काठमाडौँमा चिसो बढेसँगै खुला आकाशमुनि बस्ने बेवारिसेहरुको मृत्युका घटना बढ्यो

13

काठमाडौँ – काठमाडौँमा चिसो बढेसँगै सडक, मन्दिर, प्रतिक्षालयलगायत विभिन्न स्थानमा बेवारिसे मानिसको मृत्युका घटना बढे । प्रहरीको नियन्त्रण कक्षमा रहेको १०० नम्बरमा फोन गरी स्थानीयले बेवारिसे व्यक्ति सडकमा फेला पर्यो भनेर पटकपटक जानकारी दिन थाले ।चिकित्सा सेवा नपाएर चिसोका कारण खुला आकाशमुनि बस्ने वृद्धवृद्धा बढी मृत्युको सिकार हुने गरेका घटना छन् । पटकपटक यस्ता जानकारी आउन थालेपछि प्रहरीले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर उनीहरुलाई सडकबाट उठाउने अभियान थालेको प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त लामाले बताउनुभयो । “चिसो र समयमै उपचार नपाएर कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो”, लामाले भन्नुभयो, “अशक्त वृद्धवृद्धालाई सडकबाट उठाएर विभिन्न आश्रममा आश्रय दिन थालिएको छ ।”

काठमाडौँमा तापक्रम कतिपय बेला शून्य डिग्री तल झर्ने गरेको छ । विभिन्न क्षेत्रमा हिमपात पनि जारी छ । चिसोका कारण खुला आकाशमुनि मानिसको ज्यान जानेक्रम बढेपछि सडकमा कष्टकर जीवन गुजार्ने अवस्थाको अन्त्यका लागि चलाएको खोजी अभियानअन्तर्गत एक साताको अन्तरालमा १३४ जनालाई सडकबाट उठाएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।उनीहरुमध्ये सबैभन्दा बढी मानवसेवा आश्रम काठमाडौँमा राखिएको छ भने केहीलाई हिमालयन आश्रम र केहीलाई ज्येष्ठ नागरिक समाजद्वारा सञ्चालित आश्रममा राखिएको छ । “रातिमा अभियान चलाउनेको उद्देश्य एउटै हो, खुला आकाशमुनि कोही पनि मर्नु नपरोस्”, परिसरका प्रवक्ता होविन्द्र बोगटीले भन्नुभयो ।

नेपाल प्रहरीले काठमाडौँका हरेक प्रहरी युनिटलाई सूचना जारी गरी मृत्यु भएपछि भेट्टाउनुभन्दा मृत्यु हुनुअघि नै यस्ता व्यक्तिको अवस्था बुझ्न निर्देशन दिएको उहाँले बताउनुभयो । उद्धार गरिएकाको हकमा नेपाल प्रहरी अस्पतालबाट स्वास्थ्य जाँचलाई समेत सँगसँगै अभियान अगाडि बढाएको उहाँले बताउनुभयो ।चलाएको खोजी अभियानका क्रममा रोगले ग्रस्त भएका बिरामी सडकमा यत्रतत्र फेला परेका छन् । मानवसेवा आश्रम प्रदेश नं ३ का संयोजक सुमन वर्ताैलाले सामूहिक सहकार्यमा भएको खोजी अभियानमा उद्धार गरिएका व्यक्तिले अहिले आश्रम भरिएको बताउनुभयो । कतिपयको स्वास्थ्य नाजुक रहेकाले उपचारका लागि अस्पतालसमेत लगिएको छ ।

आश्रममा आएकामध्ये धेरै काम गरेर खान सक्ने भएकाले अशक्तलाई संरक्षण गरी अन्यलाई परिवारमा पठाउने काम भइरहेको वर्ताैलले बताउनुभयो । आश्रमसहित पशुपति क्षेत्र विकास कोष, काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीले अभियान जारी राखेका छन् ।उद्धार गरिएका धेरै आश्रममा बन्नुपर्ने अवस्थाका छैनन् । काम गर्न सक्ने स्वस्थ पनि छन् । कतिपयको परिवार पनि भएको फेला परेको छ । “दिनभरि भारी बोक्ने अनि राति सडकमा सुत्ने पनि भेटिए”, परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले भन्नुभयो, “उनीहरुलाई सडकमा बस्न निरुत्साहित गर्नुपर्छ ।”

मदिरा पिउने अनि सजिलोका लागि सडकमा सुत्ने र माग्ने गरेको पाइएको भन्दै पोखरेलले मदिराको लतमा लागेपछि कसैले नपत्याउने र सडकमा निस्कनुपर्ने अवस्था रहेको पाइएको बताउनुभयो ।काठमाडौँमा खुला आकाशमुनि कति जना छन् भन्ने यकिन विवरण छैन । प्रहरीले करीब २०० को विवरण सङ्कलन गरेको थियो । तर सडकमै सुत्नेको सङ्ख्या भने त्योभन्दा निकै बढी रहेको यसै क्षेत्रका काम गर्ने सङ्घसंस्थाको भनाइ छ । अझै दिनभरि सडकमा माग्न लगाउने र राति घर लैजानेसमेत रहेको भन्दै प्रहरीले यस्ता व्यक्तिलाई खोजेर कारवाहीको दायरामा ल्याउने जनाएको छ ।

Facebook Comments

LEAVE A REPLY