अब नाका नाकामा विदेशी नागरिकको निगरानीका लागि अत्याधुनिक मेसिन

22

काठमाडौं– सरकारले नेपाल भित्रिने विदेशी नागरिकहरुको निगरानीका लागि नयाँ प्रविधि भित्र्याउने भएको छ ।

त्रिभुवन विमानस्थल लगायत अन्य नाकाहरुबाट भित्रिने र बाहिरिने विदेशी नागरिकहरुका लागि आँखाको नानी रिड गर्ने आइरिस मेसिन र बायोमेट्रिक विवरणसहितको अध्यागमन सुचना प्रणाली जडान गर्ने भएको हो । 

सरकारले जडान गर्न लागेको आइरिस मेसिनले आँखाको नानी पढ्न सक्छ भने बायोमेट्रिक मेसिनले हातका औंठा छाप पढ्न सक्छ । 

बुधबार अध्यागमन विभागका महानिर्देशक इश्वराज पौडेलले पत्रकार सम्मेलन गरी आगामी ८ महिनामा अध्यागमन विभागलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागि परेको बताए ।

उनले नेपाल भित्रिएका  विदेशी नागरिकहरु कुनै पनि होटलमा बस्दा पासपार्ट स्क्यान गरेर त्यसको लिङ्क अध्यागमन  विभागमा जोड्ने प्रविधिको विकास गर्न लागिएको समेत बताए । नेपाल आएका विदेशी नागरिकले खुलेआम यौनजन्य गतिविधि गरिरहेको समाचार बाहिर आएपछि उनीहरुको नेपाल बसाईमाथि कडा निगरानी राख्ने योजना अघि सारेको हो । 

प्रमुख पौडेलले भने, ’नेपाल भित्रिएका विदेशी नागरिक, जो होटलमा बस्छन् उनीहरुको पासपार्ट स्क्यन गरेर अध्यागमनमा सिधै लिङ्क जोड्ने प्रविधि विकास गर्दैछौ ।’  उनले अध्यागमन विभागलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने बताउँदै पेपरलेस सिस्टमलाई तत्काल हटाउने बताए । पौडेलले अध्यागमनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि तत्काल २४ करोड रुपैयाँको आवश्यकता भएको बताउँदै सरकारले ६ करोड निकासा गरिसकेको बताए । 

पछिल्लो समय स्वतन्त्र तिब्बत पक्षधरहरुलाई मलजल गर्ने तत्वहरु हावी हुने खतरा बढेको बताउँदै उनले चीनसँग जोडिएका १३ जिल्लाका ५३ नाकाहरुमा उच्च सतर्कता अप्नाइएको बताए । उनले भने, ‘उत्तरी १३ जिल्लाका ५३ क्षेत्र (नाका) संवेदशनील क्षेत्रमा राखिएको छ ।’

उनले भिजिट भिसाको आवरणमा विदेश शयर गर्ने शंकास्पद व्यक्तिहलाई पनि रोक्ने बताउँदै त्यो खालको काम गर्ने मेनपावर कम्पनी र व्यक्तिहरुसँग समेत आफुले नभेट्ने प्रष्ट पारे । यद्यपि, उनले त्यस्ता एजेन्टहरुबाट पीडितहरुको गुनासो भने सुन्ने बताए  ।

उनले आफ्नो कार्यकालमा हस्तलिखित भिसा हटाउने, टुर प्याकेजमा विदेश लैजाने एजेन्सीहरुको निगरानी गर्ने, त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा विदेश लैजाने संस्कारलाई हटाउने तयारी गरेको बताए । उनले आफुले अध्यागमनको नेतृत्व लिएसँगै विमानस्थलबाट सेटिङमा विदेश लैजाने सिस्टम घटेको तर नहटेको दाबी गरे ।  कुनै कर्मचारीले सेटिङमा त्यस्तो काम गरेको थाहा पाइएमा तत्काल कार्बाही गर्ने समेत उनले चेतवनी दिए । 

उनले अवाञ्छित गतिविधिमा संलग्न ११ जना नागरिकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको पनि बताए ।

महानिर्देशक पौडेलले ६ महिनायता नेपालमा चेलिबेटी बेचबिखन घटेको पनि जानकारी दिए ।

उनले मानव तस्करी हुन नदिन नेपाल प्रहरीले छुट्टै ब्यूरो स्थापना गर्न लागेको उल्लेख गर्दै त्यससँग सहकार्य गरेर विभागले मानव तस्करी नियन्त्रणको कामलाई अझ प्रभावकारी बनाउने पनि बताए । 

Facebook Comments

LEAVE A REPLY