी हुन । महासंघमा अध्यक्षको ३ बर्षे कार्यकाल पूरा भएपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने पद्धति कायम गरियो । योग्यता पुगेका व्यवसायी तथा उद्योगीलाई उम्मेद्वारी दिनबाट समेत निषेध गरेर वरिष्ठ उपाध्यक्ष भवानी राणा महासंघको अध्यक्ष भएपछि पूर्वअध्यक्ष महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रवीभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्यलगायतका वरिष्ठ पदाधिकारीहरूले बिना प्रतिस्पर्धा तथा निर्वाचन वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष भएकी राणालाई मान्यता समेत नदिई बसेका छन् । उनीहरुले वरिष्ठ अध्यक्षबाट भवानी राणा स्वतः अध्यक्ष भएपछि उद्योगी तथा व्यवसायीहरूको महासंघप्रतिको आकर्षण घट्दै गएको, महासंघको यस्तो गतिविधिप्रति असन्तुष्ट रहेका कतिपय उद्योगी तथा व्यवसायीहरु नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मसमा आबद्ध हुन गएको भन्दै आपत्ती समेत जनाए । अध्यक्ष भवानी राणा भएपछि महासंघ अव्यवस्थित र एकलौटी ढंगले कामकार्य गरेको र आरोप समेत व्यवसायीहरुको रहेको छ । पछिल्लो सययमा पूर्ववरिष्ठ पदाधिकारीहरूको समर्थन प्राप्त गर्न नसकेकी अध्यक्ष राणा अहिले पूर्वअध्यक्षद्वय चण्डी ढकाल र रविभक्त श्रेष्ठ र पशुपति मुरारको इसारामा महासंघको संचालन गरिराखेको आरोप रहेको छ ।
सबैजसो पूर्व वरिष्ठ पदाधिकारीहरूले समर्थन नगरेकै कारण महासंघको पदाधिकारीको मर्यादाक्रममा आफूपछि चण्डि ढकाललाई राखेर अध्यक्ष राणाले महासंघको विधान विपरित कार्य गरेको पाईएको छ । नगर तथा जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधि, एशोसियट, र बस्तुगतका प्रतिनिधिहरूको सहभागितामा हुने महाधिवेशनले अध्यक्ष चुन्ने प्रचलन समाप्त भएपछि केन्द्रीय नेतृत्व र जिल्ला तथा नगर समितिबीचको सम्बन्ध र सम्पर्क समेत अत्यन्त पातलो हुदै गएको छ । यही कारणले गर्दा महासंघले आफ्नो सांगठनिक हैसियत गुमाउदै गएको छ ।
चण्डी ढकालको संयोजकत्वमा फेरी विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । सो विधान संशोधनका सम्बन्धमा समितिको एकपटक मात्रै बैठक बसेको छ । यसरी विधान संशोधन गरिहाल्ने हो भने अहिलेको विधान भवानी राणाका लागि मात्र अध्यक्ष बनाउनलाई संशोधन गरेको प्रमाणित हुने भन्दै तत्कालै विधान संशोधन गर्न नहुने अडानमा पुर्व अध्यक्ष पशुपति मुरारका अडानमा रहेका छन् ।

यसैबीच देश संघियतामा गएपछि व्यवसायीहरुको पुरानो संस्था नेपाल चेम्बर अफ कर्मसले देशभर शाखा विस्तार गर्ने निर्णय गरेपछि रातारात चेम्बरलाई कारबाही गरेको पत्र अध्यक्ष राणाले पठाएपछि झन महासंघ विवादमा तानियो । चम्बरको ६७ औं साधारण सभाबाट सो निर्णय गरेपछि महासंघमा हलचल उत्पन्न भयो । चेम्बर र महासंघबीच २०७० सालदेखि चरम विवादमा पर्दै आएको हो । महासंघमा दोस्रो पटकपनि अध्यक्ष भई अबैध कृयाकलाप चलाई राख्ने उदेश्यले महासंघकै पूर्वअध्यक्ष विनोदकुमार चौधरीपनि पराजीत भएलगत्तै नेपाल उद्योग परिसंघ (सीएनआई) खोलेर अध्यक्ष बने । यसरी महासंघमा व्यक्तिगत हाबी बढ्दै गई व्यवसायीहरुको मुद्दामा ध्यान नदिएको भन्दै सदस्यहरु समेत निरास भएका छन् ।
चेम्बरले सांगठनिक संरचना राष्ट्रियस्तरमा विस्तार गर्ने निर्णयगरेपछि महासंघले चेम्बरलाई पत्र लेखेरै एउटै प्रकृतिको संगठन स्वीकृत नगर्ने कानुनी प्रावधान विपरित किन रूपान्तरण गरेको भन्दै स्पष्टीकरण सोधिएपछि विवादले चर्को रुप लिएको थियो । महासंघले भने राष्ट्रिय निर्देशन बोर्ड ऐन २०१८ अनुसार एउटै प्रकृतिको व्यावसायिक संगठन एकभन्दा बढी विस्तार गर्न नपाउने उल्लेख भएको ऐनको दफा ३ को उपदफा (६) मा, कुनै खास वर्गीय तथा व्यावसायिक संगठन नेपाल सरकार आफैले खडा गर्न गराउन खोजेको रहेछ वा कुनै खास वर्गीय तथा व्यावसायिक संगठन देशव्यापी हो भनी नेपाल सरकारले स्वीकार गरिसकेको रहेछ भने, एउटै वर्ग वा व्यवसायको एकभन्दा बढी त्यस्तो संगठन खडा गर्न नेपाल सरकारले स्वीकृति दिने छैन भन्ने भन्ने बुदाँलाई आधारमानी चेम्बरलाई स्पष्टीकरण सोधेको दाबी गरेको छ ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बर आफ्नै विधानअनुसार चल्ने संस्था भएको र देश संघीय संरचनामा गएसँगै यसैअनुसार संस्था रूपान्तरण गरिएको दाबी गर्दै आए । अन्न्त भबानीको अज्ञानकै कारण एफएनसीसीआईसँग चेम्बर बाहिरियो । महासंघकी अध्यक्ष राणा पुर्वअध्यक्ष ढकालकै इसारामा कार्यसम्पादन गरेसंगै असन्तुष्टी जनाउदै अधिकाश सदस्यहरु चेम्बर र सिएनआईतर्फ गए । यसरी महासंघबाट पछिल्लो समयमा भाष्करराज राजकर्णिकार, टंक पोखरेल, प्रमोद श्रेष्ठलगायत व्यवसायी चेम्बर गएका छन् । महासंघको महासचिव सुरेशमान श्रेष्ठले वर्तमान नेतृत्वप्रति गम्भीर आरोप लगाएर पदबाट राजीनामा दिए । उद्योगी–व्यबसायीहरुको छाता संगठन अब व्यबसायीहरुको विश्वास गुमाउन पुगेको, महासंघका पूर्व अध्यक्षहरुले बहिस्कार गरेर बाहिर बसेको अवस्थाले गर्दा भवानी राणाको नेतृत्व तानाशाही बन्दै गएको भन्दै सो पदबाट श्रेष्ठले राजीनामा दिएको उनको आरोप पत्रमा उल्लेख छ । महासंघको नेतृत्वमा पूर्वअध्यक्ष चण्डीराज ढकाल हावी हुँदै आएपछि महासंघको प्रतिस्पर्धा गर्न पाउने प्रजातान्त्रिक बिधानलाई पनि क्षतविक्षत पारेको आरोप महासंघको नेतृत्वमाथी लगाइएको छ । ३ वर्षका लागि नियुक्त भएका वैतनिक महासचिव सुरेशमान श्रेष्टले नेतृत्वले अबैधानिक काम गरेको २३ बुँदे आरोप लगाउँदै १० महिनामै राजीनामा दिएको छन् । महासंघ पछिल्लो समयमा आर्थिक, प्रशासनिक सांगठानिक सबै हिसाबले अपारदर्शीै भएको, विधानलाई लत्याएर भवानी राणा अघि बढेकोभन्दै २३ बुँदे आरोप सहित महासंघबाट श्रेष्ठ बाहिरएसंगै महासंघ विधान ऐन र कानुन विपरित अर्थात चण्डी ढकालको स्वार्थअनुसार चलेको प्रमाणित भएको छ । जय होस । (साभार :जनमञ्च साप्ताहिक)

Facebook Comments

LEAVE A REPLY